देशभर ३० हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी – Nepal Press

देशभर ३० हजार सहकारी, ८८ हजारलाई प्रत्यक्ष रोजगारी

बागमतीमा सबैभन्दा धेरै सहकारी,पुरुष भन्दा महिलाको लगानी बढी

काठमाडौं । पछिल्लो समय देशैभर सहकारी संस्थाहरु खुल्ने क्रम बढ्दो छ । हाल नेपालमा झण्डै ३० हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी विभागले २०७७ साउनदेखि कात्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा गरेको अध्ययन अनुसार हाल मुलुकमा २९ हजार ८८७ वटा सहकारी छन् ।

२९ हजार ८८६ सहकारीमध्ये संघीय सरकार अन्तर्गत १२५,  प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय तहमा २३ हजार ७५९ सहकारी संस्था रहेका छन् ।

यसैगरी सहकारी संघसंस्थामा ७३ लाख ७ हजार ४६२ जना सदस्य आवद्ध भएका छन् । उक्त तथ्याङ्क अनुसार सहकारी संस्थामा आवद्ध भएका सदस्यमध्ये महिला सदस्य ५६ प्रतिशत र ४४ प्रतिशत पुरुष सदस्य रहेका छन् । पुरुष सदस्य संख्याको तुलनामा महिला सदस्य १२ प्रतिशत बढी छन् ।

सञ्चालनमा रहेको झण्डै ३० हजार सहकारी संस्थामा ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८०३ कुल शेयर पूँजी रहेको छ भने ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ बचत संकलन भएको छ । त्यस्तै ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३८१ कुल ऋण लगानी रहेको सहकारी विभागले जनाएको छ ।

सहकारी विभागले पहिलो पटक तीन वटै तहको सरकारको विभाजन भएपश्चात सहकारीको एकीकृत विवरण तयार पारिएको सहकारी विभागले जनाएको छ ।

 

वागमती प्रदेशमा सबैभन्दा बढी सहकारी संस्था

यसैगरी ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा सहकारी संस्थाहरु छन् । हाल वागमती प्रदेशमा १० हजार ४१८ सहकारी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा छन् ।

हाल कर्णाली प्रदेशमा १ हजार ९६७ वटा सहकारी सञ्चालनमा रहेका छन् । यस्तै प्रदेश-१ मा ४ हजार ७३७, प्रदेश-२ मा ४ हजार १५३, गण्डकी प्रदेशमा २ हजार ६६१, लुम्बिनी प्रदेशमा ३ हजार ७५५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५० सहकारी संस्था सञ्चालनमा रहेको विभागका उप-रजिस्ट्रार सुरेन्द्रराज पौडेलले बताए ।

सबैभन्दा बढी वागमतीमा रोजगारी

२९ हजार भन्दा बढी सहकारीमा ८८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारी संस्थामा प्रदेश १ मा सहकारी मार्फत २० हजार ५८५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने, प्रदेश २ मा १० हजार ८४३ जनाले रोजगारी पाएका छन् ।

यस्तै सबैभन्दा बढी वागमती प्रदेशमा रहेका सहकारी संस्थामा ३३ हजार ८९२ जना रोजगार छन् । गण्डकी प्रदेशका ७ हजार ६३८ जनाले सहकारी मार्फत रोजगारी जोडिएका छन् । यस्तै लुम्बिनी प्रदेशमा ६ हजार ९८९ जना, कर्णाली प्रदेशका ४ हजार ५३४ र सुदूरप्रश्चिम प्रदेशका २ हजार ८१५ जनाले सहकारीमार्फत रोजगारी पाएका छन् ।

सहकारीको सदस्य पुरुष भन्दा महिलाकाे स‌ंख्या धेरै 

७ वटा प्रदेश मध्ये प्रदेश-१, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिलाहरु बढी सहकारीमा आवद्ध भएका छन् ।

सहकारी विभागका अनुसार प्रदेश-१ मा ९ लाख ३५ हजार ७०० सदस्य मध्ये ५ लाख २४९ जना महिला र ४ लाख ३५ हजार ४५२ जना पुरुष सदस्य छन् ।

यस्तै प्रदेश-२ मा ५ लाख ५५ हजार १९७ जना कुल सदस्य मध्ये २ लाख ५२ हजार ११२ महिला सदस्य र ३ लाख ३ हजार ८५ पुरुष रहेको छ । यस प्रदेशमा महिलाभन्दा बढी पुरुष सदस्य सहकारीमा आवद्ध रहेका छन् ।

वागमती प्रदेशमा २७ लाख १७ हजार ४६९ जना सदस्य मध्ये १४ लाख ५७ हजार २०२ महिला र १२ लाख ५० हजार २६७ जना पुरुष सहकारीको सदस्य छन् ।

गण्डकी प्रदेशमा ११ लाख १६ हजार ६३२ सदस्य मध्ये ५ लाख ४२ हजार १३० महिला र ४ लाख ७४ हजार ५०२ जना पुरुष सहकारीको सदस्य छन् ।

यस्तै लुम्बिनी प्रदेशमा ८ लाख ९८ हजार ६११ जना कुल सदस्य छन् । जसमध्ये ५ लाख ७६ हजार ३१२ महिला र ३२ लाख २२ हजार २९९ जना पुरुष सहकारीमा सदस्य छन् । यस प्रदेशमा सबैभन्दा बढी पुरुष सहकारीमा सदस्य रहेका छन् ।

यस्तै कर्णाली प्रदेशमा ४ लाख ४ हजार ९५६ जना सदस्य मध्ये २ लाख ७२ हजार ३३ जना महिला सदस्य सहभागी छन् भने १ लाख ३२ हजार ९२३ जना पुरुष रहेका छन् ।

यसैगरी ५ लाख ४२ हजार ९८९ जना कुल सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा ३ लाख १९ हजार १०० महिला र २ लाख २३ हजार ८८९ जना पुरुष सहकारीमा आवद्ध भएको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार देशैभरको सहकारीमा कुल सदस्य, कुल सदस्य संख्या, कुल शेयर पूँजी, कुल बचत संकलन, कुल ऋण लगानी तथा रोजगारी सृजनालगायतका सूचकमा भने वृद्धि भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर