‘म प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ’ – Nepal Press
राष्ट्रियसभा बैठक

‘म प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ’

फेरि दुवै पक्षलाई मिलाउन सकिन्छ कि भनेर लागेको छु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा कुनै पक्षतिर नखुलेका नेता वामदेव गौतमले पार्टी विभाजनको कुनै औचित्य नभएको बताएका छन् ।

‘नेपाली जनताले मलाई पटक–पटक माया प्रदर्शन गरेका छन्,’ राष्ट्रियसभा सदस्य भएपछि पहिलो पटक सभालाई बिहीबार सम्बोधन गर्दै गौतमले भने, ‘अहिले नेपाल कम्युनिष्ट पार्टी विभाजित छ । मैले यो विभाजनको कुनै औचित्य देख्दिनँ ।’

नेकपाका दुवै पक्षका नेताहरुको कमजोरी भएको भन्दै उनले पार्टी फेरि मिलाउन सकिन्छ कि भनेर आफू लागिरहेको बताए । ‘दुवै पक्षका मैले कमजोरी देखेको छु । अहिले दुवैलाई फेरि मिलाउन सकिन्छ कि भनेर लागेको छु । पार्टीबीचमा एकता अपरिहार्य छ ।’
आफू प्रधानमन्त्रीको ठाउँमा भएको भए अविश्वास प्रस्ताव आउनुअघि नै राजीनमा दिने उनले बताए । भने, ‘म त्यो ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले नै राजीनामा दिन्थेँ ।’

गौतमले गरेको सम्बोधनको बाँकी अंशः

पहिले पनि पार्टी एकताका लागि लागेकाले नेपाली जनताले मलाई पटक–पटक माया प्रदर्शन गरेका छन्। अहिले नेपाल कम्युनिष्ट पार्टी विभाजित छ । मैले यो विभाजनको कुनै औचित्य देख्दिनँ । मैले पटक–पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ । तर सुधार भएन । म एक हिसाबले धेरै पटक नेताको विरोधी जस्तो भएँ ।

मैले निरन्तर आलोचना गर्ने समूहभित्र बसेर पनि पार्टी एकताका लागि अविश्वास प्रस्तावलाई असफल गराएको थिएँ । यस पटक अविश्वासको प्रस्ताव लैजादा मलाई सोधिएन । यसपटक मलाई थाहा थिएन ।

प्रधानमन्त्रीको म कटु आलोचक हो । उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं । मैले धेरै पटक सुझाव दिएको छु–शैली सुधार्नुहोस् । पार्टी जोगाउनका लागि अन्तिम समयसम्म उहाँलाई अबसर थियो । म त्यो ठाउँमा भएको भए अविश्वास प्रस्ताव दर्ता हुनु भन्दा पहिले राजीनामा दिन्थे ।

मैले यो असंवैधानिक कदम हो भनेर भने । तर, सर्वोच्चमा रिट परेपछि म चुप लागेको छु । अब यो विषय संवैधानिक विषय हो । अहिले यो असंवैधानिक छ भन्यौ भने सर्वोच्च अदालतको अपमान हुन्छ ।

हामीले संविधानको सर्वोच्चतालाई सिद्धान्तको मुल विषय बनाएका छौं । हामीले भने अनुसारको भएन भन्दैमा हामीले त्यसलाई बदनाम गर्नें काम गर्नु हुँदैन ।

आज हाम्रो पार्टी दुई समूहमा विभाजित छ । म कुनै पनि समूहमा छैन। पार्टी भित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो जतिको मुर्खता केही हुँदैन । पार्टीको जीवन अन्तरविरोधमा हुन्छ । नेता जो हुन्छ जसले ती समस्याको समाधन दिन सक्छ । समाधन दिँदा पार्टीलाई नयाँ जीवन मिल्छ ।

अहिले राजनीतिक रुपमा पार्टी विभाजित छ । कानुनी रुपमा के हुन्छ भन्न सक्दिनँ । निर्वाचन आयोगले के गर्छ केही भन्न सक्दिनँ । अहिले नेकपाको नामबारे ऋषि कट्टेलले मुद्दा हाल्नु भएको छ । त्यो जित्नु भयो भने नेकपाको भविष्य के हुन्छ ?

दुवै पक्षका मैले कमजोरी देखेको छु । अहिले दुवैलाई फेरि मिलाउन सकिन्छ कि भनेर लागेको छु । पार्टीबीचमा एकता अपरिहार्य छ । दुईटा समूहका नेता यसरी उत्रनु भएको छ, समाजवादी सभ्यता निर्माण गछौं भन्नेहरुलाई लाज लाग्ने अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर