झलनाथको टिप्पणी– केपी ओली हिटलर जस्तै तानाशाह, सर्पभन्दा विषालु – Nepal Press

झलनाथको टिप्पणी– केपी ओली हिटलर जस्तै तानाशाह, सर्पभन्दा विषालु

काठमाडौं । विभाजित नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर जस्तै तानाशाह भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेकपा प्रचण्ड–माधव समूह सम्पर्क समन्वय कमिटीद्वारा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले ओली विषालु सर्प भन्दा खतरनाक बनेको बताए ।

जर्मनीमा समाजवादी पार्टीबाट हिटलर जन्मिए जस्तै नेपालमा कम्युनिष्ट पार्टीबाट केपी ओली जन्मिएको खनालको टिप्पणी छ । वरिष्ठ नेता खनालले शुक्रबार धनगढीमा ओली समूहले गरेको सभालाई पञ्चभेलाको संज्ञा दिए ।

खनालले भने– विभिन्न ९ जिल्लाबाट बस रिजर्भ गरेर मान्छेहरुलाई पैसा दिएर गराएको भेला २०४६ साल अगाडि पञ्चहरुले गर्ने भेला जस्तै हो । त्यसबेलाका पञ्चहरुको अहिले इतिहास मेटिएर गएजस्तै केही वर्षमै केपी ओलीको पनि अस्तित्व समाप्त हुनेछ ।

कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक प्रतिगामी कदम खारेज गरेर प्रतिनिधिसभा सुचारु गर्न नसके देशमा चुनाव पनि नहुने, संसद पनि नहुने बताए । श्रेष्ठले पार्टीहरुबीच संयुक्त संघर्ष गर्नुपर्ने र संयुक्त संघर्ष हुन नसके समन्वय गरेर भए पनि आन्दोलन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर