पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज – Nepal Press

पोखरामा फिल्म सुटिङ र प्रदर्शन खुला गर्ने निर्णय, जिफानले ल्यायो राहत प्याकेज

पोखरा –गुरुङ फिल्म एसोसिएसन (जिफान)ले फिल्म प्रदर्शन र छायांकन खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको जिफान बैठकले दस महिनादेखि रोकिएका फिल्म गतिविधिलाई खुला गर्ने निर्णय गरेको हो । जिफानलाई नेपाली भाषाको फिल्मपछि ठूलो बजार मानिन्छ ।

नेपाल प्रेससँग कुरा गर्दै अध्यक्ष भोजबहादुर गुरुङले सुटिङ र स्क्रिनिङ खुला भएको जनाउँदै फिल्म बनाउनेलाई प्रोत्साहित गर्न राहत प्याकेज पनि ल्याइएको बताए । ‘अब सिनेमा घरमै गुरुङ फिल्म प्रदर्शन हुन्छन्’ उनले भने, ‘अबको मुख्य प्रतिस्पर्धा नेपाली फिल्मसँग हुनेछ । अब हामीले फिल्म निर्माणमा गुरुङ समुदाय र संस्कृतिको सौन्दर्य शाष्त्र उत्खनन गर्नेछौं ।’

‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’

जिफानले फिल्म निर्मातालाई १०–१० हजार दरले राहत दिने निर्णय पनि गरेको छ । ३ फिल्म छायांकनमा जाने तयारीमा छन् भने पाँच फिल्म रिलिज तयारीमा छन् । लकडाउनका कारण करोडभन्दा बढीको रकम फसिरहेको जिफानको तथ्यांकमा उल्लेख छ । ‘कोभिड अगाडि हामी बलिउड स्टोरी टेलिङबाट प्रभावित थियौं । अब भने गुरुङको मौलिक मूल्य र सौन्दर्यको खोजी गर्नेछौं ।’ गुरुङ फिल्मलाई अब च्यारिटी शैलीमा नभएर १४ दिनको अन्तरमा रिलिज गर्ने उनले जनाए । यसका लागि जिफानले मिडटाउन सिनेमाज् मल्टिप्लेक्ससँग सहकार्य गर्ने भएको छ ।

यसैको तयारीस्वरुप शनिबार पोखरामा ‘ङ्हेल्स्यो’ फिल्म प्रदर्शन गरियो । ४ सय जना दर्शकले फिल्म हेरेको र दर्शक फिल्म हेर्न आतुर छन् भन्ने सन्देश यसले प्रवाह गरेको अध्यक्ष गुरुङले बताए । कोभिड–१९ मापदण्डलाई पालना गरेर फिल्म प्रदर्शन र छायांकनलाई अगाडि बढाउने जिफान बैठकको निष्कर्ष छ । ‘शनिबार नौ महिनापछि फिल्म देखाउँदाको दर्शकीय उपस्थितीले हामीलाई ढुक्क बनाएको छ’ गुरुङले भने, ‘अब फिल्म गतिविधिलाई स्वास्थ्य सतर्कताको साथ अगाडि बढाउनेछौं ।’

मिडटाउन सिनेमाज् मल्टिप्लेक्सले भारी छुटमा गुरुङ फिल्मलाई हलमा देखाउने तयारी गरेको छ । हल प्रमुख उत्तम द्धाले गुरुङ फिल्मलाई ३० प्रतिशत छुटमा प्रदर्शन गर्न लागिएको बताए । ‘यतिबेला हामी पैसा कमाउनेभन्दा पनि फिल्मको माहौल बनाउने काममा केन्द्रित हुन्छौं’ द्धाले नेपाल प्रेससँग भने, ‘पोखरेली संस्कृति र पर्यटनमा गुरुङ फिल्मको योगदानप्रति हामी सँधै आभारी छौं ।’

जिफानले तत्काले अन्तराष्ट्रिय बजारको विकल्पमा आन्तरिक बजारको खोजी गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर