नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता – Nepal Press
कांग्रेसमा समायोजन

नयाँले धेरै सदस्य माग्दा पुराना कांग्रेसलाई अल्पमतमा पर्ने चिन्ता

केन्द्रीय सदस्यले थाहै नपाई समायोजन प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले दुई वर्ष लगाएर अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दुई वर्षअघि गठित समायोजन समितिले दिएको प्रस्तावलाई पारित गरेको छ ।

प्रस्तावमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाहरुका सन्दर्भमा केन्द्रीय कार्यालयबाट भएको समायोजनलाई पार्टीको तल्लो तहबाट अनुमोदन गराउने व्यवस्था गरिएको छ । यद्यपि अधिकांश जिल्लाबाट समायोजनका सन्दर्भमा माग भएकामध्ये कतिलाई क्रियाशील सदस्यता दिने भन्नेमा प्रतिवेदन अमूर्त छ ।

कांग्रेसले २०७४ सालको आम निर्वाचन अगाडि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । त्यस्तै अखण्ड नेपाल पार्टी, नेपाल समता पार्टी, अखण्ड नेपाल (समानान्तर) लगायतका साना दलहरु कांग्रेसमा विलय भएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी , नयाँ शक्ति पार्टीलगायतबाट कांग्रेसमा सयौं नेता कार्यकर्ताहरु प्रवेश गरेका थिए ।

पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने अन्तिम म्याद डेढ महिना पनि बाँकी नरहेको अवस्थामा केन्द्रीय समितिमा समायोजन प्रतिवेदन पारित गरेको हो । २०७५ साल कात्तिक २० गतेको कांग्रेस केन्द्रीय समिति बैठकले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा.प्रकाशशरण महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेका थिए । समितिको प्रतिवेदनमा विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेका नेताहरुसँगको छलफलका आधारमा केन्द्रले एकमुष्ट क्रियाशील सदस्यता दिनसक्ने प्रस्ताव गरिएको छ । छलफलका आधारमा दिइने त्यस्तो क्रियाशील सदस्यताको संख्या कति हुने प्रतिवेदनमा उल्लेख छैन ।

अन्य पार्टीबाट कांग्रेसमा आएका अधिकांशलाई क्रियाशील सदस्यता दिंदा आफूलाई फाइदा हुने सभापति देउवा पक्षका नेताहरुको बुझाइ छ । देउवा इतर पक्ष भने समायोजनका नाममा केन्द्रबाट वितरण हुने क्रियाशील सदस्यताले आफ्नो पक्षलाई घाटा हुने बुझाइमा छ ।

उदाहरणका लागि गत निर्वाचन अगाडि माओवादीबाट कांग्रेस प्रवेश गरेका पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले सर्लाहीमा ९४७ जनालाई क्रियाशील सदस्यता दिन माग गरेका छन् ।

समायोजन समितिले ‘शम्भुलाल श्रेष्ठसँग छलफल गरी केही व्यक्तिहरुलाई केन्द्रबाट नै क्रियाशील सदस्यता प्रदान गर्ने र बाँकीको हकमा सम्बन्धित गाउँ-नगर वडा, गाउँ-नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिश र निर्णय हुने गरी जिल्ला कार्यसमितिमा पठाउने’ निर्णय गरेको छ ।

निर्णय अनुसार श्रेष्ठले केन्द्रबाट सोझै पाउने सदस्य संख्या ‘केही’ भन्नाले कति हुने निश्चित छैन । श्रेष्ठ तत्कालीन माओवादी केन्द्रबाट चुनावको मुखैमा कांग्रेस प्रवेश गरेका थिए । सर्लाहीमै राजपाका पूर्व महामन्त्री जंगीलाल राय कांग्रेस प्रवेश गरेका थिए । उनले आफ्ना १ हजार १४ जना कार्यकर्तालाई क्रियाशील सदस्यता दिन माग गरेका छन् । समितिले यस्ता सबै मागमा ‘सम्बन्धित नेतासँग छलफल गरी केही क्रियाशील सदस्यता केन्द्रबाटै दिने’ निर्णय गरेको छ ।

सर्लाहीमै कांग्रेस प्रवेश गरेका संघीय समाजवादीका नेता कृष्णदेव यादवले ४२७ जनाले क्रियाशील सदस्य पाउनुपर्ने दाबी गरेका छन् । कांग्रेसमा वडादेखि केन्द्रसम्मको नेतृत्व चयनमा क्रियाशील सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । क्रियाशील सदस्यहरुको मतदानबाट छानिने क्षेत्रीय प्रतिनिधिले क्षेत्रीय र जिल्ला कार्यसमिति चयन गर्नेछन् ।

क्षेत्रीय प्रतिनिधिबाट छानिने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि मतदान गर्ने व्यवस्था छ । यहीकारण क्रियाशील सदस्यता वितरण कांग्रेसमा सधैं पेचिलो बन्ने गरेका छ ।

अन्य पार्टीबाट कांग्रेसमा आएका अधिकांशलाई क्रियाशील सदस्यता दिंदा आफूलाई फाइदा हुने सभापति देउवा पक्षका नेताहरुको बुझाइ छ । देउवा इतर पक्ष भने समायोजनका नाममा केन्द्रबाट वितरण हुने क्रियाशील सदस्यताले आफ्नो पक्षलाई घाटा हुने बुझाइमा छ ।

समायोजन समितिले दुई वर्ष लगाएर बनाएको प्रतिवेदनउपर केन्द्रीय समितिमा कुनै छलफल भएन । अधिकांश केन्द्रीय सदस्यले त प्रतिवेदन पारित भएको नै थाहा पाएनन् । समायोजन समितिकै सदस्य महेश आचार्यले प्रतिवेदन पारित भए नभएकोबारे पदाधिकारीलाई सोध्न अनुरोध गरे ।

‘त्यस प्रतिवेदनमा केन्द्रीय समितिमा छलफल हुनुपर्छ भन्ने लागेको थियो । आज पेश भएको प्रतिवेदन पास भए नभएको पदाधिकारीलाई सोध्नुस्’, आचार्यले भने । कांग्रेसका अन्य केही सदस्यहरुले पनि प्रतिवेदनउपर छलफल समेत नहुनु गलत भएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य पार्टीबाट आएका अधिकांश केन्द्रीयस्तरका नेताहरुलाई कांग्रेसको केन्द्रीय समितिमै समायोजन गरिसकेका छन् । उनीहरुका साथमा आउने कार्यकर्ताहरुलाई सोझै क्रियाशील सदस्यता दिंदा कांग्रेसको आन्तरिक संरचनामा नवप्रवेशीहरु हावी हुनसक्ने नेताहरुले औंल्याएका छन् ।

‘हाम्रो पार्टीमा प्रवेश गरेका केही नेताले सयौंको संख्यामा क्रियाशील दाबी गरेका छन् । यदि केन्द्रले त्यहीअनुसार निर्णय गर्यो भने तल्लो तहमा पुराना कांग्रेसी नै अल्पमतमा पर्ने खतरा पनि त हुन्छ’, एक कांग्रेस नेताले संशय व्यक्त गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने प्रतिवेदनले अन्तर पार्टी समायोजनलाई नीतिगत रुपमा सम्बोधन गरेको बताउँछन् ।

‘केन्द्रीय समितिको आजको बैठकले अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुको समायोजनका सन्दर्भमा उठेका सवालहरुको नीतिगत सम्बोधन गरेको छ’, प्रवक्ता शर्माले भने । केन्द्रबाट दिइने क्रियाशील सदस्यता वस्तुनिष्ठ हुने र पार्टीको विधान पद्धतिभन्दा बाहिर नजाने शर्माको भनाइ छ ।

सम्बन्धित जिल्ला, क्षेत्र र वडाको ‘पार्टीले आफूमा समायोजन गराउँदै गर्दा आफ्नो पार्टी र समायोजन हुनेको संख्या त विचार गर्छ नि । यसमा सशंय राख्नुपर्दैन’, शर्माले भने ।

कसले कति मागे क्रियाशील ?

अभिषेकप्रताप शाह (पूर्व मधेशी जनअधिकार फोरमका नेता)– कपिलवस्तुका ८ हजार जनाको सूची बुझाइ कम्तीमा ३५०० लाई क्रियाशील दिन माग ।

रसुवा– नयाँ शक्ति पार्टीका पूर्व नेताद्वारा २५०० जनालाई क्रियाशील सदस्यता दिन माग ।

नेपाल समता पार्टी– १००० जनालाई क्रियाशील सदस्यता दिन माग ।

मोहनसिंह राठौर (पूर्व एमाले नेता)– कैलालीमा ३७१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

कर्णबहादुर बुढा (पूर्व राप्रपा नेता)– डोल्पामा १००० जनालाई क्रियाशील सदस्यता दिन माग ।

अखण्ड नेपाल पार्टी– नवलपरासीका ३६० सहित ५९६ जनालाई क्रियाशील सदस्यता दिन माग ।

अखण्ड नेपाल (समानान्तर)– ५१८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

काभ्रे – विभिन्न पार्टीबाट आएका ५४ जनालाई क्रियाशील सदस्यता दिन माग ।

दोलखा– विभिन्न पार्टीबाट आएका १२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

सिन्धुली– विभिन्न पार्टीबाट आएका ४९२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

झापा– विभिन्न पार्टीबाट आएका ४८६ जनालाई क्रियाशील सदस्यता दिन माग ।

दाङ– विभिन्न पार्टीबाट आएका २१५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

सर्लाही– शम्भुलाल श्रेष्ठ (पूर्वमाओवादी नेता) बाट ९४७, जंगीलाल राय (पूर्व राजपा नेता) बाट १०१४ जना र कृष्णदेव यादव (पूर्व संघीय समाजवादी नेता) बाट ४२७ गरी जिल्लामा २३८८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

धनुषा– नेकपा मालेबाट आएका नेता शिवचन्द्र चौधरीद्वारा २५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

सल्यान– विभिन्न पार्टीबाट आएका ६१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

सुनसरी– विभिन्न पार्टीबाट आएका २१ जनालाई क्रियाशील सदस्यता दिन माग ।

मकवानपुर– विभिन्न पार्टीबाट आएका १०५ जनालाई क्रियाशील सदस्यता दिन माग ।

तेह्रथुम– विभिन्न पार्टीबाट आएका १८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

दार्चुला– विभिन्न पार्टीबाट आएका ४६८ जनालाई क्रियाशील सदस्यता दिन माग ।

नवलपरासी– लोकतान्त्रिक फोरमबाट आएका ११२ जनालाई क्रियाशील सदस्यता दिन माग ।

सिन्धुपाल्चोक– विभिन्न पार्टीबाट आएका १५ जनालाई क्रियाशील सदस्यता दिन माग ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर