ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन् – Nepal Press

ग्लोबल टीकटक स्टार नेपालको मानसिक स्वास्थ्यमाथि काम गर्न चाहन्छन्

भाग्यमानीको भुतै कमारो । यो नेपाली उखान अभिनव बस्ताकोटीको जीवनमा लागु हुन्छ । बीसवर्षे यी किशोरलाई के थाहा –१५ सेकेन्डको भिडियो अनलाइन पोस्ट गर्दा एकरातमै विश्व स्टार हुन्छु भन्ने कुरा । आखिर भैदियो पनि यस्तै । धन्यवाद –चिनियाँ भिडियो साझेदारी एप टीकटकलाई ।

‘कुर्तिस वाटर्स’ नामले विश्व चर्चित यी ठिटा अहिले हलिउड स्टार भैसके । काठमाडौंमा जन्मिएका, क्यानडामा हुर्किएका र अमेरिका नर्थ क्यारोलिनामा स्टार भएका उनका लागि भाग्य दाहिना भयो । उनलाई टीकटकमा पछ्याउनेको संख्या एकलाख छ । १५ सेकेन्डको उनको टीकटक भिडियो ‘स्टनिङ’ले उनको भाग्य खुलाइदियो । रोलिङ स्टोन, बिलबोर्ड र गार्जियनले यी तन्नेरीमाथि स्टोरी लेखेका छन् । स्फटिफाइ र युट्युवमा उनलाई फलो गर्नेको संख्या पनि उच्च छ ।

‘मेरा लागि यो स्वैरकाल्पनिक कुरा हो । सपनाजस्तै लागिरहेछ’ नेपाल प्रेससँग क्यानडाबाट कुरा गर्दै उनले भने, ‘तर, नेपाली अभिभावक हुनुको नाताले मेरा प्यारेन्टस् सँधै राम्रो पढोस भन्ने चाहन्थे । उनीहरुले संगीतप्रति मेरो रुचि बुझ्नुभएन । एउटा कोठामा मेरो संगीतप्रतिको प्यासन हुर्कियो ।’ हलिउड म्यागजिन रोलिङ स्टोनले त कुर्तिस वाटर्सलाई ठूला स्टुडियोले आफ्नो लेभलमा गीत गाउन आग्रह गरिरहेको लेखेको छ ।

तर, अभिनवलाई लेभल संगीतमा गीत गाउन कुनै रुचि छैन । उनी आफ्नै लेभल सिर्जना गर्ने पक्षमा छन् । विश्व संगीतका ठूला नामहरु फ्रांक ओसन, आयन कुर्तिस र केनी वेस्टबाट प्रभावित उनीको ‘स्टनिङ’ चाहिँ निकै हिट गीत हो जहाँ हार्म फ्रयांकलिन फिचर्ड छन् । उनको डेब्यु एल्बम ‘पिटी पार्टी’ चाहिँ सन् २०२० अक्टोबरमा रिलिज भएको थियो । गत डिसेम्बरमा रोलिङ स्टोन म्यागजिनले उनलाई २५ नयाँ उदाउँदा स्टारको तेस्रो सूचिमा समेटेको थियो । यो सूचिपछि उनी ओभरनाइट स्टार भए ।

ग्लोबल सेलेव्रिटी भैसकेका अभिनव नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छन् । आफू पनि कुनैबेला मेन्टल हेल्थसँग संघर्ष गरिरहेको बताउने उनले नेपालको मानसिक स्वास्थ्यको अवस्था सुधान आफूले काम गर्ने बताए । १० वर्षको उमेरमा परिवारसँग क्यानडा पुगेका उनी नेपाली भाषा सिक्न चाहन्छन् र करियर नेपालको लागि अघि बढाउन चाहन्छन् । ‘मेरो मन, माया र ध्यान सँधै नेपालको हितमा हुन्छ’ उनले सुनाए ।

सफलताप्रति उनको आफ्नै व्याख्या छ । ‘अब विश्व संगीत उद्योगमा कुनैपनि गेटकिपर छैनन् । यदि तिमीले राम्रो संगीत बनायौं र अल्गोरिदमको प्रवृत्तिलाई बुझ्न थाल्यौ भने बुझ तिमी सफलतातिर गैरहेका छौ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर