तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी – Nepal Press

तत्काल फिल्म हल नखोल्न विज्ञको सुझाव, दोस्रो तरंगको चेतावनी

तत्काल फिल्म हल र विद्यालय नखोल्न विज्ञले सुझाव दिएका छन् । नयाँ प्रजातिको कोरोनाभाइरस छिमेकी देशमा देखिएको र संक्रमणको जोखिम नघटेकाले तत्काल हल खोल्दा दोस्रो तरंग आउन सक्ने चेतावनी उनीहरुको छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले फिल्म हल खोल्न मन्त्रिपरिषद्मा सिफारिस गरेपछि विज्ञले तत्काल हल खोल्न जोखिमपूर्ण हुने चेतावनी दिएका हुन् । राजनीतिक दलको जुलुस, क्लब र बजारमा भएको भीडलाई पनि नियन्त्रण गर्न उनीहरुको सुझाव छ ।

तर, सीसीएमसी प्रवक्ता महेन्द्रप्रसाद गुरागाइँले चाहिँ फिल्म हल र स्कुल हल खोल्ने निर्णय नभैसकेको बताए । ‘हामीले कुनै क्षेत्र खोल्ने निर्णय गरेका छैनौं तर, खोल्ने वा बन्दै गर्ने भन्नेबारे मन्त्रिपरिषद्मा छलफल गराउने कुरा भएको छ’ उनले भने, ‘संक्रमण संख्या घटेकाले हामीले खोल्नुपर्छ भनेर मन्त्रिपरिषद्मा छलफलका लागि लैजान लागेका हौं ।’

जनस्वास्थ्यविद्ले चाहिँ सबै क्षेत्र खुलाउने सरकारी तयारीमा प्रश्न गर्दै त्यसो नगर्न सुझाएका छन् । जनस्वास्थ्यविद् डा. केशव देउवाले ठूलो भीडभाड नगर्न भन्ने मान्छेले नै सामाजिक दूरी पालना नगरेको बताए । टेकु अस्पताल प्रमुख डा. सागर राजभण्डारीले पनि संक्रमण घटेजस्तो देखिएपनि जोखिम चाहिँ नघटेको बताए ।

नयाँ प्रजातिको भाइरस पुरानो भन्दा खतरनाक र संक्रमित रहेको भन्दै उनले सरकारी अधिकारीले सचेततापूर्वक नियम लागु गर्नुपर्ने बताए । डा. देउवाले चाहिँ देश कोरोनाभाइरस मुक्त नभैसकेकाले यसलाई हल्कारुपमा नलिन आग्रह गरे । सरकारले आधिकारिकरुपमा निर्णय नभैसकेपनि व्यवसायीले एकपक्षीय रुपमा हल संचालनमा ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर