३३ वर्ष ‘टीके अध्यक्ष’ भएका प्रचण्डलाई साथ दिन सकिएन: रायमाझी – Nepal Press

३३ वर्ष ‘टीके अध्यक्ष’ भएका प्रचण्डलाई साथ दिन सकिएन: रायमाझी

रुपन्देही । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाएर सडक पुर्‍याउने उद्देश्यले प्रचण्ड नेपालले डिजाइन गरेपनि प्रधानमन्त्री ओलीले तुहाइदिएको बताएका छन् ।

पार्टी भित्रैबाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै विभिन्न कठिनाई र अवरोधकाबीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको बताएका छन् ।

आइतबार नेकपा मालारानी गाउँ कमिटी अर्घाखाँचीको प्रशिक्षण कार्यक्रमलाई खनदहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संसद पुनःस्थापनाको माग गर्दै आन्दोलनरत समूहलाई लक्षित गर्दै उनले संसद पुनःथापनाको सपना नदेख्न आग्रह गरे र भने– मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनःथापना हुन्छ भन्नु एउटै हो । यस्तो दिवास्वप्न देखेर भ्रममा नपरे हुन्छ ।

बाह्य शक्तिको इसारामा प्रचण्ड माधव समूहले पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्रीलाई दुबै पदबाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेको भन्दै रायमाझीले केही नेताको पदलोलुप चरित्र र निहीत स्वार्थ मुलुकको विकास र समृद्धिको निम्ति बाधक रहेको बताए ।

यस्ता नेतालाई नेपाली जनताले समय आउँदा जवाफ दिनुपर्ने उनको भनाइ छ ।

नेता प्रचण्डविरुद्ध आक्रोशित अभिव्यक्ति दिँदै आएका रायमाझीले ३३ वर्षसम्म प्रचण्ड आफैँ ‘टिको लगाएर पार्टी अध्यक्ष’ बनेको आरोप लगाउँदै पार्टीलाई खल्तीको पैसा जस्तो सम्झने प्रचण्डले नेकपालाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको बताएका थिए ।

पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सदस्य चेतनारायण आचार्यले विदेशी शक्तिको आडमा प्रचण्ड, माधव, झलनाथले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । नेता रायमाझी पार्टीमा स्पष्ट विभाजनको संकेत देखिएपछि आफ्नो निर्वाचन क्षेत्रका धेरै कार्यक्रममा सहभागी हुन थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर