राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने – Nepal Press

राजधानीमा पानी पर्न थाल्यो, जाडो अझै बढ्ने

काठमाडौं । पश्चिमी वायुका कारणले राजधानी काठमाडौं उपत्यकालगायत देशैभरको मौसम बिग्रिएको छ । राजधानी उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको छ । यसले जाडो अझै बढाउने मौसमविदहरु बताउँछन् ।

नेपालमा शुक्रबारदेखि नै पश्चिमी वायु प्रवेश गरेको हाे । त्यसको न्यूनचापीय प्रणालीको प्रभवका कारण आजदेखि देशका पश्चिमी क्षेत्रसहित धेरैजसो भू–भागमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो बदलिरहने र सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी क्षेत्र तथा लुम्बिनी, वागमती र प्रदेश १ का केही क्षेत्रहरुमा हल्का वर्षा हुन सक्नेछ । रातिको समयमा पनि वर्षाको सम्भावना छ ।

‘यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ’ वरिष्ठ मौसमविद् वरुण पौडेलले नेपाल प्रेससँग भने, ‘त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

माैसमविद पाैडेलका अनुसार याे अवस्था म‌ंगलबारसम्म कायम रहनेछ । बुधबारदेखि क्रमश: पश्चिमदेखि पूर्वी क्षेत्र हुँदै वर्षा गराउने वायु बाहिरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर