राजनीतिक विवादका कारण पाँच वर्षपछि साझा प्रकाशनको निर्वाचन – Nepal Press

राजनीतिक विवादका कारण पाँच वर्षपछि साझा प्रकाशनको निर्वाचन

काठमाडौं । साहित्यकारहरुको साझा संस्था साझा प्रकाशनले पाँच वर्षपछि नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्दैछ ।
ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको कार्यालय मंगलबार बिहान ११ बजेदेखि अध्यक्षका लागि मतदान सुरु भएको हो ।

साझा प्रकाशनका सञ्चालक समितिको निर्वाचन २०७२ साल यता हुनसकेको थिएन । विद्यमान ऐन अनुसार २०७५ को असार मसान्तभित्र अध्यक्षसहितको सञ्चालक समितिको निर्वाचन भइसक्नुपर्ने थियो ।

व्यवस्थापकीय समस्या राजनीति मिसिएपछि साझा प्रकाशनको साधारणसभा प्रभावित बन्दै आएको थियो । साझा प्रकाशनको विनियममा हरेक तीन वर्षमा पदाधिकारी निर्वाचित गर्नुपर्ने व्यवस्था छ ।

पछिल्लो सहकारी नियमावली २०७५ अनुसार २०७५ असार मसान्तभित्र साधारणसभा गरिसक्नुपर्ने थियो । पटक पटक सरकार परिवर्तन, राजनीतिक नियुक्तिले अस्तव्यस्त र राजनीति गर्ने अखडा बनेको साझा प्रकाशनले पछिल्लो पटक २०७७ वैशाख २७ गतेका लागि साधारणसभा तोकेको भए पनि कोरोनाका कारण पुनः स्थगित गरिएको थियो । साझा प्रकाशनको अध्यक्षका लागि साहित्यकार डाक्टर विजय सुब्बा र पूर्व सञ्चालक जीवनचन्द्र कोइराला प्रतिस्पर्धामा उत्रिएका छन् ।

साहित्यकार डाक्टर सुब्बा यसअघि पनि साझाको सञ्चालक समिति सदस्यमा रहेर काम गरिसकेका छन् । आफूलाई “सिंगो साझा बचाउ अभियानले” उम्मेदवारी बनाएको र साझा भित्र मौलाएको भ्रष्टाचारको अन्त्य गरी राजनीतिबाट जोगाएर साहित्यकारहरुको साझा संस्था बनाउनका लागि सदस्यहरुले आफूलाई विजयी बनाउने विश्वास डाक्टर सुब्बाले व्यक्त गरे ।

अर्का अध्यक्षका प्रतिस्पर्धी जीवनचन्द्र कोइरालाले पनि साझाभित्रको व्यवस्थापकीय कमिकमजोरी र भौतिक पूर्वाधारको पुनर्संरचनाका लागि आफूले उम्मेदवारी दिएको बताए ।

कोभिड १९ को जोखिमलाई मध्यनजर गरि साझा प्रकाशनले मंगलबारदेखि शुक्रबार ३ बजेसम्मका लागि कार्यालय परिसरभित्र मतदान गर्न सक्ने व्यवस्था मिलाएको छ । निर्वाचन समितिका सदस्य सचिव होमनाथ भट्टराईले स्वास्थ्य सतर्कताका मापदण्ड अपनाएर मतदानको व्यवस्था मिलाइएको जानकारी दिए ।

सदस्यसचिव भट्टराईका अनुसार अन्य तीन जना सञ्चालकहरु निर्विरोध चयन भएका छन् । महिलातर्फ सीता कुमारी ओझा, खुल्लातर्फ डोरप्रसाद अर्याल र हरिप्रसाद भण्डारी निर्विरोध चयन भएका हुन् । दुई सदस्यीय लेखा सुपरीवेक्षण समितिमा भने कसैको पनि उम्मेदवारी परेको छैन ।

अध्यक्षको निर्वाचनको मत परिणाम आगामी २५ गते शनिबार भर्चुअल रुपमा हुने साधारणसभामा जानकारी गराइने पनि निर्वाचन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिए ।

सहकारी ऐन २०७४ अनुसार अब निर्वाचित पदाधिकारीको समयावधि चार वर्षको हुनेछ । साझा प्रकाशनको २०७०/७१ देखि लेखा परीक्षण हुनसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर