जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको तीन किशोरीको उद्वार – Nepal Press

जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको तीन किशोरीको उद्वार

इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्वार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती किशोरीलाई गाडीमा भारत लैजान लाग्दा सो टोलीले सोधपुछ गरेको थियो । उनीहरूलाई जागिरको प्रलोभनमा पारेर लैजाँदै गरिएको खुलेपछि मंगलबार उद्धार गरिएको माइती नेपाल पशुपतिनगरका होम खतिवडाले जानकारी दिए ।

सङ्खुवासभा घर भई हाल काठमाडौँ बस्दै आएकी लाचेन शेर्पाले ती किशोरीलाई काठमाडौँमा जागिर लगाइदिने आश्वासन दिँदै एक हप्ता काठमाडौं लगेर राखेको अनुसन्धानका क्रममा खुलेको बताइएको छ ।

शेर्पाले भारतस्थित दार्जिलिङमा काम खोजिदिएको र महिनाको नौ हजार तलब हुने जनाउँदै एक व्यक्तिलाई फोन गरेर बोलाएर उनीकै साथमा दार्जिलिङ पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ ।

उद्धार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको जनाइएकोे छ । पछिल्लो समय इलामको सीमावर्ती नाकाबाट मानव वेचविखन हुने क्रम बढ्दै गएको छ ।

सीमा क्षेत्रमा रहेका दर्जनौं चोर बाटोको प्रयोग गरेर मानवतस्करले विशेष गरेर किशोरीलाई जागिरको प्रलोभन देखाएर लैजाने क्रम बढ्दै गएको हो ।

गत मङ्सिरमा मात्र चोर बाटोको प्रयोग गरेर मानव तस्करले दोलखा र मकवानपुरका दशजना किशोरीलाई भारततर्फ लैजाने क्रममा संयुक्त टोलीले उद्धार गर्न सफल भएको थियो । उद्धार गरिएकामा छ बालक र चार बालिका रहेका थिए ।रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर