शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्छ– मानव अधिकार आयोग – Nepal Press

शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्छ– मानव अधिकार आयोग

काठमाडौं । शान्तिपूर्णरुमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । आयोगले आज काठमाण्डौं र लतिलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेपछि एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रनिनिधिसभा विघटनसम्बन्धी नेपाल सरकारको निर्णयको पक्ष र विपक्षमा भइरहेको प्रदर्शन तथा विरोधका कार्यक्रमबाट उत्पन्न परिस्थितिवाट मानव अधिकारको संरक्षण र सम्बर्धनमा पर्न सक्ने गम्भिर असरप्रति आयोगको ध्यनाकर्षण भएको आयोका सह–सचिव यज्ञप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

आयोगको बाग्मती प्रदेश कार्यालयले विरोध र प्रदर्शनको नजिबाट अनुगमन गरिरहेको जनाउँदै आयोगले प्रतिनिधि सभा विघटनको विषयलाई लिएर विभिन्न राजनीतिक दल, समूह तथा नागरिक समाजले देशव्यापीरुपमा थप विरोधका कार्यक्रम तथा प्रदर्शन गर्ने जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ ।

त्यसबाट सम्भावित जनधनको क्षतिलाई रोक्न, नागरिको विचार तथा अभिव्यक्ति स्वतन्त्रता एवम् शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने, भेला हुन पाउने अधिकारको सम्मान गर्न, प्रदर्शनको क्रममा न्यनतम बल प्रयोगका सिद्वान्तको पालना गर्दै आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने स्थिति सृजना हुन नदिन आयोगको बाग्मती प्रदेश कार्यालयले काठमाण्डौं र ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र ढुण्डिप्रसाद निरौला तथा दुवै जिल्लाका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अकोश सिंह र किरण बज्राचार्यसँग छलफल गरि ध्यानाकर्षण गराइएको छ, विज्ञप्तीमा भनिएको छ ।

छलफलमा अयोगका सचिव वेद भट्टराईले नागरिको संवैधानिक हकको उपभोग गर्न प्रहरी, प्रशासनले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने तथा प्रदर्शनकारीले पनि संयमता अपनाई आफ्ना विमति शान्तिपूर्ण रुपमा राख्नुपर्ने बताए ।

छलफलमा सहभागि दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशानले नागरिकको अधिकार तथा जनधनको सुरक्षा गर्न संवेदनशील भएर काम गर्दै आएको र प्रदर्शनकारीलाइ संयमित भई प्रदर्शन गर्न र सुरक्षाकर्मीलाई पनि मानव अधिकारको सम्मान गर्दै अधिक संयमता अपनाउन आग्रह गरेका छन् । उनीहरुले शान्ति सुरक्षा, लोकतन्त्र र मानव अधिकार संरक्षणको विषयलाई प्रशासनले सदैव प्राथमिकतामा राखेको र नेपाल प्रहरी नागरिको जीउधनको रक्षा र मानव अधिकारको सम्मान गर्न सदैव तत्पर रहेको बताए ।

राष्ट्रिय मानव अधिकार आयोग बाग्मती प्रदेश कार्यालयमा भएको छलफलमा प्रदेश अन्तरगतको मानव अधिकारको अवस्था समेत प्रस्तुत गरिएको आयोगलेमा विज्ञप्तीमा उल्लेख गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर