वामदेव उवाच : म जबजको व्याख्याता, एमाले–माओवादी ब्युँतिन सक्छन् (भिडियो) – Nepal Press

वामदेव उवाच : म जबजको व्याख्याता, एमाले–माओवादी ब्युँतिन सक्छन् (भिडियो)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि कुनै समूहतिर पनि खुलेर लागेका छैनन्, उपाध्यक्ष वामदेव गौतम। प्रायः स्पष्ट र प्रखर शैलीमा आफ्ना कुरा राख्ने नेताका रुपमा चिनिन्छन्, उनी । तर, पार्टी विभाजनका बेला कित्ता स्पष्ट नगरेकाले उनलाई कतिपयले अस्पष्ट भएको भनेर पनि टिप्पणी गर्छन् ।

राष्ट्रियसभाको सदस्य भएपछि पहिलोपटक बिहीबार सम्बोधन गर्ने क्रममा पनि उनले त्यो विशेषता गुमाएनन्, भलै उनी रोष्टममा गएर बोल्ने कि बसिरहेको ठाउँबाट बोल्ने भनेर झुक्किन पुगेका थिए ।

राष्ट्रियसभाको विशेष समयमा शुरुमै बोलेका गौतमले सम्बोधनका क्रममा केही खुलासा गरे भने केही विषयमा दावी पेश गरे ।

जीवनमा दुइटा उद्देश्य राखेको बताउँदै उनले पहिलो पूरा भएकोमा खुशी व्यक्त गरे भने दोस्रो पूरा भएर पनि असफल भएकोमा दुःख । उनले राखेका दुई उद्देश्य गणतन्त्र स्थापना र नेपालका सबै कम्युनिष्ट पार्टीलाई एकीकरण गर्ने रहेछन् ।
वामदेवले तत्कालै नेकपाका दुवै विभाजित समूहमा सहभागी नहुने संकेत गरेका छन् । उनी देशभरका कार्यकर्ता समेटेर एकताको लागि अर्को कमिटी बनाउने तयारीमा छन् ।

विशेषगरी पूर्व एमालेको तल्लो तहको ठूलो पंक्ति पार्टी विभाजनपछि दुवै पक्षमा खुल्न चाहिरहेको छैन । पार्टीको आधिकारिकता र सूर्य चिन्ह कता जान्छ भन्ने पनि उनीहरुले पर्खेका छन् । गौतमको नजर ती कार्यकर्तामा परेको छ ।

वामदेवका केही दाबी र व्याख्या उनकै भाषामा

जबजको व्याख्याता भएको दाबी


म जनताको बहुदलीय जनवाद जसलाई नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्त बनाएको थियो, र आज त्यो ‘पेन्डिङ’ छ । निलम्बन जस्तो भएको छ । त्यसको म व्याख्याता पनि हो । मदन भण्डारीपछि सबैभन्दा धेरै लेख्ने, बोल्ने र सबैभन्दा धेरै प्रशिक्षण दिने मै हुँ ।

पटक–पटक अविश्वास प्रस्ताव रोकें

मैले निरन्तर आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकताका लागि अविश्वास प्रस्तावलाई असफल गराएको थिएँ । प्रधानमन्त्री हटाउने पटक–पटकका प्रयास मैले रोकेको थिएँ, तर पुस ५ गते मलाई थाहै नदिई अविश्वास प्रस्ताव ल्याएछन् ।

नेकपा विभाजनमा म दुवै पक्षमा छैन

आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन। पार्टी भित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो जतिको मूर्खता केही हुँदैन । पार्टीको जीवन अन्तरविरोधमा हुन्छ । नेता जो हुन्छ जसले ती समस्याको समाधान दिन सक्छ । समाधान दिंदा पार्टीलाई नयाँ जीवन मिल्छ ।

फेरि मिलाउन सकिन्छ कि …
मैले दुवै पक्षका कमजोरी देखेको छु । अहिले दुवैलाई फेरि मिलाउन सकिन्छ कि भनेर लागेको छु । त्यसका लागि संगठनको संरचना बनाएरै अगाडि जान्छु । पार्टीबीचमा एकता अपरिहार्य छ । दुइटा समूहका नेता यसरी उत्रनुभएको छ, समाजवादी सभ्यता निर्माण गर्छौं भन्नेहरुलाई लाज लाग्ने अवस्था छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्दिनँ 
पहिले मैले यो असंवैधानिक कदम हो भनेर भनें । तर, सर्वोच्चमा रिट परेपछि म चुप लागेको छु । अब यो विषय संवैधानिक विषय हो । अहिले यो असंवैधानिक छ भन्यौं भने सर्वोच्च अदालतको अपमान हुन्छ । अदालतको फैसला आएपछि पनि म यसबारे बोल्दिनँ।

एमाले र माओवादी केन्द्र ब्युँतिन्छन्
अहिले राजनीतिक रुपमा पार्टी विभाजित छ । कानूनी रुपमा के हुन्छ भन्न सक्दिनँ । निर्वाचन आयोगले के गर्छ केही भन्न सक्दिनँ । अहिले नेकपाको नामबारे ऋषि कट्टेलले मुद्दा हाल्नुभएको छ । त्यो जित्नुभयो भने नेकपाको भविष्य के हुन्छ ? ऋषि कट्टेलले मुद्दा जिते भने एमाले र माओवादी केन्द्र ब्युँतिन्छन् ।

प्रधानमन्त्रीको म कटु आलोचक

प्रधानमन्त्रीको म कटु आलोचक हो । उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं । मैले धेरै पटक सुझाव दिएको छु–शैली सुधार्नुहोस् । पार्टी जोगाउनका लागि अन्तिम समयसम्म उहाँलाई अवसर थियो । म त्यो ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा पहिले राजीनामा दिन्थें ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर