संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन् – Nepal Press

संसद तोडफोडलाई लिएर हलिउड सेलेव्रिटी विभाजित, सेलेना गोमेज फेसबुक र ट्वीटरविरुद्ध खनिइन्

सेलेना गोमेज, क्रिस इभान्स, कार्डी बी, खोले कार्दासियन, सोफी टर्नरसहित हलिउडका ठूला नामहरु अमेरिकी कंग्रेसमा भएको आक्रमण र हिंसाको विरोधमा उत्रिएका छन् । आ–आफ्ना सामाजिक संजालमार्फत उनीहरुले संसदमा हमला गर्ने ट्रम्प समर्थकको कार्यको निन्दा गरे । अभिनेत्री एवं गायिका गोमेजले बुधबार रातीको घटनालाई फेसबुक, ट्वीटर, इन्स्टाग्राम, गुगलजस्ता प्लेटफर्म आफ्नो भूमिका पुरा गर्न असमर्थ भएको कदमको रुपमा टिप्पणी गरेकी छन् ।

चारजनाको ज्यान जाने गरि भएको उक्त हिंसात्मक घटना सामाजिक संजालले सिर्जना गरेको हिट स्पिचको एउटा नतिजा भएको गोमेजको तर्क छ । फेसबुक, ट्वीटर र इन्स्टाग्रामले त राष्ट्रपति डोनाल्ड ट्रम्पको खातालाई २४ घन्टाको लागि निलम्बन गरिदिएका छन् । गोमेजले फेसबुक संस्थापक मार्क जुकरबर्ग, ट्वीटरका ज्याक डोर्सी, युट्युव सीइओ सुसन वजसिकीलाई मेन्सन गर्दै सामाजिक संजालले घृणा फैलाउनेभन्दा देश बनाउनेतर्फ लाग्नुपर्ने बताएकी छन् ।

‘एभेन्जर्स’ अभिनेता क्रिस इभान्सले आफू उक्त घटनालाई लिएर प्रतिक्रियाविहिन भएको ट्वीट गरेका छन् । अभिनेता मार्क रफेलोले ट्रम्पलाई महाभियोग लगाएर हटाउनुपर्ने अभियान चलाएका छन् । गायिका कार्डी बीले अमेरिकी नागरिकले न्याय र शान्ति खोजेको लेखेकी छन् । खोले कार्दासियनले श्वेत सर्वोच्चताको विरोध गर्दै लोकतन्त्र सबैको लागि समान हुने धारणा राखेकी छन् ।

एस्टन कुचर, सराह जेसिका पार्कर, पिंक लगायतले पनि घटनाको विरोध गरेका छन् । बुधबार नेपाली राष्ट्रिय सभामा बोल्दै गायिका समेत रहेकी सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको आक्रमणलाई लोकतन्त्रमाथिको आक्रमणको रुपमा टिप्पणी गरेकी छन् । अमेरिकामा रहेका फिल्म निर्देशक सुरेशदर्पण पोखरेलले पनि आक्रमणलाई निन्दनिय भनेका छन् । तर, हलिउडका अन्य कलाकार चाहिँ घटनाबारे मौन जस्तै देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर