राष्ट्रवादी नेपाली एकजुट होऔं : मनिषा कोइराला – Nepal Press

राष्ट्रवादी नेपाली एकजुट होऔं : मनिषा कोइराला

पुस २७ गते एकता दिवस मनाउन आग्रह

अभिनेत्री मनिषा कोइरालाले सबै राष्ट्रवादी नेपालीलाई एकताबद्ध हुन आह्वान गरेकी छन् । इतिहास र संस्कृतिलाई बिर्सने काम भएको भन्दै उनले पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन पनि आग्रह गरेकी छन् ।

पृथ्वी जयन्ती मनाउनेबारे मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा कोइरालाले पृथ्वीनारायण शाह राष्ट्र निर्माता भएको कारण नेपालीको पहिचान जोगिएको बताइन् । लिम्पियाधुरा नेपाली भूभाग भएको अभिव्यक्तिको विरोधमा भारतीय मिडिया आफूविरुद्ध उत्रिएको बारे मनिषाले केही बोलिनन् ।

संक्षिप्त मन्तव्यमा उनले पृथ्वीनारायण शाहको आदर्शलाई ख्याल गर्न नेपाली नागरिकलाई आग्रह गरिन् । शुरुदेखि नै राजसंस्थाको पक्षमा लागेकी मनिषाले पछिल्लो समय कालापानी र लिम्पियाधुरा नेपाली भूभाग भएको भन्दै अभिव्यक्ति दिएकी थिइन् ।

पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल, पूर्व डीआईजी रमेश खरेल, माले नेता सीपी मैनाली लगायतले अहिलेका शासकले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिएर इतिहासलाई अपमान गरेको आरोप लगाए । मैनालीले इतिहास र संस्कृतिमाथि आक्रमण भएको भन्दै आफ्नो पार्टी नेकपा माले पृथ्वी जयन्ती मनाउने सन्दर्भमा एक भएको बताए ।

उक्त अवसरमा विभिन्न पेशागत क्षेत्र र विचारका वक्ताहरुले पृथ्वीनारायण शाह र उनको योगदानको चर्चा गरे । आगामी पुस २७ गते रत्नपार्कमा भेला भएर पृथ्वी जयन्ती मनाइने भएको छ । सो दिन राष्ट्रिय एकता दिवसको सार्वजनिक विदा दिन समेत आयोजकले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *