प्रचण्ड–माधव नेपाल पेरिसडाँडामा, आन्दोलन गर्न कांग्रेसलाई नकुर्ने – Nepal Press

प्रचण्ड–माधव नेपाल पेरिसडाँडामा, आन्दोलन गर्न कांग्रेसलाई नकुर्ने

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको लागि ओलीविरोधी दलहरुको संयुक्त आन्दोलन गर्ने प्रस्ताव राखेको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले अब एक्लै दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।

नेपाली कांग्रेससहितका दलहरुसँगका संयुक्त आन्दोलन गर्ने भन्दै केही दिन छलफलमा रहेका नेताहरु कांग्रेस संस्थागत निर्णयबाट आन्दोलनमा आउने सम्भावना टर्दै गएपछि एक्लै आन्दोलन अघि बढाउन लागिएको हो ।

आन्दोलनको दोस्रो चरणका कार्यक्रम तय गर्न नारायणकाजी श्रेष्ठ नेतृत्वको आन्दोलन परिचालन समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजदेखि शुरु भएको छ । बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसमेत सहभागाी छन् । आजै पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने नेता योगेश भट्टराईले जानकारी दिए ।

प्रचण्ड–माधव नेतृत्वको नेकपाले अब कांग्रेसलाई पर्खेर आन्दोलन शिथिल बनाउन नहुने निष्कर्ष निकालेको छ । पहिलो चरणमा विरोध प्रदर्शन र सभा गरेको सो समूहले अब कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रचण्डले नेपाल बन्दसम्म हुनसक्ने चेतावनी दिएका थिए ।

सर्वोच्च अदालतको फैसला नआउन्जेल अदालतलाई सडकबाट दबाब दिने खालका आन्दोलन कार्यक्रम ल्याउन लाागिएको भन्दै एक नेताले त्यसपछिको अवस्था हेरेर निर्णय हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर