युवाको ‘लास बुझिरहेको’ देश– ६ महिनामा ६ सय बढी शव बाकसमा स्वदेश – Nepal Press
वैदेशिक रोजगारीका पीडा

युवाको ‘लास बुझिरहेको’ देश– ६ महिनामा ६ सय बढी शव बाकसमा स्वदेश

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र वैदेशिक रोजगारीमा गएका ६ सय ८८ जना नेपालीको मृत्यु भएको छ । साथै, उनीहरूका परिवारलाई राहत तथा क्षतिपूर्तिबापत ४८ लाख २२ हजार रुपैयाँ उपलब्ध गराइएको वैदेशिक रोजगार बोर्डले जनाएको हो ।

यसै अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका ३५९ शव व्यवस्थापन गर्दा ८ करोड ६० लाख खर्च भएको पनि बोर्डले जनाएको छ ।
कोरोना महामारीको यस अवधिमा २५ हजारभन्दा बढी व्यक्ति विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको साउन १ देखि पुस १६ गतेसम्मको अवधिमा २५ हजार ७५४ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार यसै अवधिमा व्यक्तिगत र संस्थागत गरेर ७ हजार ३३५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । ४१० जना गैर–नेपाली नागरिकले नयाँ श्रम स्वीकृति लिएका छन् भने ६३६ जनाले नवीकरण गराएका छन् ।

६ महिनाको अवधिमा पौने दुई लाख नेपाली स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई उद्धृत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यस अवधिमा १ लाख ४२ हजार ८०७ जनाले निवेदन दिए पनि निवेदन दिनेभन्दा १४ हजार ३०९ जना बढेर १ लाख ८७ हजार ११६ जना नेपाली स्वदेश फर्किएको मन्त्रालयले जनाएको छ ।

९४ प्रतिशत गुनासो तथा उजुरी सम्बोधन

वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा मन्त्रालयमा सञ्चालित कल सेन्टरमा आएका ६ हजार ८९६ गुनासो तथा उजुरीमध्ये करीब ९४ प्रतिशत अर्थात् ६ हजार ४२० वटा गुनासो तथा उजुरी सम्बोधन भएको मन्त्रालयले दाबी गरेको छ ।

६ महिनाको अवधिमा नै वैदेशिक रोजगार विभागमा परेका ९४ वटा उजुरीमध्ये २१ वटा उजुरी फस्र्योट भएको र दुई वटालाई दण्ड जरिवाना गराइएको विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता भएका २६ वटा मुद्दामा ४० लाख दण्ड जरिवाना तिराइएको छ ।

७ लाख बेरोजगार, १ हजार २७९ जना मात्रै रोजगार

६ महिनाको अवधिमा ७५३ वटै स्थानीय तहमा ७ लाख ४३ हजार ८१ जना व्यक्तिले आफू बेरोजगार भएको भन्दै निवेदन दिएका छन् । तीमध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ हजार २७९ जनाले रोजगारी प्राप्त गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

६४७ प्रतिष्ठानले गरे श्रम अडिट

६ महिनाको अवधिमा ६४७ प्रतिष्ठानले मात्र श्रम अडिट प्रतिवेदन बुझाएका छन् । यसै अवधिमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र विभाग मातहतका कार्यालयबाट ५३२ प्रतिष्ठानको निरीक्षण भएको छ । यस्तै ४९६ प्रतिष्ठानमा बाल श्रम निरीक्षण गरिएको पनि विभागले जनाएको छ ।
६ महिनाकै अवधिमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र मातहतका कार्यालयमा २७ वटा नयाँ श्रमिक आपूर्तिकर्ता दर्ता भएका छन् भने १८१ श्रमिक आपूर्तिकर्ताले नवीकरण गरेका छन् ।

श्रम सम्बन्धी ५०७ वटा गुनासो आएकोमा २४९ समाधान भइसकेका र ३०८ वटा प्रक्रियामा रहेको पनि विभागले जनाएको छ । ६ महिनाकै अवधिमा ११ वटा औद्योगिक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना उपचाररत रहेको पनि जनाइएको छ ।

पौने दुई लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत ६ महिनाको अवधिमा १३ हजार १८ वटा प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् । ती प्रतिष्ठानमार्फत १ लाख ८२ हजार ३९४ जना श्रमिक कोषमा आबद्ध तथा सूचीकरण भएको जनाइएको छ ।

कोषमा यस अवधिमा ३४ अर्ब २३ करोड ९० लाख रुपैयाँ जम्मा भएकोमा १ हजार ६४ जनाले २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर