विष्णु पौडेलले भनेः पार्टीभित्रैबाट प्रहार भयो – Nepal Press

विष्णु पौडेलले भनेः पार्टीभित्रैबाट प्रहार भयो

प्रचण्डको पदलोभले पार्टी फुट्यो रायमाझी

रुपन्देही । सत्तारुढ नेकपा (ओली पक्ष)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपामाथि पार्टीभित्रैबाट धारिलो हतियार प्रहार भएको बताएका छन् ।
नेकपा रुपन्देहीको जिल्लास्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पौडेलले भने, ‘नेकपामाथि धारिलो खड्ग प्रहार गर्ने काम भएको छैन । कुनै बाहिरका व्यक्तिले होइन, पार्टीकै मानिसहरुले, पार्टीकै अध्यक्षले पार्टीको शिरमा खड्ग प्रहार गरेका छन् ।’

पदको लोभमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमति विपरीत सरकारको सफल रुपमा नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई असहयोग गरेका कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको नेता पौडेलले बताए ।
पदीय लोभका कारण प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री विरुद्ध लागेको नेता पौडेलले आरोप लगाए ।

‘प्रधानमन्त्री र अध्यक्ष पदको तलतल लागेर प्रचण्डले बाध्यतावशः सहमति गरेपनि त्यसको मसी सुक्न नपाउँदैं उहाँले प्रधानमन्त्रीविरुद्ध लागिहाल्नुहुन्छ’, उनले भने, ‘आजको समस्या सत्ता र शक्तिको लागि प्रकट भएका महत्वकांक्षले सिर्जना भएको समस्या हो । कुनै निति वा वैचारिक समस्या होइन ।’

‘राजनीतिक घटनाक्रमलाई एक÷एक गरेर हेर्ने हो भने नेपालले केपी ओलीको सरकारको तीन बर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हाँसिल भएको छ,’ उनले भने, ‘पार्टीबाट असयोग हुँदा त सरकारले यस्तो उपलब्धी हाँसिल गरेको थियो भने पार्टीको सबै हैसियतलाई सदुपयोग गर्न सकेको भए के हुन्थ्यो होला अनुमान गर्न सक्छौं ।’

प्रचण्डको पदलोभले पार्टी फुट्यो : रायमाझी

भेलामा नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री नेता टोपबहादुर रायमाझीले नेकपा छुट्टिने स्थितीमा आएपछि संकट पैदा भएको बताएका छन् । संसद विघटनको स्थितिमा पुर्‍याउने मुख्य दोषी को हो भनेर चिरफार गर्नुपर्ने बताउँदै उनले धेरै विषयमा भ्रम फैलाइएका कारण संकट उत्पन्न भएको बताएका हुन् ।

नेकपाकै प्रचण्ड–माधव समूहलाई ईङ्गीत गर्दै उनले पार्टी फुटाउनका लागि भ्रम फैलाएको बताएका हुन् ।
नेता रायमाझीले एकताताका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने र प्रचण्डले पार्टी हेर्ने गरी जिम्वेवारी बाँडफाड भएको स्मरण गर्दै उनले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्वेवारी छाडेर प्रधानमन्त्री पदमा नजर डुलाएको आरोप लगाए ।

‘पार्टी एकताका पाँच बुँदे आधार विपरित प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीका पछि लाग्नुभएको छ’ उनले भने ।
उनले चुनावमा जानुको विकल्प नभएको बताउँदैं संस्थापन पार्टी आफ्नो पक्ष रहेको संसद पुनास्थपना नहुने ठोकुवा गरे ।

नेता पौडेलले प्रधानमन्त्रिविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको ‘आधार पत्र’ भएको उनको कथन थियो ।
भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले प्रचण्ड समूहले लगाएको संगीन आरोप नै पार्टी विभाजनको मुख्य अंश भएको बताए ।

उनले भने ,‘ हामीले त्यो आरोप पत्र फिर्ता लिएर पार्टी मिलाउन बहस गर्न खोज्यौ उहाँहरु तयार नै हुनुभएन । मुख्यमन्त्री समेत रहेका पोखरेलले अब बिगतका गल्ती नदोहोरिनेगरी पार्टी सुदृढिकरण गर्न जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर