प्रदेश २ मा मुख्य नेतृत्व ओलीतिर, नेता तान्न दुवै पक्ष सक्रिय – Nepal Press

प्रदेश २ मा मुख्य नेतृत्व ओलीतिर, नेता तान्न दुवै पक्ष सक्रिय

जनकपुरधाम। संसद विघटनपछि विभाजित नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षका केन्द्रीय नेता तथा मन्त्री र पूर्वमन्त्रीहरु प्रदेश २ का जिल्लामा केन्द्रित भएका छन्। केही दिनदेखि दुवै पक्षका नेता र कार्यकर्ता तानातानमा लागेको देखिन्छ।

एकातिर प्रचण्ड–माधव नेपालले दाबी गरेको नेकपाका केन्द्रीय नेता आ–आफ्नो जिल्ला आएर नेता कार्यकर्ता तान्न र आन्दोलनको रणनीति बनाउन व्यस्त छन् भने अर्कोतिर प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पक्षले दाबी गरेको नेताहरु संसद विघटन संवैधानिक रहेको पुष्टि गर्न सभा सम्मेलनमा केन्द्रित बनेका छन्।

जनयुद्ध लडेर राजनीतिमा उदाएका पूर्व माओवादी नेता प्रभु साह ओली पक्षमा लागेर शहरी विकास मन्त्री भए। शपथग्रहण गरेको एकसाता नहुँदै उनी गृहजिल्ला रौतहट आइपुगे। उनीले पूर्वसांसद समेत रहेका जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बबन सिंहलाई पार्टीमा प्रवेश गराए। त्यसपछि आइतबार मात्रै महोत्तरी पुगेर पार्टीको सभामा सहभागी भए। साेमबार उनीसहितका नेताहरु सिरहाको सभामा सहभागी भए।

सिरहा जिल्ला कमिटीद्वारा आयोजित सभाको प्रमुख अतिथि थिए– नेता ईश्वर पोखरेल। सो सभामा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र पूर्वमन्त्री रघुवीर महासेठ समेत सहभागी भए। पोखरेलले मैथिली भाषामा सम्बोधन गर्दै अधिकांश समय संसद विघटन गर्नुपर्नाका कारण बताउनमा खर्चिए। उनले प्रधानमन्त्रीबाट मात्र नभएर पार्टी अध्यक्षबाट समेत हटाउने चलखेलमा प्रचण्ड र माधव नेपाल लागेपछि केपी ओलीले जनताको जनादेश लिन संसद विघटन गरेको औंल्याए।

पूर्वमन्त्री रघुवीर महासेठले प्रधानमन्त्री ओलीले संघीयता खारेज नगर्ने दाबी गरे । उनले चुनावको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्न उपस्थित कार्यकर्तालाई निर्देशन समेत दिए।

यस्तै मन्त्री प्रभु साह भने प्रचण्डमाथि खनिए। भने, ‘प्रचण्डले मधेशसँग लभ पर्यो भने । तर मधेशका लागि के गरे ? हामी नभएको भए प्रचण्डले त मधेश शब्द पनि बिर्सिसकेका हुन्थे ।’ पदलोलुपताकै कारण अहिले प्रचण्डको अगाडि र पछाडि विगतका कुनै नेता नरहेको उनको भनाइ थियो ।

ओली नेतृत्वको नेकपाले भोलि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। भोलि मध्यान्ह रेल्वे स्टेशनबाट मन्त्री पोखरेलको नेतृत्वमा प्रदर्शन शुरु गरी पार्टी कार्यालयमा पुगेर सभा गर्ने बताइएको छ। प्रदर्शनमा ओली पक्षका पूर्वमन्त्री रघुवीर महासेठ, मन्त्रीद्वय प्रभु साह र लीलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहने एक नेताले बताए।

यता, प्रचण्ड–माधव पक्षका नेताहरु गाउँगाउँ पुगेर प्रधानमन्त्री ओलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनको रणनीति बनाउन व्यस्त छन्। पूर्वमन्त्री रामचन्द्र झा धनुषामा खटेका छन्। सिरहामा पूर्वमन्त्री विश्वनाथ साह खटेका हुन्। उनकै संयोजकत्वमा ५०१ सदस्यीय संघर्ष समिति समेत बनाइएको छ। यस्तै प्रदेश २ का आठै जिल्लामा प्रदेश सांसद र केन्द्रीय सदस्यहरुलाई परिचालन गरिएको छ।

प्रदेश २ का ३२ सांसदमध्ये २० सांसद आफ्नो पक्षमा रहेको दाबी प्रचण्ड–माधव पक्षको छ। नेकपा (ओली पक्ष) का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउन उपनेता रामकुमार यादव समक्ष १७ सांसदकाे हस्ताक्षर समेत बुझाइसकेको छ। दुई चार दिनभित्रै संसदीय दलको नेताबाट मण्डललाई हटाइसक्ने प्रचण्ड–माधव पक्षका प्रदेश सांसद शत्रुधन महतोले दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर