गंगामायाको जीवन रक्षा गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण – Nepal Press

गंगामायाको जीवन रक्षा गर्न मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । द्वन्द्वपीडितको न्यायप्राप्तिको हक सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै पछिल्लो पटक पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा बसेकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगको वागमती प्रदेश कार्यालयले अनुगमन गरेलगत्तै एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको आयोगका सह–सचिव यज्ञप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उक्त घटनाको अनुसन्धान गरी दोषीउपर फौजदारी अभियोगमा कारबाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत २३ गते नेपाल सरकारलाई सिफारिश गरेको पनि स्मरण गराएको छ ।

लामो समयदेखि किनारा नलागेको कृष्णप्रसाद अधिकारीको हत्या प्रकरण जस्ता सशस्त्र द्वन्द्वकालीन मानवअधिकार हनन्का घटनाको सम्बन्धमा जतिसक्दो चाँडो छिनोफानो गरे मात्र पीडितको न्यायप्राप्तिको अधिकार समयमै सुनिश्चित हुनसक्ने आयोगको ठहर छ ।

यस सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयले उहाँको जीवनरक्षाको लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ ।
गंगामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षाको लागि तत्काल प्रभावकारी कदम चाल्न र यसअघि सरकारले गरेका प्रतिबद्धता समेत पालना गर्न आयोगले विज्ञप्तिमार्फत ध्यानाकर्षण गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर