प्रदेश २: संसदीय दलका नेता मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षका सांसदको हस्ताक्षर – Nepal Press

प्रदेश २: संसदीय दलका नेता मण्डललाई हटाउन प्रचण्ड–माधव पक्षका सांसदको हस्ताक्षर

जनकपुरधाम । विभाजित नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले नेकपा प्रदेश २ को संसदीय दल विभाजनको तयारी थालेको छ । त्यसका लागि दलका नेता सत्यनारायण मण्डललाई हटाउन लागिएको एक नेताले बताए ।

मण्डललाई हटाउन संसदीय दलका उपनेता रामकुमार यादवलाई पत्रसमेत बुझाइसकेको प्रचण्ड–माधव समूहका नेकपा सांसद शत्रुधन महतोले जानकारी दिए । संसदीय दलको नेताबाट मण्डललाई हटाउन दुई दिन अगाडि नै उपनेता यादवलाई २० जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसकेको उनले बताए ।

प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । एमालेका २१ मध्ये १३ जना ओली पक्षमा छन् ।

आफ्नो पक्षमा २० जना सांसद रहेको प्रचण्ड–माधव समुहका प्रदेश सांसद महतोले दावी गरे । उनले भने, ‘हामीसँग स्पष्ट बहुमत छ । अब गलत गर्ने सांसदहरुलाई पनि कारबाही अगाडि बढाउँछौं ।’

दुई दिनअघि मात्र ओली पक्षले पूर्व माओवादीका ६ सांसद आफ्नो पक्षमा लागेको दावी गरेको थियो । तर सांसद महतो भन्छन्, ‘तीन पूर्व माओवादीका सांसद मात्र ओलीतिर खुलेका छन् । तीन जना तटस्थ छन् । उनीहरु हाम्रो सम्पर्कमा छन् ।’

नेकपा प्रचण्ड–माधव समूहले आज बिहान पत्रकार सम्मेलन गरी पुस १८ गतेदेखि २४ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार बसेको बैठकबाट आन्दोलन गर्न नेकपा प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहको संयोजकत्वमा १ हजार १ सदस्यीय प्रदेश संघर्ष समिति गठन गरिएको छ ।

यस्तै पुस २५ मा जयगोविन्द साहको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना सिरहाको बस्तिपुरमा गर्ने निर्णय पनि गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर