कृषिमा विदेशी लगानीः के भन्छन् विज्ञ र सरोकारवाला ? – Nepal Press

कृषिमा विदेशी लगानीः के भन्छन् विज्ञ र सरोकारवाला ?

काठमाडौं । केही दिनअघि मात्र सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा संशोधन गर्दै कृषिमा विदेशी लगानीलाई खुला गरेपछि अहिले यो बहसको विषय बनेको छ ।

कृषि क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल नगरी ऐन संशोधन गरेपछि सरकारको नियतमाथि शंका भएको छ । त्यस्तै नयाँ ऐन आएपछि कृषि क्षेत्रका बिचौचिलयाहरु भने डराएका छन् ।

यसै सन्दर्भमा कृषिमा लगानी भित्र्याउने सरकारको निर्णयबारे केही कृषि तथा अर्थविद्हरुको भनाइ यस्तो छः

केशव आचार्य
अर्थविज्ञ

नेपाल सरकारले २०३८ सालमा औधोगिक नीति ल्यायो । त्यसपछि नेपालमा विदेशी लगानी भित्रिने बाटो खुला भयो । तर, २०३८ को नीतिमा पनि कुन–कुन चिजमा विदेशी लगानी भित्र्याउने भन्ने कुराको स्पष्ट किटान भएन । भर्खरै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गर्दै सरकारले कृषिमा विदेशी लगानीलाई खुला गरेको छ ।

अहिले पनि नेपालको कृषि क्षेत्रमा आधुनीकरण भएको छैन । परम्परागत रुपमा नै खेती किसानी गर्दै आएका छौं । नेपालको कृषि उत्पादनले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सकेको छैन । विदेशमा प्रतिस्पर्धा गर्नका लागि हामीसँग न प्रविधि छ न त लागनी नै ।

सन् १९८० यता हामी वार्षिक रुपमा अर्बौको खाद्यान्न विदेशबाट मगाइरहेका छौं । यस्तो अवस्थामा कृषिमा विदेशी लगानी आवश्यक छ ।

केही वर्षयता साना किसान बैंकले तराईमा २/३ सय विगाहामा आधुनिक कृषिमा लगानी गरिरहेको छ । गोल्यान समूहले कृषिमा लगानी गरेको छ । बुद्ध एयरका मालिकले कृषिमा लगानी शुरु गर्नु भएको छ । नेपालीहरुको पोल्ट्री फार्म र डेरी उद्योगमा लगानी बढाएका छन् । कृषिमा लगानी गर्ने ठूला व्यवसायीहरुको कामलाई हेरेर विदेशी लगानी भत्र्याउनु पथ्र्यो ।

तर, सरकारले बृहत छलफल र गृहकार्य नगरिकन ऐन संशोधन गरेको छ । उक्त ऐन चोर बाटोबाट ल्याइएको छ । यसले शंका गर्ने ठाउँ उब्जाएको छ ।

विशेषगरी चीन, भारत र बंगलादेशको कृषिसँग प्रतिस्पर्धा गर्ने गरी अनुसन्धान गरेर मात्र लगानी भित्र्याउनु पर्छ । नभए यहाँका साना कृषि व्ययवसाय र उद्योग क्षेत्र धरासायी बन्न सक्छन् । हाम्रो भूमिको मात्र प्रयोग हुन सक्छ ।

कृष्ण प्रसाद पौड्याल
कृषिविज्ञ

निजी क्षेत्रमा विदेशी लगानी भित्रँदा राम्रो नै हुन्छ । तर, कृषिमा लगानी भित्र्याउने कुरा स्थानीय कृषकसँग जोडिएको छ । विदेशी लगानीका कारण साना किसान लोप हुन्छन् । कृषिमा वैदेशिक लगानी आउने हो भने किसानलाई विस्थापित गर्नु भएन । विदेशीले नेपालमा कमाएको पैसा नेपालमा राख्ने हैनन् । यो त उनीहरुले आफ्नै देश लैजान्छन् ।

अहिले आएको ऐनअनुसार सरकारले ७५ प्रतिशत उत्पादित सामान निर्यात गर्ने भनेको छ । यसले नेपालको प्राकृतिक स्रोतको दोहन र श्रमको शोषण हुनेछ ।

७५ करोड माथिका कृषि उद्योग तथा प्रविधिमा लगानी आउने भनिएको छ । तर, अहिले पनि कृषिमा अर्बौ लगानी भएका उद्योग छन् । ठूला लगानी कर्ताले नेपालको ठूलो भूमि लिएर कृषकलाई श्रमिक मात्र बनाउँछन् ।

बरु सरकारले नेपालको कृषिलाई कसरी माथि लैजाने हो, त्यसको योजना बनाएर अगाडि बढ्नुपर्छ । अहिले भइरहेको कृषिमाथिको लागत घटाउनु पर्छ । बिचौलियालाई रोक्नुपर्छ ।

बाटोमा दुध घोप्ट्याउने, टमाटर लगेर फ्याल्नेहरु वास्तविक कृषक होइनन् । यी बिचौलीया हुन् । यसलाई अनुगमन गर्नु प¥यो । नेपालको कृषि प्रणालीलाई सम्मान गर्ने र यसको विकासमा लाग्ने कोही छैनन् । सबै सेटिङमा काम गर्छन् । अहिले केही शासकले जालझेलको काम गरेर कृषकलाई शोषण गरिरहेका छन् । नेपालका व्यपारीलाई त देशको माया छैन, विदेशीले के गर्लान् र ?

श्रीराम घिमिरे
सह–सचिव, कृषि मन्त्रालय

अहिले कृषिमा विदेशी लगानी खुला गरिएको भन्ने कुरा हामीले राजपत्रमा आएपछि मात्र थाहा पायांै । वाणिज्य मन्त्रालयको पहलमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । हामीसँग कुनै किसिमको छलफल भएको छैन ।

यो हाम्रो मन्त्रालयसँग सम्वन्धित कुरा हो । तर, हामीलाई नै थाहा भएन । मैले बुझेअनुसार ७५ करोड रुपैयाँभन्दा माथि कृषि, उद्योग तथा प्रविधिमा लगानी गरिने भन्ने छ ।

तर, नेपालमा अहिले पनि पोल्ट्री फार्म र डेरी उद्योगमा अर्ब माथिका लगानी छन् । विदेशी लगानी भित्रँदा नेपालका लगानीलाई कस्तो असर गर्छ ? जस्तो, नेपालमा अन्तर्राष्ट्रियस्तरको अमूल जस्तो कम्पनी आयो भने के गर्ने ?

त्यसैले अब हामीले अनुसन्धान र बृहत छलफल गरेर मात्र बन्ने निर्देशिका ल्याउने छौं । नेपाली कृषक तथा कृषि व्यवसायीलाई संरक्षित गर्ने किसिमले मात्र निर्देशिका ल्याउन दिनेछौं । नत्र भने लागू हुन दिने छैनौं ।

 

जीवलाल भुसाल
निर्देशक, उद्योग विभाग

कृषिमा विदेशी लगानी २०४९ सालदेखि नै थियो । २०७५ सालमा मात्र रोकिएको हो । यो २६ वर्षमा नेपालमा आएको सम्पूर्ण विदेशी लगानीको दुई प्रतिशतमात्र कृषिमा भएको छ । त्यसमा पनि ठूला कम्पनी एउटै छैनन् ।

अहिलेसम्म नेपालमा ७५ करोड माथि कृषिमा लगानी भएको छ र ? ठूला कम्पनी आउँदा के–के हुन्छ भनेर किन तर्सनु ? अहिले आएको ऐनले आयात कम गरी निर्यातलाई बढावा दिनेछ । यो ऐनअनुसार नेपालमा विदेशी लगानी भित्रिए यहाँको आन्तिरिक साना कृषि उद्योग–व्यवसायलाई केही असर गर्दैन । हाम्रो कृषि प्रणाली झन् प्रतिस्पर्धी बन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर