लुम्बिनी चिनी मिलले तिर्‍यो उखु किसानको पैसा – Nepal Press

लुम्बिनी चिनी मिलले तिर्‍यो उखु किसानको पैसा

रुपन्देही । संचालक पक्राउ परेर धरौटीमा छुटेपछि पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नुपर्ने  रकम बैंक खातामा जम्मा गरेको छ ।

ऊखु किसानको उजुरीका आधारमा सो उद्योगले रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् । उद्योगले किसानलाई २ वर्ष अघिदेखिको ७ करोड ८० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले बताए । पहिलो चरणमा उद्योगले खातामा ३ करोड ८० लाख रुपैयाँ जम्मा गरेको छ ।

तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नी सुशिला गोयलको नाउँमा गएको छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्रण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।

भुक्तानी दिनुपर्ने बाँकी ४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंक आदर्श नगर वीरगञ्ज शाखामा रहेको रकममध्ये बाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेण्ट बुझाएका छन् ।

बैंक स्टेटमेण्ट अनुसार अपुग ४ करोड रुपैयाँ अग्रवालको खाताबाट होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्रचार गरिएको र उद्योगको स्वामित्व मनोजका नाउँमा आउने वित्तिकै उद्योगको खातामा रकम पठाएर वितरण सुरु गरिने प्रजिअ पाठकले जानकारी दिएका छन् ।

इन्दिरा चिनी उद्योगका संचालक पक्राउ परेनन्

यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिर्न बास्ता गरेको छैन ।

पक्राउ पुर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउनेतर्फ पहल नगरिएको उखु किसानको गुनासो छ ।

अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ । तर प्रशासनले नचाहेकै कारण संचालक पक्राउ पर्न नसकेको उखु किसान संघर्ष समितिको गुनासो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *