श्रम मन्त्रालयले पुरानै नियमावली अनुसार काम कारबाही गर्ने गरेको खुलासा – Nepal Press

श्रम मन्त्रालयले पुरानै नियमावली अनुसार काम कारबाही गर्ने गरेको खुलासा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले खारेज भएको ऐनहरु र ऐनमा नभएको व्यवस्था नियमावली राखी काम कारबाही गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र पुरानै नियमावली अनुसार काम गर्ने गरेको पाइएको हो ।

श्रम अदालत कार्यविधि नियमावली २०५२ श्रम ऐन २०४८ को प्रयोग गरेर बनाइएको तर अहिले श्रम ऐन २०४८ खारेज भई श्रम ऐन २०७४ कार्यान्वयनमा आएको छ । तर श्रम अदालत कार्यविधि नियमावली बन्न नसक्दा पुरानै नियमावली कार्यान्वयनमा रहेकोले अधिकारको प्रत्यायोजन ऐन विपरित भएको पाइएको अध्ययनकर्ता अधिवक्ता हेममणि सुबेदीले बताए । पुरानो ऐनको अधिकार नयाँ ऐनले ग्रहण गर्ने भएपनि पुरानो नियमावली खारेज नहुँदा अधिकार प्रत्यायोजनमा समस्या भएको बताए ।

त्यसैले ऐन बनाउँदा नै नियमावली समेत बनाउन सुझाव दिए ।

यस्तै वैदेशिक राजगार नियमावली २०७४ ले इजाजतपत्रको निविकरण गर्दा पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पनि ऐनमा नभएको सुबेदीले बताए ।

ऐनमा नभएको व्यवस्थालाई नियमावलीले थप गर्न नमिल्ने भएकोले ऐनले दिएको बढी अधिकार प्रयोग भएको बताए । यस्तै मन्त्रालय अन्तर्गत रहेको आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सक्ने कामको सूचि सम्बन्धी आदेशले सानो तहका कर्मचारीहरुको शोषण गरेको बताए ।

माथिल्लो तहका कर्मचारीलाई स्थायी गर्नुपर्ने तर सानो तहका कर्मचारीलाई करारमा राख्नुपर्ने, थोरै तलब दिनुपर्ने, ६ महिनामा निकाल्नुपर्ने व्यवस्था रहेको र त्यो नमिल्दो भएको पनि बताए ।

कतिपय ऐनले नियम बनाउन भनेको तर नियमावली बनाइएको पाइएको छ । यस्तै ऐनमा राख्नुपर्ने कतिपय प्रावधानलाई नियमावली र निर्देशिकाहरुमा राखि अख्तियार प्रत्यायोजन गरेको पाइएको पनि छ । बैठकमा समिति सभापति रामनारायण विडारीले प्रत्यायोजित विधायनलाई सही ढंगबाट बनाउने र प्रयोग गर्ने हो भने मुलुकमा ५० प्रतिशत भ्रष्ट्राचार नियन्त्रण हुने बताए ।

ऐन नियमावली बनाउँदा नै अन्य आवश्यक कागजातहरु भनेर लेखिदा कुनैपनि कर्मचारीलाई अनुचित काम गर्न मन लागेमा नचाहिदो कागज माग्ने र ल्याउन नसकेको अवस्थामा भ्रष्ट्राचार गर्ने प्रवृति रहेको समेत बताए ।

ऐन अनुसार नबनेका नियमावली र कार्यविधि अनुसार काम गर्दा अख्तियारले मुद्दा हाल्ने तर अदालतले सफाई दिने प्रवृति पनि रहेको सभापति विडारीले सुनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर