अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद शेरधनको पक्षमा उभिए – Nepal Press
प्रदेश १

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद शेरधनको पक्षमा उभिए

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै प्रदेशमा सांसद तानातान सुरु भएको छ ।

सोही सिलसिलामा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले कित्ता परिवर्तन गरेका छन्। प्रदेश सांसदद्वय मोरङकी बसन्तीदेवी यादव र उदपपुरकी कला घले प्रचण्ड– माधव समूहको कित्ता परिवर्तन गरी ओली समूहमा लागेका हुन् ।

मोरङकी सांसद यादवले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा ३४ औं र उदपपुरकी आलेले २९औ नम्बरमा हस्ताक्षर गरेका थिए।

समानुपातिक तर्फकी सांसद बसन्तीदेवीलाई शनिबार परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भेट गरेपछि उनी सो समूहमा खुलेकी हुन्।लगतै बुद्धीजिवी संगठनले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

प्रचण्ड–नेपाल पक्षका भीम आचार्यलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उदयपुरकी घले पनि समूह परिर्वतन गरेर ओली पक्षमा उभिन पुगेकी छिन् । उनी प्रत्यक्ष निर्वाचित हुन् ।

प्रचण्ड–नेपाल पक्षका पूर्वमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहेको सो अविश्वासको प्रस्तावमा कुल ३७ जनाको हस्ताक्षर रहेको थियो । अविश्वासका पस्ताव पेश भएको चारदिनपछि कित्ता परिवर्तन गरी उनी ओली समूहका मुख्यमन्त्री शेरधन राईको पक्षमा उभिएकी थिइन् ।

नेपाल प्रेससंगको कुराकानीका क्रममा उनले अब आफू मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फेल गराउन लाग्ने बताइन् । वर्तमान प्रदेश सरकारलाई निरन्तरता दिने पक्षमा आफू उभिएको उनको प्रतिक्रिया दिइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विस्तार गरेको केन्द्रीय समितिमा सांसद घलेलाई पनि मनोनीत गरिएको थियो । तर, उनी शपथग्रहण कार्यक्रममा भने उपस्थित भएकी थिइनन् ।

तटस्थ रहेका र प्रचण्ड माधव पक्षमा रहेका अन्य केही सांसद पनि मुख्यमन्त्री शेरधन राईको पक्षमा खुल्ने तयारी भइरहेको स्रोतले जनाएको छ । अविश्वास प्रस्ताव पारित हुन ४७ जना सांसद चाहिन्छ । अब आचार्य पक्षसँग सो संख्या नपुग्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर