महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन – Nepal Press
जोखिममा जनस्वास्थ्य

महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

राजनीतिक गतिविधिले घरघरमा संक्रमण फैलाउने

विराटनगर । प्रतिनिधिसभा विघटनपछि राजधानी काठमाडौंसहित देशका मुख्य शहरमा विरोध प्रदर्शन, सभा–सम्मेलन जस्ता कार्यक्रमले निरन्तरता पाइरहेको छ । नोवेल कोरोनाभाइरस (कोभिड–१९) महामारीका बेला विराटनगरका सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि सडक तताएका छन् । त्यसको असर स्वास्थ्य क्षेत्रमा परिरहेको छ ।

पार्टीका प्रदर्शन र सभा–सम्मेलनमा सामान्य स्वास्थ्य मापदण्डलाई पालना गरेको पनि पाइँदैन । सभा–सम्मेलनमा सहभागी अधिकांशले मास्कको प्रयोग पनि गरेको देखिंदैन ।

यसले धेरैजसोलाई के अब कोरोनाको संक्रमण अन्त्य भएको हो ? भन्ने प्रश्न पनि उब्जाइदिएको छ । तर जनस्वास्थ्य क्षेत्रमा काम गर्नेहरू भने यस कदमलाई आत्मघाती मान्छन् ।

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा राजनीतिक दलको यो कदमलाई कोरोनाभाइरसभन्दा खतरनाक मान्छन् । भन्छन्, ‘जे भइरहेको छ, गलत भइरहेको छ । यसले भयानक असर पार्न सक्छ ।’

उनी पछिल्लो समय कोरोनाभाइरस सुषुप्त अवस्थामा देखिए पनि यसको संक्रमण भने अन्त्य भइनसकेको बताउँछन् ।

मानिसहरू विरोध प्रदर्शन र सभा–सम्मेलनमा खुला रूपमा सडकमा सहभागी भइरहेका छन् । डा. सुब्बा भने यो किसिमको व्यवहार र मनोविज्ञानमा राजनीतिक प्रभाव देख्छन् ।

नेताहरूले नै लत्तो छाडेपछि महामारी सकिएको सन्देश गएर जनता पनि गम्भीर हुन छाडे जस्तो देखिएको बताउँदै उनी भन्छन्, ‘अहिले भइरहेका राजनीतिक निर्णय र गतिविधिहरूले घरघरमा संक्रमण फैलाउने वातावरण तयार पारेको छ ।’

कोशी अस्पतालको कोरोना उपचार केन्द्रका संयोजक डा. दीपक सिग्देल कोरोनाको अन्त्य भइसकेको जस्तो गरी निष्फिक्री हिंड्ने बेला भइनसकेको बताउँछन् ।

‘संक्रमणको खतरा टरेको छैन’ डा. सिग्देल भन्छन्, ‘राजनीतिक एजेण्डाले जनस्वास्थ्यको संवेदनशीलतालाई छायाँमा पारेको देखियो । जनस्वास्थ्यको मापदण्ड पालना गर्नै छाड्नु वास्तवमै खतरनाक छ ।’

संक्रमणको अवस्थालाई हेर्ने हो भने माघको अन्तिम साता या फागुनको पहिलो हप्ताभित्र कोरोनाको दोस्रो चरण देखिन सक्ने भएकाले त्यतिखेरसम्म चाहिं यो भीडभाड कम गर्नु आवश्यक रहेको उनले बताए ।

डा. सिग्देलले दोस्रो चरणको संक्रमण नेपालमा भित्रिएको अवस्थामा त्यसका लागि आवश्यक तयारी समेत नभएकाले निकै खतरा निम्तिन सक्ने बताए ।

कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

‘सामान्य स्वास्थ्य मापदण्ड कतैबाट पनि पालना गरेको देखिएन’ डा. सिग्देलले भने, ‘यदि युरोपेली मुलुकमा जस्तै नेपालमा पनि कोरोनाको दोस्रो कहर देखिएमा हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्छ । अहिले नै यस्तो निष्फिक्री हुने अवस्था आइसकेको छैन ।’

कोभिड–१९ विरुद्ध खोप लगाउन थालेका विकसित मुलुकहरूको यो स्तरको संवेदनशीलताले महामारी मध्यान्तरमा रहेको बुझ्नुपर्ने डा. सिग्देल बताउँछन् ।

डा. सिग्देल अझै पनि लक्षण भएका शंकास्पद संक्रमितहरूको परीक्षण नभइरहेको बताउँछन् । यो अवस्थामा संक्रमण दर घटेको भन्न नसकिने उनको कथन छ । पछिल्लो समय बढेको राजनीतिक नाराजुलुस र सभाहरूको असर दुई हप्तापछि देखिने पनि उनी बताउँछन् ।

‘अहिले एकबाट अर्को समुदाय र परिवारमा भाइरस फैलिइरहेको छ’ डा. सिग्देल भन्छन्, ‘हामीले योभन्दा कठिन अवस्थाको सामना गर्नुपर्ने दिन आउन सक्छ ।’

उनी भन्छन्, ‘महामारी नियन्त्रणमा युद्धस्तरमा लाग्नुपर्ने सरकारी निकायहरू भाइरसलाई यसरी हलुका रूपमा सोचिरहेका छन् । सरकार, दल र समाजको व्यवहार उग्र छ । सार्वजनिक यातायात भरिभराउ छन्, चोकचोकमा दिनहुँ नाराजुलुस भइरहेका छन् । हात धुने, मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना हुन छाडेको छ ।’

महानगरले रोक्यो परीक्षण

विराटनगर महानगरपालिकाले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ । उसले स्वाब संकलनमा मोबाइल पीसीआर भेन र जैन भवनमा भीटीएमबाट गरिने दुवै परीक्षण बन्द गरेको हो ।

मेयर भीम पराजुली संक्रमितहरूको संख्या न्यून भएपछि कोरोना परीक्षणको काम स्थगित गरिएको बताउँछन् ।

‘पछिल्लो समय कोरोना परीक्षणका लागि आउने मानिसको संख्या ह्वातै घट्यो’ मेयर पराजुलीले भने, ‘लक्षित वर्ग नै परीक्षणको लागि आउने क्रममा कमी आएपछि अत्यधिक खर्चिलो पीसीआर परीक्षणको सेवा महानगरले हाललाई बन्द गरेको छ ।’

महानगरले संक्रमित भएर स्वाब दिने ठाउँसम्म पुग्न नसकेका अशक्त, वृद्ध र बालबालिकाका लागि मोबाइल पीसीआर भेन सञ्चालनमा ल्याएको थियो ।

त्यसैगरी विराटनगरमा कोरोनाभाइरसको संक्रमण बढेपछि जैन भवनमा गत वैशाख ५ गतेदेखि कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरूको स्वाब संकलनको व्यवस्था मिलाइएको थियो ।

गएको पुस २ गतेबाट जैन भवनबाट गर्दै आएको स्वाब संकलन कार्य पनि महानगरले रोकेको छ । विराटनगरमा हालसम्म ८ हजार ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ विरुद्ध लडाइँको अग्रपंक्तिमा रहेका चिकित्सक, भाइरोलोजिष्ट, जनस्वास्थ्यविद् सबै कोरोना महामारी होइन, त्यसको डर सकिएको बताउँछन् । उनीहरूका अनुसार नेपालमा भाइरसको डर र सावधानी उत्कर्षमा पुग्न सक्ने बताइरहेका समयमा परीक्षण अत्यन्तै कम हुने गरेको छ ।

अहिले प्रदेश–१ मा नै दैनिक दुईदेखि तीन जना संक्रमितको मृत्यु भइरहेको छ । भेन्टिलेटरमा पुग्नेको संख्यामा पनि कमी आएको छैन ।

प्रदेश–१ को सामाजिक विकास मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार अहिले तीन जना संक्रमित भेन्टिलेटर र ११ जना आईसीयूमा छन् ।

प्रदेश–१ मा ७८ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमणका कारण ४४१ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर