७३ हजार युवालाई स्वरोजगार बनाइएको उपाध्यक्ष रोक्काको दाबी – Nepal Press

७३ हजार युवालाई स्वरोजगार बनाइएको उपाध्यक्ष रोक्काको दाबी

काठमाडौं । युवा स्वरोजगार कोषले ७५ जिल्लामा हालसम्म ९ अर्ब ५४ करोड ९६ लाख लगानीमार्फत ७३ हजारभन्दा बढीलाई स्वरोजगार बनाएको दाबी गरेको छ ।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाको सम्मानमा सोमबार कोषको कार्यालयमा सम्पन्न एक कार्यक्रममा मनाङ्ग र मुस्ताङ्गबाहेकका ७५ जिल्लामा ७३ हजार ६३८ जना बेरोजगार युवालाई स्वरोजगार बनाएको जानकारी दिइएको हो । कोषको भावी कार्यक्रम र कार्यक्रम सञ्चालनमा नीतिगत रुपमा आइपरेका कठिनाइहरुका बारेमा कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोक्का (कल्याण)ले मन्त्रीसमक्ष जानकारी गराउँदै सो तथ्यांक पेश गरेका हुन् ।

उपाध्यक्ष रोक्काले परम्परागत रुपमा अघि बढेको कोषलाई अब फरकढङ्गबाट अघि बढाइने समेत बताए । उनले कोशी इकोनोमिक कोरिडोर परियोजना अन्तर्गत १७ जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ्ग, उदयपुर, सप्तरी, भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग सुनसरीमा माछापालन, लोकल हाँस–कुखुरापालन, बङ्गुरपालन, बाख्रापालन, होमस्टे, र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्ने बताए ।

कार्यक्रममा सो जिल्लाका स्थानीय तहसँग साझेदारीका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भइसकेको बताएका छन् । यसअघि कोषले उपलब्ध गराएको थोककर्जा सहकारीले युवाहरुलाई बाँड्ने र त्यसको विवरण कोषमा पठाउँदै आएकोमा प्रारम्भिकतर्फ झापा, मोरङ्ग, रामेछाप, नुवाकोट र बाँके गरी ५ जिल्लामा ३५ सहकारी संस्थामार्फत ४ शय ६८ जना बेरोजगार युवालाई ७ करोड ६५ लाख रुपैयाँ कोषका कर्मचारीसहित स्थानीय जनप्रतिनिधि, प्रदेशस्तरीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा युवालाई रकम हस्तान्तरण गरिएको डा. रोक्काले बताए ।

कोषले वित्तीय र मानवीय स्रोतका आधारमा देशभरि १२ हजार बेराेजगार युवाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम सार्वजनिक गरेको छ । त्यसको लागि कोषले लगानीको मोडालिटीलाई समेत थप परिमार्जन गर्दै नगरपालिका, गाउँपालिका, प्रादेशिक सरकार, सङ्घीय सरकारका रोजगारी, स्वरोजगारी सृजना गर्ने विभिन्न कोष र संस्थाहरु बीच सहकार्य र साझेदारीको नीतिलाई अगाडि बढाएको छ ।

सो अवसरमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले देशमा विद्यमान बेरोजगारीको अन्त्यका लागि नयाँ सोच अनुसार पुराना कानूनहरूको परिमार्जन आवश्यक रहेको र त्यसका लागि कोषलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर