‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’ – Nepal Press

‘मंगलबारदेखि मौसम खुल्न सक्छ, हिमाली भू-भागमा हिमपात हुन्छ’

काठमाडौं । अहिले हामी जाडो सिजनमा छौं । डिसेम्बर, जनवरी, फेब्रुअरी तीन महिना जाडो माैसम नै रहन्छ ।

अहिले हामी जनवरीको सुरुआतमै छौं। त्यसो हुँदा अझै एक महिना जाडो हुन्छ र, आगामी एक महिनामा अझै तापक्रम घटबढ हुनसक्ने सम्भावना देखिन्छ ।

तर, पश्चिमी भूभागमा देखिएको वायु प्रभावका कारण केही हदसम्म वर्षा पनि हुनसक्ने सम्भावना बढेको छ । त्यस्तै उच्च हिमाली भू-भागहरूमा हिमपात पनि हुनसक्छ ।  यसै वायुको प्रभावका कारण तराईका क्षेत्रमा बिहानपख बाक्लो हुस्सु-कुहिरो पनि लाग्न सक्ने देखिन्छ ।

आजको कुरा गर्दा नेपालमा विशेष गरी शुक्रबारबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायुको प्रभाव रहेको छ । आकाशमा अलिकति बादल देखिरहेको अवस्था छ । राम्रोसँग घाम पनि लाग्न सकिरहेको छैन। अब यो क्रम अझै दुई/चार दिन रहने देखिएको छ । त्यो भएर आजभन्दा भोलि अझै बादल बाक्लिन सक्ने देखिन्छ ।

विशेष गरी पश्चिमका प्रदेशहरू- सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली भू-भागहरूमा चाहिं हल्का हिमपातको सम्भावना छ । त्यस्तै पहाडी भूभागमा एक/दुई स्थानमा हल्का वर्षा पनि हुनसक्छ ।

यसरी आएको वायुले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी भूभागहरूमा जाडो बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ ।

त्यस्तै तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु-कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

चिसो बढे पनि तत्कालै शीतलहरको सम्भावना देखिंदैन । बाहिरबाट बादल आउँदा शीतलहर हटेर जाने गर्दछ । र, हुस्सु-कुहिरो नलागे पनि जाडो चाहिं हुने गर्छ ।

पानी परेपछि अझै तापक्रम घट्न सक्ने सम्भावना रहन्छ । बिहानको चिसिने-कठ्याङ्ग्रिने जाडो पनि यदि हिमपात भयो, पानी पर्‍यो भने अझै बढी हुनसक्ने सम्भावना छ ।

किनभने, अझै एक/डेढ महिना जाडो याम नै बाँकी छ । त्यसैले अहिले पानी पर्ने भनेको जाडो गराउनका लागि नै हो । अझ बढी तापक्रम घट्न सक्ने अवस्था देखिन्छ । उच्च पहाडी भूभागमा भने हिमापातको सम्भावना कम छ । तर, कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा रहेका जिल्लाहरू हुम्ला, डोल्पा, कालिकोट, मुगु र यतापट्टि माथिल्लाे मुस्ताङतिर हिमपातको सम्भावना छ।

सुदूरपश्चिम/कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुनसक्छ । दिनभरि नै ठूलो वर्षा हुँदैन । यद्यपि, बादल चाहिं लागिराख्ने  देखिन्छ । त्यसैले गर्दा दिउँसोको अधिकतम तापक्रम घट्ने गर्छ। यस्तो बेलामा हामीलाई हिजो अस्तिको तुलनामा अझै बढी जाडो महशुस हुने गर्छ ।

पश्चिमी बायुको प्रभाव बुधबारसम्म जाने देखिन्छ । बुधबारदेखि मौसममा फेरि सुधार भएर जानेछ । विशेषगरी सुदूरपश्चिममा खुल्नका लागि बुधबारसम्म कुर्नुपर्ने हुन्छ भने काठमाडौ उपत्यका र पूर्वको हकमा मंगलबार बेलुकादेखि नै मौसममा सुधार भएर जानेछ ।

जसले गर्दा आगामी दुई/तीन दिन बदली हुने सम्भावना रहन्छ । त्यसो फलस्वरूप देशभर नै आंशिकदेखि सामान्य बदली र केही स्थानहरूमा पूर्ण बदली हुनसक्छ ।

विशेषगरी पश्चिमी क्षेत्रहरूमा घाम नै नलाग्न सक्ने सम्भावना पनि देखिएको छ । जाडो याममा बर्खाको जस्तो धेरै वर्षा हुँदैन । देशभरिको वर्षाको जुन आकलन छ त्यसलाई हेर्दा ३.५ प्रतिशत मात्रै यो समयमा वर्षा हुनेगर्छ ।

त्यसो भएको हुनाले बर्खाको झरी जस्तो लगातार वर्षा हुँदैन । यस्तो बेलामा पानी पर्ने भनेको उच्च हिमाली भूभागहरूमा मात्रै हो जहाँ हिमपात पनि हुनसक्छ । किनभने यस्तो बेलामा जलबास बादलमा हुँदैन । सुख्खा खालको बादल हुन्छ ।

बादल बढी चिसो र सुख्खा हुने भएकाले ठूलो वर्षा हुँदैन । यद्यपि, सुदूरपश्चिमका क्षेत्रमा भने अहिले वर्षाको सम्भावना देखिएको छ ।

काठमाडौं उपत्यकाको हकमा भने जाडो अझै एक महिनासम्म जुनसुकै बेला घटबढ हुनसक्छ । यो वर्षको कुरा गर्दा ३१ डिसेम्बरको रातिको समयमा ०.८ डिग्री सेन्टिग्रेट न्यूनतम तापक्रम मापन भएको छ ।

अहिले काठमाडौंमा १/२ डिग्रीको हाराहारीमा बिहानको तापक्रम रहन्छ । दिउँसोको तापक्रम अधिकतम १६/१७ डिग्री सम्म रहने देखिन्छ । त्यसो हुनाले दिउँसो घाम नलागिसकेपछि तुलनात्मक रुपमा हिजो अस्तिको भन्दा जाडोको महसूस हुनेगर्छ ।

२/४ दिन जाडोबाट बच्ने उपायहरू अपनाएर सावधानीपूर्वक बस्नुपर्ने हुन्छ । वर्षा नभए पनि चिसोबाट बच्ने उपायहरू अपनाउनुपर्छ ।

गत वर्षको र यो वर्षको जाडो यामलाई तुलना गर्दा खासै फरक देखिंदैन । गत वर्षको मौसम पनि यो समयमा यही ‘रेन्ज’मा थियो । अझै केही हदसम्म वर्षा पनि भएको थियो । अहिले वर्षा भएको छैन ।

हिउँदे वर्षा गराउनका लागि टाढाबाट वायु आउनुपर्ने हुन्छ । यो वर्ष अहिलेसम्मको कुरा गर्दा अहिले देखिइरहेको बादल चौथो प्रणालीको छ । जुन अहिले विगतको तुलनामा केही फरक देखिएको छ, यसअघि सुदूरपश्चिमतिर आउने अलिअलि बादल लाग्ने अनि हटेर जाने गरेको थियो ।

तर, यो वर्ष देशैभर फैलिएको अवस्था छ । तुलनात्मक रूपमा यस्तो बादलले हल्का वर्षा पनि गराउन सक्ने देखिन्छ, विशेषगरी उच्च हिमाली भूभागमा ।

काठमाडौंको न्यूनतम तापक्रम जाडोयाम भर ० देखि २ डिग्रीको हाराहारीमा रहने देखिन्छ ।

काठमाडौं उपत्यका वरिपरिका क्षेत्रमा हिमपातको सम्भावना देखिन्छ । अहिले पानी पर्ने भनेको धेरै टाढाबाट वायु आउँछ । भूमध्यसागर, इजिप्ट वा ‘मिडलइस्ट’का क्षेत्रहरूबाट जलवाष्प आउनुपर्ने हुन्छ । त्यो यहाँसम्म आइपुग्दा उतै पानी परेर सकिन्छ ।

हामीकहाँ आइपुग्ने बेला सुख्खा बादल मात्रै आउँछ । त्यसले गर्दा बर्खाको झरी जस्तो पानी पर्ने हुँदैन । यद्यपि, तीन/चार दिनसम्म यस्तै धुम्म भइराख्यो, बादल थुप्रिंदै गयो भने, नगरकोट, फुलचोकी, दामन जस्ता ठाउँमा हल्का हिमपातको सम्भावना हुन्छ ।

तर, यो सिस्टमले हिमपात गराउला जस्तो देखिंदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर