‘पर्यटन व्यवसायलाई राहत प्याकेज कागजमै सीमित भयो, म दिक्क भएँ’ – Nepal Press
नेपाल टक

‘पर्यटन व्यवसायलाई राहत प्याकेज कागजमै सीमित भयो, म दिक्क भएँ’

डा.धनन्जय रेग्मीको लागि नेपाल पर्यटन वोर्डको कार्यकारी निर्देशक (सिइओ) बन्ने समय भूतले खाजा खाने बेलाजस्तै पर्‍यो । भ्रमण वर्ष २०२० सफल पार्ने महत्वाकांक्षी योजना सहित दश जना प्रतिस्पर्धीलाई पछि पारेर सिइओ बनेका रेग्मी जिम्मेवारीमा आए लगत्तै विश्व कोभिड महामारीको चपेटामा परिहाल्यो ।

कोभिडले संसारको अर्थतन्त्र धाराशायी बनयो त्यसमा पनि पर्यटन त चौपटनै बन्यो । वर्षेनी १२ लाख पर्यटक नेपाल आउथे,अहिले त्यो संख्या सून्यमा छ र यो क्रम अझै केही समय कायम रहने निश्चित छ । रेग्मी धराशायी भएको पर्यटन उद्योगलाई उठाउने र आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने योजनामा छन् तर सरकारको सहयोबिना सम्भव छैन ।

उनलाई नियुक्ति गर्ने पर्यटनमन्त्री योगेश भट्टराई सरकार छाडेर सडकमा पुगे पनि नयाँ पर्यटनमन्त्री भानुभक्त ढकालसँग रेग्मीका अपेक्षा धेरै छन् । योगेश र भानुभक्त एउटै पुस्ताका र एउटै राजनीतिक विरासत बोकेका नेता भएकाले पनि नयाँ पर्यटनमन्त्रीको साथ लिएर पर्यटन उद्योगलाई एकपटक फेरि माथि उठाउने उनको प्रयास देखिन्छ । प्रस्तुत छ,पर्यटन वोर्डका सिइओ रेग्मीसँग नेपाल प्रेसकी पवित्रा ढकालले गरेको कुराकानी नेपाल टकमा ।

कोभिड–१९ को महामारीका कारण पर्यटन क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको अवस्था छ । यसको पुनरुत्थानका लागि पर्यटन बोर्डले अहिले के काम गरिरहेको छ ?

कोभिड–१९ का कारण पर्यटन व्यवसाय शून्यमा झरेको छ । शून्यमा झरेको पर्यटन व्यवसायलार्ई कसरी जोगाउने भन्ने कुरामा बोर्डको ध्यान केन्द्रित छ । अहिलेको अवस्थामा पर्यटन व्यवसायलार्ई जोगाउन हामीसँग कुनै पनि आधार छैन । यसलाई जोगाउने एक मात्र आधार भनेको नै सरकारी सहयोगको अपेक्षा गर्नु हो ।

कोभिडका कारण विदेशी पर्यटकको आगमन केही वर्ष नहुने निश्चित छ । त्यसैले अहिले नेपालको पर्यटन व्यवसायलाई जोगाउने हो भने आन्तरिक पर्यटन प्रवर्धन नै हो ।

पर्यटन व्यवसाय पुनरुत्थान गर्नका लागि ठूलो कोषको आवश्यकता छ । साथै सरकारले व्यवसायीलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्छ । पर्यटन व्यवसायीलार्ई सहुलियत कर्जादेखि लिएर कोषको स्थापना गर्ने कुरा सरकारले बारम्बार गर्दै आएको छ तर अहिलेसम्म कार्यान्वयन भएको छैन । कागजमा मात्र भएको आश्वासनले के गर्ने ? त्यसैले अहिले सरकारको आशा गर्ने अवस्था छैन । यसका लागि पर्यटन व्यवसायी नै एकजुट भएर अगाडि बढ्नुपर्नेछ । अहिले पर्यटन बोर्ड र निजी क्षेत्र मिलेर कसरी पर्यटन व्यवसायलाई उठाउन सकिन्छ भनेर विभिन्न कार्य गर्दै आएका छौं ।

सरकारले अहिले पनि धेरै पर्यटन व्यवसायलाई संचालन गर्न दिएको छैन । विदेशी पर्यटक आउनलाई पनि ती व्यवसाय संचालनमा आउनुपर्छ । व्यवसाय खोलेका म्यासेज गएपछि पो पर्यटक आउँछन् । व्यवसाय खोल्दै नखोलेपछि कसरी पर्यटक आउँछन् ?

यसैले अहिले हामीले पर्यटन व्यवसाय कसरी अगाडि बढाउन सकिन्छ भनेर कार्यविधि बनाएर मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएका छौं । यसमा र्‍याफ्टिङ कसरी गर्ने, हाई माउन्टेन लज कसरी चलाउने, रात्रिकालीन व्यवसाय कसरी संचालन गर्ने, स्पा कसरी चलाउनेलगायतका धरै कुरा यसमा छन् । त्यस्तै कोभिड–१९ को समयमा कसरी सुरक्षाका मापदण्ड अपनाएर ती व्यवसाय संचालन गर्न सकिन्छ भनेर सरकारलाई सुझाव पनि दिएका छौं ।

कोभिडका कारण विदेशी पर्यटकको आगमन केही वर्ष नहुने निश्चित छ । त्यसैले अहिले नेपालको पर्यटन व्यवसायलाई जोगाउने हो भने आन्तरिक पर्यटन प्रवर्धन नै हो । यसले पनि आन्तरिक पर्यटन प्रवर्धन गर्नुको विकल्प हामीसँग छैन । पर्यटन बोर्डले अहिले सबै ध्यान आन्तरिक पर्यटन प्रवर्धनमा नै लगाइरहेको छ ।

यसका लागि पर्यटन बोर्डले स्ट्रिट फेस्टिभल, विभिन्न ट्रिप, एकठाउँको पर्यटकलार्ई अर्को ठाउँमा भ्रमण गराउने तथा प्रचारप्रसारका काम गरिरहेको छ । अहिलेको हाम्रो जोड नै आन्तरिक पर्यटन बढाउने हो । यसका लागि नै पर्यटन बोर्ड व्यस्त छ ।

आन्तरिक पर्यटनलार्ई प्रवर्धन गर्ने कुरा गरिरहँदा कोरोना महामारी समाप्त भएको छैन । विज्ञहरू कोरोनाको नयाँ रूप आएको छ भन्छन् । आधा विश्व अहिले पनि लकडाउनमा छ । के यस्तो परिस्थितिका बीचमा आन्तरिक पर्यटक घुम्न बाहिर निस्केलान् ?

नेपालमा कोरोना महामारी सकिएको छैन यो सर्वविदित कुरा हो । तर, हामीले अहिले कोभिड–१९ का लागि अपनाउनुपर्ने सबै सुरक्षाका मापदण्ड अपनाएर बाहिर ढुक्कले निस्कन सक्छौं । शहर–गाउँ अहिले पनि कहाँ बन्द छ र ? आन्तरिक पर्यटन प्रवर्धनका लागि अहिले पनि पर्यटन बोर्डका पदाधिकारी विभिन्न ठाउँमा घुमिरहेका छौं । सुरक्षाको खतरा कहीं पनि छैन । तर, सुरक्षामा अपनाउनुपर्ने सबै प्रोटोकल अपनाउनुपर्‍यो । सबै ठाउँमा सुरक्षाका मापदण्ड अपनाएर होटल तथा रेस्टुरेन्ट खुलेका छन् ।

वास्तवमा देश घुम्न चाहनेका लागि यो सबैभन्दा उत्तम समय हो । किनभने अहिले पर्यटक स्थलहरू पहिलाको जस्तो भीडभाडयुक्त छैनन् । आनन्दले घुम्न सक्नुहुन्छ । त्यस्तै; होटल, रेस्टुराहरूले दिने सुविधा आधा सस्तो भएको छ । जहाज तथा सवारी साधनको टिकट पनि सस्तोे छ । यो वेलामा नघुमे कहिले घुम्ने ? आनन्दले बाहिर निस्कनुहोस् र देश घुम्नुहोस् । परिवारसँग घुम्ने यो उपयुक्त समय हो ।

नेपालमा आन्तरिक पर्यटकको संख्या कम छैन । किनभने विगतका दिनमा नेपाल बाहिर गएर घुम्नेको संख्या १२ लाखको हाराहारीमा रहेको देखिन्छ । त्यस्तै १२ लाखकै हाराहारीमा विदेशी पर्यटक आएका थिए । यो बाहिर गएर घुम्ने पर्यटकलार्ई आन्तरिक रूपमा घुमाउन सकियो भने पनि अहिलेको परिस्थितिमा पर्यटन व्यवसायलाई माथि उठाउन सकिन्छ ।

धरासायी बनेको पर्यटन व्यवसायलार्ई पुनरुत्थान गर्न सरकारबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

वास्तवमा भन्नुहुन्छ भने सरकारले अहिले केही सहयोग गरेको छैन । किनभने सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्नेमा पर्यटन व्यवसाय दोस्रो स्थानमा रहेको छ । तर आज पर्यटन व्यवसाय नै उठ्नै नसक्ने गरी पछारिएको छ । यसलार्ई जसरी भए पनि उठाउनु छ । अत्यन्त दयनीय अवस्थामा गुज्रिएको पर्यटन उद्योगलार्ई सरकारले छुट्टै राहतको प्याकेज ल्याउनुपर्ने हो । खोइ राहत प्याकेज ?

राष्ट्र बैंकले ५ प्रतिशतमा पर्यटन व्यवसायीलार्ई दिने भनेको ऋण अझै दिएको छैन । व्यवसाय ठप्प भएको नौ महिना भइसक्यो अहिले पनि व्यवसायी महँगो व्याज तिर्न बाध्य छन् ।

विदेशी पर्यटक नआउँदासम्म व्यवसायीले कसरी पर्यटन व्यवसाय धान्छन् भन्ने सरकारलार्ई कुनै चिन्ता छैन । कैयौंको रोजगारी गुमेको छ । त्यसले लाखौंलार्ई असर परेको छ । पर्यटन क्षेत्रका दक्ष व्यवसायी तथा कामदार पलायन भएका छन् । अहिले पर्यटन व्यवसायीलाई वास्तवमा सरकार छ कि छैन भन्ने नै द्विविधा छ ।

सरकारको बुझाइ निजी क्षेत्रबाट कर उठाउने भन्ने मात्र छ । निजी क्षेत्रका समस्यासँग सरकार परिचित छैन । पर्यटन क्षेत्रले मात्र वर्षमा ७७ अर्ब विदेशी मुद्रा आर्जन गर्छ । यसको पुनरुत्थानका लागि सरकारले अहिले ५० अर्ब खर्च गर्न सक्दैन ?

निजी क्षेत्रले दुःख गरेर पर्यटन व्यवसायलार्ई यहाँसम्म ल्याए । सरकारले पर्यटन क्षेत्रबाट लिइरहेको छ तर, दिने चाहिं काम गर्दैन । सरकारले यसरी नै पर्यटन क्षेत्रलार्ई बेवास्ता गर्ने हो भने चाँडै नै पर्यटन व्यवसायीले आन्दोलन गर्नुको विकल्प छैन ।

वर्षमा अर्बौं विदेशी रुपैयाँ भित्र्याउने पर्यटन क्षेत्रकै विकासका लागि चाहिं सरकारले कसरी खर्च गरेको छ ?

सरकारले पैसा त खर्च गर्छ तर त्यो पैसा खर्च कहाँ भइरहेको छ भन्ने हो । पर्यटन क्षेत्रमा हेर्नुहुन्छ भने अहिले जथाभावी रूपमा पैसा खर्च गरिएको छ । उपलब्धि हुने ठाउँमा सरकारले एक पैसा पनि खर्च गरेको छैन ।

हेर्नुस् ग्रेटर हिमालयनको नाममा अर्ब रुपैयाँ भन्दा बढी खर्च भएको छ । यहाँ भएको खर्चको लेखाजोखा छैन । ग्रेटर हिमालयनमा गरेको त्यत्रो खर्चले के उपलब्धि दियो ? एक अर्ब भएको भए त नयाँ गन्तव्य सृजना हुन्थ्यो ।

तर, हामीसँग अन्तर्राष्ट्रिय जगतमा बेच्ने कुरा ६०/७० वर्ष अघिकै त्यही एउटा हिमाल र लुम्बिनी, चितवन, पोखरालगायतका क्षेत्र छन् । यी एउटै ठाउँको विश्वसामु कतिपटक प्रचार गर्ने ? अब नयाँ गन्तव्य खोज्नु पर्दैन ? हामीसँग त पर्यटकीय सम्भावना बोकेका कैयौं नयाँ ठाउँ छन्, खै ती गन्तव्य खोजेको ? नेपालमा साँच्चै बेच्नुपर्ने र आजसम्म नबेचेको कुरा नेपालको सांस्कृतिक, प्राकृतिक विविधता हो ।

सरकारको अहिलेको काम भनेको एउटा गाउँमा सानो मन्दिर बनाउने । पाटी, पौवामा खर्च गर्ने, साना पुलपुलेसा बनाउने काममा खर्च गर्ने । यस्तो परिपाटीले पर्यटनको विकास हुन्छ ? वास्तवमा यहाँ टुरिजम प्रोडक्ट भनेको के हो भन्ने नै धेरै मानिसले बुझेकै छैनन् ।

यो वर्षबाट हामीले स्पष्ट भिजन बोकेर अगाडि बढेका छौं । कुन ठाउँमा के विकास गर्ने भन्ने कुरामा हामी प्रष्ट छौं । अहिले हामीले हिल स्टेशनलाई ‘ल्यान्डिङ पुलिङ’ गर्ने काम गरेका छौं । पर्यटकीय गन्तव्यहरूका सडक, बाटाघाटा, पुलपुलेसा, पानी बिजुली आदि सरकारले बनाउने र यसमा निजी क्षेत्रले लगानी गर्ने वातावरण बनाउँदैछौैं । हामीले अहिलेसम्म पर्यटन विकासका लागि भिजनमा काम गरेका छैनाैं । जुनचाहिं अहिलेको सबैभन्दा कमजोरी पक्ष हो । हामी भिजन लिएर अगाडि बढेका छौं ।

अर्को कुरा पनि सुन्नुहोस् । सरकारले भिजन बनाएर खर्च गरेकै छैन । जहाँ मन लाग्यो त्यहाँ खर्च गरिन्छ । भिजनमा काम नै हुँदैन । यहाँ अर्को पनि समस्या छ । पर्यटन बोर्डले भिजन बनाउला तर, मन्त्रालयमा महिना–महिना दिनमा पदाधिकारी परिवर्तन हुन्छन् । महिना–महिनामा फेरिने कर्मचारीबाट के काम हुन सक्छ ?

म बोर्डमा आएपछि नै दुई जना सचिव फेरिइसके । अहिले मन्त्रालयमा तीन महिना पुरानो सह–सचिव छन् । यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ । म त दिक्क पनि भइसकें । एउटालाई बुझायो, फेरि अर्कोलाई बुझायो । बुझाउँदा बुझाउँदै समय गइसक्छ । अनि हामीले बनाएको भिजनमा कहिले काम हुन्छ ?

केही समय अगाडि पर्यटन व्यवसायमा आवद्ध मजदूरहरूले विभिन्न माग राखेर पर्यटन बोर्डमा पत्र बुझाएका थिए । वास्तवमा के थिए मजदूरका माग र बोर्डले कसरी सम्बोधन गर्‍यो त्यसलाई ?

वास्तवमा पर्यटन बोर्ड मजदूरहरूको समस्या समाधान गर्ने संस्था होइन । तर, हिमाली क्षेत्रका पदयात्राहरूमा जाने मजदूरहरू बारम्बार दुर्घटनामा पर्ने, बिरामी हुने तथा उद्धार गर्नलाई समस्या हुने भएकाले त्यस्ता खालका जोखिमहरूलाई न्यूनीकरण गर्नका लागि ‘टीम’ कोषको स्थापना गरेका थियौं । त्यो कोषमा विदेशी पर्यटकबाट उठाएको एक हजार रुपैयाँबाट १० प्रतिशत रकम कोषमा जम्मा गर्ने गरिएको थियो । हाल त्यो कोषमा पाँच करोड रुपैयाँ जम्मा भएको छ । मजदूरले त्यो पैसा हिनामिना भयो भन्ने सोचे । र, त्यो पैसा अहिले नै मजदूरका लागि खर्च गर्नुपर्छ भने । त्यति पैसाले उनीहरूको समस्या समाधान हँुदैन । तर, उनीहरूको मागलाई बोर्डले कार्यविधि बनाएर सम्बन्धित निकायमा लगिसकेका छौं । चाँडै नै उनीहरूका समस्या समाधान हुन्छन् ।

कोभिड–१९ को समयमा अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवर्धन कसरी भइरहेको छ ?

अन्तर्राष्ट्रिय जगतमा अहिले सशरीर उपस्थित भएर प्रचार–प्रसार गर्ने अवस्था छैन । तर, पर्यटन बोर्डले डिजिटल प्रविधिबाट विश्वका विभिन्न क्षेत्रमा जनाउनुपर्ने उपस्थिति र प्रचार–प्रसारको कामलार्ई रोकेको छैन । जूम तथा सोसल मिडियाका सबै माध्यम प्रयोग गरेका छौं । भर्खरै पनि हामीले वी च्याट, टिकटक, फेसबुक, यूट्यूबलगायतका माध्यमबाट विश्वमा प्रचार–प्रसार गरेका छाैं ।

४० वर्ष भइसक्यो लुम्बिनी विकास गर्छौं भनेर मास्टर प्लान बनाएर अघि बढेको । अझैसम्म लुम्बिनी विकास गरिसकेका छैनाैं । आज यता खनेको छ, भोलि उता खनेको छ । के बेच्ने हामीले धूलो र माटो ?

तर, हामीसँग अन्तर्राष्ट्रिय जगतमा बेच्ने कुरा ६०/७० वर्ष अघिकै त्यही एउटा हिमाल र लुम्बिनी, चितवन, पोखरालगायतका क्षेत्र छन् । यी एउटै ठाउँको विश्वसामु कतिपटक प्रचार गर्ने ? अब नयाँ गन्तव्य खोज्नु पर्दैन ? हामीसँग त पर्यटकीय सम्भावना बोकेका कैयौं नयाँ ठाउँ छन्, खै ती गन्तव्य खोजेको ? नेपालमा साँच्चै बेच्नुपर्ने र आजसम्म नबेचेको कुरा नेपालको सांस्कृतिक, प्राकृतिक विविधता हो ।

अब नेपालले बेच्ने भनेको मध्यपहाडी क्षेत्र हो । यहाँका ठाउँहरूको पहिचान गरी प्रचार–प्रसार गरेर पर्यटक भित्र्याउनुपर्छ । अहिले पर्यटन बोर्डको ध्यान पनि मध्यपहाडी क्षेत्रको भू–भागमा रहेका नयाँ गन्तव्यहरूमा नै छ ।

तर, ती सम्भावना बोकेका ठाउँहरूमा पूर्वाधार निर्माण भएकै छैन । गन्तव्य खोज्ने र पूर्वधार निर्माण गर्ने कार्य पर्यटन बोर्डको होइन । यो त सरकारको दायित्व हो । यदि सरकारले काम गर्न सक्दैन भने हामीलाई देओस् न बोर्डले गर्छ यी काम । हामी बनाउन तयार छौं ।

अर्कोतिर ४० वर्ष भइसक्यो लुम्बिनी विकास गर्छौं भनेर मास्टर प्लान बनाएर अघि बढेको । अझैसम्म लुम्बिनी विकास गरिसकेका छैनाैं । आज यता खनेको छ, भोलि उता खनेको छ । के बेच्ने हामीले धूलो र माटो ?

भारतमा गयो नेपालको बारेमा खूब प्रचार-प्रसार गर्‍यो । नेपाल एकदम सुरक्षित छ घुम्न आऊ भन्यो । भारतीय पर्यटक बोकेर आएको गाडी नेपाल छिर्नासाथ पचास ठाउँमा रोकेर सोधेर हैरान बनाउँछन् । अनि कसरी आउँछन् उनीहरू । यस्तो पाराले पर्यटन व्यवसाय फस्टाउँछ ? अहिले मानिसले के हेर्न खोजेका छन्, ती चिजहरूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा थाहा पाउनुपर्छ ।

पर्यटन विकासका लागि एउटा लक्ष्य लिएर अगाडि बढ्नुपर्छ । तर, नेपालमा जे मन लाग्यो त्यही गर्ने परिपाटी छ । यस्तो भद्रगोल स्थितिले अन्तर्राष्ट्रिय जगतमा के बेच्नु हामीले ? यस्तो पाराले पर्यटन विकास हुँदैन भनेर अहिले हामीले नेपालको पर्यटनलाई सही दिशा दिने कोशिश गरेका छौं ।

कोरोनाका कारण भौतिक रूपमा हामी विदेश जानु परेको छैन । यही बेलामा पर्यटन क्षेत्रको विकासमा लागेका छौं । त्यही अनुरूप काम गरिरहेका छौं । मैले अघि पनि भनिसकें अबको नेपालको मूल पहिचान नै मध्यपहाडी भूभागका गन्तव्य हुन् । यी चिजको पहिचान गरेर सरकारले पूर्वाधार निर्माण गरोस्, अन्तर्राष्ट्रिय जगतमा हामी त्यही बेच्छौं । बेच्ने र प्रचार–प्रसार गर्ने काम पर्यटन बोर्डको हो ।

अहिले पर्यटन बोर्डको मुख्य चुनौती के हो ?

अहिले पर्यटन बोर्डको मात्र होइन पर्यटन व्यवसायकै सबैभन्दा ठूलो चुनौती नै नाजुक भएको व्यवसायलाई कसरी पुनरुत्थान गर्ने भन्ने हो ।
हिजोसम्म नेपालमा १२ लाख विदेशी पर्यटक आएकोमा अहिले त्यो संख्या शून्यमा झरेको छ । यसलाई पहिलाको अवस्थामा पुर्‍याउने भन्ने नै हो । चलिरहेको व्यवसायलाई माथि लैजान कठिन छैन तर, धरासायी बनेको व्यवसायलाई माथि पुर्‍याउन निकै कठिन हुन्छ । अर्को चुनौती भनेको संसारभर अहिले सबैले पर्यटक खोजिरहेका छन् ।

त्यो बजारमा प्रतिस्पर्धा गरेर अरूको भन्दा हाम्रो गन्तव्य हाम्रो छ भनेर पर्यटक बोलाउनु छ । हिजो पर्यटन क्षेत्र मजबूत थियो आज एक रुपैयाँ पनि छैन । पर्यटनमा भएका दक्ष जनशक्ति पलायन भएका छन् । हिजो हामीसँगै काम गरेका गाइडसाथीहरू आज पेन्टरको काम गरिरहेका छन् । हामीले दक्ष जनशक्ति गुमाइरहेका छौं । यस्तो अवस्थामा बोर्डमाथि ठूलो चुनौती थपिएको छ । यो चुनौतीलाई चिर्न हाम्रो मात्र कार्यले हुँदैन यसमा पर्यटन मन्त्रालय, सरकारको नीति, मन्त्रालयका सचिव, बोर्डका सीईओ तथा निजी व्यवसायीले मिलेर अगाडि बढ्नुपर्छ ।

एउटा पर्यटन मन्त्री भएको बेलामा आएर अर्को पर्यटन मन्त्रीसँग काम गर्नुपर्दा तपाईंलाई आगामी दिन कत्तिको सजिलो होला ?

अहिले नयाँ मन्त्री आउनुभएको छ । उहाँसँग काम गर्न समस्या होला जस्तो मलाई लाग्दैन । बोर्डले के काम गरिरहेको छ त्यसका बारेमा मन्त्रीज्यूलाई जानकारी दिइसकेको छु । उहाँले पनि राम्रो ढंगले ती कुरालाई मनन् गर्नुभएको छ । पर्यटन क्षेत्रलाई अगाडि बढाउन आफूले सकेको काम गर्ने बताउनुभएको छ । यसले असहज स्थिति पैदा नहोला ।

नेपाल पर्यटन बोर्डका पदाधिकारीलाई बारम्बार पैसाको अनियमितता गरेको आरोप लागिरहन्छ । यसमा तपाईंको धारणा के छ ?

पर्यटन बोर्डमा भएको भ्रष्टाचारको बारेमा मैले पनि सुनेको छु । म आउने वित्तिकै पनि अनियमितताको बारेमा मलाई जानकारी गराइएको थियो । म पारदर्शितामा विश्वास गर्छु । यो संस्था पनि पारदर्शी हुनुपर्छ भनेर तीन वर्षदेखि रोकिएको आन्तरिक लेखा परीक्षण गराएँ । तीन वर्षदेखि बोर्डको आन्तरिक लेखा परीक्षण भएको रहेनछ । बोर्डको आन्तरिक लेखा परीक्षण गरेर महालेखा परीक्षक (मलेप) लाई बोर्डमा बोलाएको सात महिना भइसक्यो अझैसम्म आएको छैन ।

आन्तरिक परीक्षक नभएकाले बोर्डमा भ्रष्टाचार भयो भन्ने कुरा होला । तर, यो प्रमाणित हुनुपर्‍यो नि ! मलेप आएर त्यसको निरीक्षण गर्नुपर्‍यो । कोही त्यसमा दोषी ठहरिए ती व्यक्तिलाई कारबाही हुनुपर्‍यो । त्यसै संस्थालाई बद्नाम गर्नु भएन नि !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर