चार जना ‘नक्कली सीआईबी’ पक्राउ – Nepal Press

चार जना ‘नक्कली सीआईबी’ पक्राउ

जनकपुरधाम । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेको भन्दै जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको अररिया फारविसगंज घर भई विराटनगर १ मा बस्दै आएका राजकुमार साहुका छोरा समिर साह, महोत्तरीको भंगाहा नगरपालिका ९ का आदित्य यादव, धनुषाको जनकपुरधाम ४ का चन्दन साह र वडा २ का रामचन्द्र साह रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई जनकपुरधामस्थित सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु बस्ने कोठामा रहेको व्यागबाट तीन थान प्लाष्टिकका नक्कली पेस्तोल र विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर तथा चेक बुकहरु बरामद भएको छ ।

‘पक्राउ परेका चारै जनाले जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ धनुषाका एसपी रमेश कुमार बस्नेतले भने, ‘ठगी गरी कुन बैंकमा कति रकम राखेको भन्ने कुरा खुल्न सकेका छैन । अनुसन्धान जारी छ ।’

प्रहरीले दिएको जानकारी अनुसार उनीहरु एक महिनादेखि उक्त होटलमा बस्दै आएका थिए । ‘जागिर लगाइदिने भनेर उनीहरुले एक व्यक्तिलाई भनेका थिए। ती व्यक्तिलाई शंका लागेर हामीलाई खबर गरेलगत्तै बिहीवार राति होटलमा छापा मारेर समातेका छौं,’ एसपी बस्नेतले भने, ‘अहिले धेरै कुरा खुल्न बाँकी छ । अनुसन्धानपछि जानकारी गराउँछौं ।’

एसपी बस्नेतले कमाउने उदेश्यले नै उनीहरु नक्कली सीआईबी बनेर ठगी धन्दामा लागेको हुनसक्ने बताएका छन् । उनीहरुसँग सरकारी कर्मचारीको पनि साँठगाँठ हुनसक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर