टोटनह्याम लिग कपको फाइनलमा – Nepal Press

टोटनह्याम लिग कपको फाइनलमा

एजेन्सी । ब्रेन्टफोर्डलाई पराजित गरी इंग्ल्यान्डको नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेपछि टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्होले प्रतियोगितालाई गम्भीरतापूर्वक लिएकामा खेलाडीको प्रशंसा गरेका छन् । टोटनह्याम १३ वर्षपछि ठूलो उपाधि जित्न एक कदम टाढा छ ।

सन् २००८ को लिग कप फाइनलमा चेल्सीलाई पराजित गरी उपाधि जितेयता टोटनह्यामले ठूला प्रतियोगिता जित्न सकेको छैन । सन् २००९ मा म्यानचेस्टर युनाइटेड र २०१५ को फाइनलमा चेल्सीसँगै पराजित हुनुपरेको थियो ।

माउरिन्होले लिग कप उपाधि चारपल्ट जितिसकेका छन् । गएरातिको खेलमा मोउसा सिसोको र सन ह्युङ मिनको गोलपछि उनी पाँचौं उपाधिनजिक पुगेका छन् । यदि उनले पाँचौं उपाधि जिते भने फरक तीन टोलीलाई लिग कपको फाइनलमा पुर्याउने उनी तेस्रो प्रशिक्षक हुनेछन् ।

‘म सन् २००४ मा पहिलोपल्ट इंग्ल्यान्ड आएको थिएँ र मलाई अहिलेसम्म सम्झना छ कि त्यो बसाइमा मलाई यहाँ प्रतियोगिताको गम्भीरता र ट्रफीको महत्व जान्नु थियो, त्यसैले मैले त्यसलाई गम्भीरतापूर्वक लिएँ’ उनले भने, ‘सफलताको एउटै सूत्र के भने सबै कुरा गम्भीरतापूर्वक लिने गरौं । इंग्लिस फुटबल के हो, इंग्लिस क्लब के हो र तल्लो डिभिजनको इंग्लिस फुटबल के हो भने जान्ने कोसिस गरौं ।’

चारवटा प्रिमियर लिग क्लबलाई पराजित गरी पहिलोपल्ट ठूलो प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको ब्रेन्टफोर्ड सिसोकोको गोलमार्फत १२ औं मिनेटमै पछि पर्यो । दोस्रो हाफ, ७० औं मिनेटमा सनले दोस्रो तथा निर्णायक गोल गरे । ८४ औं मिनेटमा मिलान्डा डी सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।

टोटनह्यामले उपाधिका लागि दुई म्यानचेस्टरबीच आजराति ओल्ड ट्राफोटमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर