हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ – Nepal Press

हुम्ला सदरमुकाममा दैनिक ११ घण्टा लोडसेडिङ

रासस/हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ ।
चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।

जिल्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गत वर्षको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो ।

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमकोटका लालबहादुर लम्सालले जानकारी दिए ।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक चर्को लोडसेडिङ हुन थालेपछि सिमकोटमा दाउराको माग बढेको छ ।

एक भारी दाउराको सिमकोटमा १ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर