कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ? – Nepal Press

कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

नेपाल र चीन सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरे । हलिउड सहित विश्व फिल्मका ठूला नामहरु ८,८४८ मिटर उचाइको यो हिमालमा फिल्म सुटिङका लागि लालयित हुने गर्छन् । हलिउडको थ्रीडी फिल्म ‘एभरेस्ट’ केही वर्ष पहिले छायांकन भयो । सेलेना गोमेजको मुन पिक्चर्सले एउटा बायोपिक फिल्म एभरेस्टमा छायांकन गर्ने तयारी गरिरहेको छ ।

‘एभरेस्ट’ फिल्मको क्रु नै काठमाडौंमा आइपुगेको थियो । यस फिल्मका सिनेम्याटोग्राफर साल्भाटोर टाटिनोले सगरमाथामा फिल्मांकनलाई मृत्युसँगको पैठेजोरी भएको टिप्पणी गरेका छन् । हलिउड रिपोर्टर म्यागजिनले साल्भाटोरले एभरेस्ट कसरी खिचे भनेर संस्मरण छापेको छ ।

‘काठमाडौंमा फिल्म सुटिङ गरेर हामी लुक्ला उड्यौं । संसारको एउटा खतरनाक एयरपोर्टमध्ये एउटा’ टाटिनोले भने, ‘लुक्लामा सुट गरेर हामी डेढघण्टा टाढाको एउटा झोलुंगे पुल खिच्न पुग्यौं । त्यसपछि १२ सय फिटको नाम्चे बजार र ताङ्बोचेको एउटा मन्दिरमा खिच्यौं । अनि त्यसपछि हेलिकोप्टरबाट १५ सय फिटको उचाइमा गयौं जहाँबाट हिमाल चढ्न सकिन्छ ।’

बाल्टासार कोर्माकुरले निर्देशित फिल्मले हिमआँधीमा परेर ८ जना सगरमाथा आरोहीको मृत्यु भएको घटनालाई चित्रण गर्छ । दा भिन्ची कोड, फ्रस्ट निक्सोन, कन्कसन फिल्म समेत खिचेका टाटिनोले एरी एलेक्साको एक्सटी क्यामेराबाट फिल्म सुट गरेका थिए । एरिर फम्र्याटमा फिल्म खिचिएको थियो ।

निर्माणको काम चाहिँ निकै चुनौतिपूर्ण थियो । ‘यो शारीरिक जोखिमपूर्ण थियो । त्यहाँको मौसमसँग एकाकार नभइकन उचाइमा फिल्न खिच्नु निकै कठिन । यतिबेला सबैलाई सास फेर्न गाह्रो हुन्छ र शरिर डिहाइड्रेट हुन्छ’ सगरमाथा वरपरका अन्य हिमालमा समेत खिच्दा कठिनाइ भएको स्मरण गर्दै टाटिनो भन्छन्, ‘हामीलाई मान्छे र उपकरण ओसार्नु थियो । हामीसँग समय कम थियो । हामीसँग ७५ जना शेर्पाको टोली थियो । खच्चर र याकको क्याराभानसँगै चार ठूला उपकरण बोक्नुपर्ने थियो ।’

‘हामीलाई एउटा निश्चित थलोमा लगिएको थियो जहाँबाट उपकरण बोकेर हिँड्नुपर्ने थियो । त्यहाँबाट सगरमाथाको फिल्म सुट गर्ने थलोमा पुग्नुपर्ने । चार फिट हिउँमाथिको एउटा साँघुरो स्लोपमा रहेर खिच्नुपर्ने तरिकाले डोरीले हामीलाई बाँधिएको थियो । हिँउ तलको चट्टान चाहिँ निकै कमजोर ।’

‘त्यहाँ यस्तो समय थियो डोरीमा झुन्डिएर एउटा चट्टानबाट अर्कोमा पुग्नुपर्ने’ टाटिनो भन्छन्, ‘म केही हिउँका ठूला चट्टानमाथि चढेँ जहाँबाट गजबको दृश्य सुट गर्न सकिन्थ्यो । म क्यामेरा बोकेरै चट्टानमा उक्लिएँ र दृश्य लिएँ । कलाकारले पनि त्यसै गरे । त्यो निकै कठिन थियो र रमाइलो पनि । फिल्म सुट गर्नु अगाडि रेविज भ्याक्सिन र लेक नलाग्ने डाइमक्स औषधी लिएर सुरक्षाको तयारी थियो’ टाटिनोले सम्झिए ।

लुक्लामा एउटा लोकेसन खोजीको क्रम सम्झँदै टाटिनोले भने, ‘बेसबलको ब्याट मेरो टाउकोमा खसेजस्तै भयो । त्यस्तो किसिमले टाउको कहिल्यै दुखेको थिएन मेरो । फिल्म सुट गर्दा मैले डायमक्स औषधी लिएँ । म मौका लिन चाहन्न ।’ सगरमाथाका कतिपय दृश्य चाहिँ, खासगरि क्याम्प ३ भन्दा माथिको आइसफलका दृश्य चाहिँ १० हजार फिट उचाइको इटालीस्थित भल सेनल्समा खिचियो । अनि टीम स्टुडियोतिर लाग्यो ।

सगरमाथाको हिलारी स्टेप, क्याम्प ४ को आइसफल चाहिँ जेम्स बन्डको लन्डनस्थित पाउनउड स्टुडियोमा सीजीआइ ब्याकग्राउन्डमा खिचिएको थियो । ‘यो निकै चुनौतिपूर्ण थियो किनभने हामीले सूर्यको दृश्यलाई रि–कम्पोज गर्नुपर्ने थियो किनभने एभरेस्बाट यो दृश्य निकै चहकिलो र सुख्खा देखिन्छ’ टाटिनो भन्छन्, ‘हिलारी स्टेप, चुचुरो र आइसफलबाट देखिने सूर्यको दृश्यलाई सफ्ट बनाउनुपर्ने थियो ।’

‘९ फिट लामो र डेढ मिटर आयतनका १ लाख वाटका बत्तीलाई क्रेनबाट लतारेर लैजानुपर्ने थियो किनभने निकै गह्रौं थिए ती’ उनले सम्झिए ।

फिल्मांकनको बेला एक्सिपिडिसन गाइड रब हल (जेसन क्लार्क) आँधीले गर्दा हिमालमै अड्किएको क्षण टाटिनोले सम्झिए । हामीले गह्रुँगा प्लास्टिक जम्मा गरेर सेट बनायौं । यसको आकार नै ट्रकको आधाजस्तो थियो । अनि त्यो स्टेजलाई २८ डिग्री फरेनहाइटमा चिसायौं र वास्तविक हिउँ पनि राख्यौं । निर्देशक बाल्टासार एक्टर वास्तविकरुपमै चिसिएजस्तो देखिने तरिकाले लिन चाहन्थे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *