सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे – Nepal Press

सुवास नेम्वाङप्रति गगनको कटाक्ष– संविधान संकटमा पर्दा भाग्नेमाथि दया लाग्याे

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै अध्यक्षतामा जारी भएको संविधान संकटमा पर्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भागेर हिँडेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नबारे सर्वोच्च अदालतमा बहस सुरु हुँदै गर्दा संविधानसभाका अध्यक्षको निरिहता देखेर दया लागेको टिप्पणी समेत गरे ।

संविधानका अक्षर र त्यसको विधायकी मनाशय बुझेर पनि संविधानसभाका अध्यक्ष नेम्वाङ प्रश्नबाट भागेर लुक्नु गलत भएको थापाको भनाई छ । उनले संविधान बनाएको नेताले संविधानको पक्षमा उभिने साहस नगरे पनि सर्वोच्च अदालत संविधानको पक्षमा उभिने विश्वास समेत व्यक्त गरेका छन् ।

गगन थापाले लेखेका छन्–

प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।

मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय (Legislative Intent) यस्तो हुँदै होइन भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ।

अपसोच उहाँ त कसैले केही सोध्लान कl भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर