ईश्वर पोखरेलको दावी -ओली अध्यक्ष भएको पार्टी नै वैधानिक – Nepal Press

ईश्वर पोखरेलको दावी -ओली अध्यक्ष भएको पार्टी नै वैधानिक

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् ।

सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गरेका छन् ।

विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उनले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गरे। उनले भने,‘ पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।’

आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उनले आग्रह गरे । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर गरे।

तत्कालीन नेकपा(एमाले)ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयौं नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न समेत गरे ।

उनले सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर