विराटनगर–धरान ६ लेन सडकः ९ वर्षमा ६० प्रतिशत काम (तस्वीरसहित) – Nepal Press
विकास/निर्माण

विराटनगर–धरान ६ लेन सडकः ९ वर्षमा ६० प्रतिशत काम (तस्वीरसहित)

सरकारी निकायबाटै असहयोग

विराटनगर । विराटनगरको रानीदेखि सुनसरी धरानसम्मको सडक पाेहाेर नै ६ लेनको बनाइसक्नुपर्ने थियो । तर अहिलेसम्मको करीब ६० प्रतिशत मात्र काम पूरा भएको छ । यसरी समयमै काम पूरा नहुनुको मुख्य कारण, सडक विस्तारको क्रममा विवाद भएर काम रोकिनु नै हो ।

आयोजनाका अनुसार अहिलेसम्म विभिन्न प्याकेजमा २२ किलोमिटर सडक कालोपत्रे गर्ने काम पूरा भएको छ भने विभिन्न प्याकेटमा नाका निर्माणसँगै सडकपेटी निर्माणको काम पनि भइसकेको छ ।

२०६९ सालबाट ठेक्का लागेर रानी विराटनगर–इटहरी–धरान सडक खण्ड व्यापारिक मार्ग विस्तारको शुरू भएको थियो । कुल ४९ किलोमिटर सडक विस्तारको काममा अझै पनि केही ठाउँमा विवाद कायम रहेकाले विस्तारका लागि ठेक्का लाग्न सकेको छैन ।

विशेषगरी सुनसरीको दुहबी र धरानको तिनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि घरहरू नहटाइएका कारण यी दुई खण्डमा सडक विस्तारको ठेक्का लाग्न नसकेको उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजनाको कार्यालयले जनाएको छ ।

आयोजनाका प्रमुख बद्री शर्माका अनुसार कुल लागत १० अर्बको आयोजनामा विराटनगरको रानीदेखि धरानको तिनकुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको सडक विस्तार गर्ने काम भइरहेको छ ।

सडक विस्तारको आयोजनाले सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोला पुलको विस्तारका लागि २० करोडमा ठेक्का लागेर पुल विस्तारको काम भइरहेको छ । त्यसैगरी रानीदेखि सुनसरीको तरहरासम्मको कुल ३४ किलोमिटर ६ लेनको सडक विस्तारको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको आयोजनाका प्रमुख शर्माले बताए ।

‘रानीदेखि तरहरासम्मको प्याकेजको काम यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेका छौं । दुहबी बजारमा रहेको समस्यालाई सुल्झाउने प्रयास भइरहेको छ’, आयोजना प्रमुख शर्माले भने ।

शर्माले चालु आर्थिक वर्षभित्र रानीदेखि तरहरासम्मको सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्यसहित लकडाउनको अवधिमा पनि सडक विस्तारको काम नरोकिएको बताए ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर महामारीको बीचमा पनि सडक विस्तारको काम जारी रह्यो’ शर्माले भने, ‘यो बीचमा सडक विस्तारको धेरै काम भएको छ ।’ धेरै ठाउँमा नाला निर्माणदेखि सडक कालोपत्रे गर्न काम सम्पन्न गरेको पनि उनले बताए ।

कंचनजघा एस गीताञ्जली जेवी, ठुकुचु कान्छा राम हिम्डुङ, शर्मा कान्छाराम, आशिष एपेक्स रोशन, कालिका कान्छा राम जेवी, तुक्जी रमन जेवी निर्माण कम्पनीले विभिन्न खण्ड/खण्ड गरेर पहिलो चरणको विराटनगरको रानीदेखि सुनसरीको इटहरीसम्मको ६ लेनको सडक विस्तारका लागि नाला निर्माणदेखि ६ लेनको सडक निर्माणसम्मको काम गरिरहेका छन् ।

सरकारी निकायबाटै असहयोग

राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको रानीदेखि धरानसम्मको ६ लेन सडक विस्तारमा एकातिर धेरै स्थानमा आवश्यक मापदण्ड अपुगको समस्या देखिएको छ भने अर्कोतर्फ सडक विस्तारको क्रममा सरकारी निकायबीचको समन्वयले उत्पन्न समस्या पनि रहेको छ ।

उत्तर–दक्षिण व्यापारिक मार्ग परियोजना कार्यालय इटहरीका प्रमुख बद्री शर्माले बजेट अभावको समस्यासँगै रानीदेखि इटहरीहुँदै तरहरासम्मको ३४ किलोमिटर सडक विस्तारमा बिजुली, खानेपानी र टेलिफोन स्थानान्तरणको काम समयमै नहुँदा धेरै ठाउँमा समस्या भएको बताए ।

‘आयोजनाले सडक विस्तारको काममा सरकारी निकायबाट पनि आवश्यक सहयोग पाएको छैन’ आयोजना प्रमुख शर्माले भने, ‘पटक–पटक सडकमा भएको बिजुलीको पोल, टेलिफोनलगायत हटाउनुपर्ने संरचनाका लागि सम्बन्धित निकायलाई भनेका छाै‌ । तर सडक विस्तार भइसकेको धेरै स्थानमा अहिले पनि सडकमै बिजुलीको पोल ठडिएका छन् । सडक विस्तारमा स्थानीयको अवरोध छिचोल्न उत्तिकै गाह्रो छ ।’
विद्युत्, टेलिकम, खानेपानीलगायतका निकायबाट पनि सडक विस्तारमा आवश्यक सहयोग भन्दा पनि व्यवधान उत्पन्न गर्ने काम गरिएको उनले बताए ।

आयोजना कार्यालयका अनुसार विराटनगरको रानीदेखि इटहरीसम्म नाला र फुटपाथ निर्माणसहितको पुल निर्माण बाहेक १६ प्याकेजमा अहिले काम भइरहेको छ । तर पनि ठेक्का लागेको र काम भइरहेको रानीको भन्सार क्षेत्रमा सडक विस्तारको लागि आवश्यक जमिन उपलब्ध नहुँदा १७५ मिटर लम्बाइमा सडक विस्तारको काम अघि बढ्न सकेको छैन ।

त्यसैगरी नहरदेखि एसलाल पम्पसम्म टेलिफोन र बिजुलीको पोल स्थानान्तरण गर्ने काम भर्खरै पूरा भएको छ । त्यस क्षेत्रमा टेलिफोन र बिजुलीको पोलका कारण सडक कालोपत्रे गर्ने काम रोकिएको थियो ।

विराटनगर महानगरले निर्माण गरेको विराटनगर प्रवेशको ढाँटमा रहेको प्रवेशद्वारको गेट हटाउन पटक–पटक महानगरलाई पत्राचार गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको आयोजनाले जनाएको छ ।

दुई लेनको सडक हँुदा निर्माण गरेको गेट ६ लेनमा सडक विस्तार गर्दा भत्काउनुपर्ने अवस्था रहेको छ । सबैभन्दा पहिलो ठेक्का लागेर निर्माण भएको बरगाछी एअरपोर्टसम्मको सडक कालोपत्रे गर्ने काम पूरा भए पनि रेलिङ र फुटपाथको काम अलपत्र छ ।

त्यसैगरी दुहबी बजार क्षेत्रको ६०० मिटर क्षेत्रमा सडकको लागि आवश्यक ३० मिटर चौडाको मापदण्ड आवश्यक पर्ने भए पनि त्यस क्षेत्रमा १६.५ मिटर मात्र जग्गा उपलब्ध भएकाले ठेक्का प्रक्रिया रोकिएको छ । बजार क्षेत्रमा पर्ने करीब ६० वटा घर सडक विस्तार आयोजनाभित्र पर्ने भए पनि अहिलेसम्म हटाउन सकिएको छैन ।

आयोजनाले सडक विस्तार भित्र पर्ने घरको क्षतिपूर्ति दिने शर्त राखे पनि स्थानीयले घरसहित जग्गाको मुआब्जाको विषयसमेत उठाएका कारण समस्या समाधान हुन नसक्दा विस्तारको काम रोकिएको छ ।

इटहरी बजार ट्याग्रा खोलादेखि तरहरासम्मको सडक विस्तारका लागि ५० मिटर चौडा सडकको मापदण्ड तय गरी ठेक्का लागे पनि धेरै घर भत्काउनुपर्ने भएर स्थानीयले सडक विस्तारमा अवरोध गरेका कारण विस्तारको काम रोकिएको छ । त्यस क्षेत्रको सडकको दुवैतर्फ पर्ने करीब २०० घर हटाउनुपर्ने अवस्था छ ।

घर हटाएर सडक विस्तारको लागि जमिन प्राप्तिका लागि आयोजनाले गएको फागुन २० गते सार्वजनिक सूचना निकाले पनि अहिलेसम्म घर खाली गर्ने काम भएको छौन ।

त्यसैगरी धरानको तिनकुनेदेखि धरान बजार क्षेत्रमा पनि सडक विस्तारको काम हुनसकेको छैन । एक किलोमिटर बजार क्षेत्रमा सडक विस्तारका क्रममा धेरै घर पर्ने भएकाले त्यो क्षेत्रमा स्थानीयले सडक विस्तारको काममा अवरोध सृजना गर्दै आएका छन् ।

जसका कारण सडक विस्तारको लागि ठेक्का समेत लाग्न सकेको छैन । ठेक्का लागेका सडक र अवरोध नभएका स्थानमा अहिले सडक विस्तारको काम भइरहेको छ । व्यापारिक मार्ग मध्यविन्दुबाट दायाँ–बायाँ २५/२५ मिटर फराकिलो हुनुपर्नेमा रानी–इटहरी सडकखण्ड १५/१५ मिटर मात्र बनाइँदैछ ।

धरान तिनकुनेसम्मको सडक विस्तार कार्य शुरू

आँपगाछीदेखि धरानसम्मको वन क्षेत्रभित्रको सडक विस्तारको काम पनि यही आर्थिक वर्षबाट शुरू भएको छ । आँपगाछीदेखि धरानसम्मको ९ किलोमिटर क्षेत्रमा वन क्षेत्र परेकाले ठेक्का प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।

वन विभागले सडक विस्तारका लागि १ हजार ४३० वटा रूख कटानको अनुमति दिएपछि ८० करोडको लागतमा सडक विस्तारको ठेक्का लागेको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख शर्माले असारमा सडक विस्तारको ठेक्का लागेर अहिले रूख कटानको काम भइरहेको बताए । साढे चार किलोमिटरको दरले दुई खण्डमा ठेक्का लागेको सडक विस्तारका लागि अहिलेसम्म ८०० रूख कटान गरिएको आयोजना प्रमुख शर्माले बताए ।

यो क्षेत्रको सडक विस्तारको लागि आँपगाछीदेखि सेउती खोलासम्मको ठेक्का रौता कन्ट्रक्सन र सेउतीदेखि तिनकुनेसम्मको सडक विस्तारका लागि हिम्डुङ एण्ड ठोकर प्यासिफिकले ठेक्का पाएर विस्तारको काम अगाडि बढाएको छ । यी दुवै निर्माण कम्पनीले तीन वर्षभित्र सडक विस्तारको काम पूरा गर्नुपर्नेछ ।

एकरूपता छैन मापदण्डमा

९ वर्षदेखि, रानीदेखि धरानसम्मको ६ लेनको सडक विस्तारको ठाउँपिच्छे मापदण्ड तय गरिएको छ । रानीदेखि इटहरी हँुदै आँपगाछीसम्म काम भइरहेको स्थानमा फरक–फरक ३० मिटर र ५० मिटर चौडाको मापदण्ड कायम गरिएको छ ।

रानीदेखि दुहबी बजारसम्म सडक चौडाको लागि ३० मिटर कायम गरिएको छ । त्यसैगरी दुहबी उत्तरबाट इटहरी बजार क्षेत्र हुँदै आँपगाछी क्षेत्रसम्मको सडक ५० मिटर चौडा बनाउने मापदण्ड तोकिएको छ ।

सडक मापदण्डमा एकरूपता नहँुदा विशेषतः इटहरी बजार क्षेत्रमा यसै विषयलाई लिएर विवाद कायम छ ।

इटहरी बजार क्षेत्रमा ५० मिटर चौडा कायम गरेका कारण धेरै घर पर्ने भएपछि स्थानीयले मापदण्डलाई लिएर सडक विस्तार कार्यलाई नै लामो समयदेखि अवरोध पु¥याएका छन् । जसका कारण करीब ६०० मिटर क्षेत्रमा सडक विस्तारको काम हुनसकेको छैन ।

इटहरी–आँपगाछी खण्डको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर दीपक थिङले इटहरी बजार क्षेत्रमा आफूहरूले सडक निर्माणको जिम्मा पाए पनि त्यस क्षेत्रमा सडक विस्तारको मापदण्डमा एकरूपता नभएको भन्दै स्थानीयले काममा अवरोध उत्पन्न गरेको बताए ।

‘सडक विस्तारका लागि पुग्दा मेसिन जलाइदिनेदेखि धरपकड गर्ने समेतको काम हामी माथि भयो’ प्रोजेक्ट म्यानेजर थिङले भने, ‘असुरक्षाका कारण काम गर्न असमर्थ भएपछि आयोजनालाई जानकारी गराएका छांै । सडक विस्तारको काम गर्ने वातावरण तयार नहुञ्जेल काम अगाडि बढाउन सकिंदैन ।’

सहयोगी सडक

पूर्वी नेपालको कोशी र मेचीमा चीन र नेपाललाई जोड्ने दुईवटा महत्वपूर्ण नाकाहरू छन् । तीमध्ये एउटा संखुवासभाको किमाथाङ्का हो भने अर्को ताप्लेजुङ जिल्लामा पर्ने ओलाङचुङगोला ।

यी दुवै नाकाहरू भारत र चीनलाई छोटो दूरीमा जोड्न सकिने महत्वपूर्ण ट्रान्जिट प्वाइन्ट पनि हुन् । विराटनगरको रानी सीमामा जोगवनीसँग यी दुवै नाकालाई जोड्न सके पूर्र्वी नेपालले निकै ठूलो आर्थिक उपलब्धि पाउन सक्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत बताउँछन् ।

तिव्बतसँगको सिमाना किमाथाङ्काबाट पनि सडक निर्माणको काम अघि बढेको छ । रानीबाट धरानसम्मको सडकलाई ६ लेनको बनाउँदा किमाथाङ्का सडकका लागि यो सहयोगी बन्नेछ ।

जोगवनी नाकादेखि किमाथाङ्कासम्मको दूरी ३७६ किलोमिटर मात्रै छ । यो बाटोको ट्रयाक खोल्ने काम अब ३४ किलोमिटर मात्रै बाँकी रहेको छ ।

अबको दुई वर्षभित्र तिब्बतको यो नाकालाई धनकुटा र धरानहुँदै भारतको जोगवनी जोड्ने सरकारी लक्ष्य छ । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *