बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा खोप लगाउन शुरु – Nepal Press

बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा खोप लगाउन शुरु

बेइजिङ । चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ ।

खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।

दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । खोप लिनेहरुमा सामुदायिक कार्यकर्ता र बस ड्राइभरहरु पनि रहेका छन् ।

स्वास्थ्य अधिकारीहरुले चिनियाँ फर्मास्यूटिकल कम्पनी सिनोफार्मले विकास गरेको खोपलाई सःशर्त स्वीकृति प्रदान गरिसकेको छ । यस खोपको प्रभावकारिता झण्डै ७९ प्रतिशत रहेको सिनोफार्मले जनाएको छ ।

बेइजिङमा ठूलो संख्यामा मानिसहरु स्थानीय अस्पतालहरु र सामुदायिक स्वास्थ्य केन्द्रहरुमा खोपका लागि भेला भएको दृश्य सरकारी टेलिभिजन सिसिटिभीले प्रशारण गरेको छ । स्वास्थ्य अधिकारीहरुले जिम र कारखानाका खाली भवनहरुलाई पनि खोपका लागि प्रयोग गरिएको बताएका छन् ।

चीनले गत वर्ष सन् २०२० मा आपतकालीन प्रयोग अन्तर्गत करिब ४५ लाख व्यक्तिलाई खोप दिइसकेको छ जसमा अधिकांश स्वास्थ्यकर्मी र विदेशमा काम गर्ने व्यक्तिहरु रहेका छन् ।

अहिले चीनले भाइरसबाट सर्वाधिक जोखिममा रहेका समूहलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने तयारी शुरु गरेको छ ।

यसैबीच, बेलायतले पनि सोमबारदेखि अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्यूटिकल्स कम्पनीले तयार पारेको खोप दिने तयारी गरेको छ ।

अस्ट्राजेनिकाको खोपलाई स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश हो ।

निकै सस्तो र वितरणमा निकै सहज मानिएको यो खोप एक जना ८२ वर्षीय बेलायती नागरिक ब्रायन पिकरलाई चर्चिल अस्पतालमा प्रदान गरेर खोप अभियान शुरु गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर