यस्तो छ १५ सांसद निलम्बन गर्ने नेकपा प्रदेश १ संसदीय दलको विधान – Nepal Press

यस्तो छ १५ सांसद निलम्बन गर्ने नेकपा प्रदेश १ संसदीय दलको विधान

इटहरी । प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेपछि त्यसको वैधानिकताबारे बहस भइरहेको छ ।

प्रदेशसभाका सभामुख प्रदिप भण्डारीले दलको झगडामा सचिवालय नफस्ने बताइरहेका बेला नेकपाको प्रदेशसभा संसदीय दलको विधान बमोजिम नै भीम आचार्यसहितका १५ सांसदलाई निलम्बनको कारवाही गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताएका छन् ।

विधानको दफा २६ मा अनुशासनको कारबाही र सजायँसम्बन्धी व्यवस्था छ । जसमा दलको नेता वा प्रमुख सचेतकले जारी गरेको निर्देशन विपरीत गतिबिधि गरेमा पाँच प्रकारका कारवाही हुने उल्लेख छ । जसमा नसिहत दिनेदेखि दलको सदस्यता समाप्तिका लागि प्रदेश कमिटीमा सिफारिस गर्नेसम्मका कारवाही हुने भनिएको छ ।

त्यसअघि स्पष्टीकरण सोध्न सक्ने वैधानिक व्यवस्थामा टेकेर स्पष्टीकरण मागिएको र स्पष्टीकरण नदिइएपछि संसदीय दलको सदस्यता निलम्वन गरिएको राजभण्डारीले बताएका छन् ।

नेकपा संसदीय दलको विधानमा प्रदेशसभाका सदस्यले कुनै पनि प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश गर्नुपरेमा प्रमुख सचेतकलाई त्यसको प्रतिलिपि सहितको सूचना दिनुपर्ने उल्लेख छ । त्यस्तै विधानकै दफा २४ मा प्रदेशसभामा पेश गरिने कुनै प्रस्ताव वा संशोधन सभामा प्रस्तुत गर्नुअघि दलको नेता वा प्रमुख सचेतकसँगै परमार्श गर्नुपर्ने उल्लेख छ ।

विधानको व्यवस्था बमोजिम नै उनीहरु निलम्बनमा परेको राई पक्षले जनाएको छ । तर प्रचण्ड–माधव नेपाल पक्षले भने बिहीबार नै अर्को बैठक राखेर दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।

आचार्य पक्षले दलको विधान अनुसारनै एक चौथाई भन्दा बढी सदस्यले दलको नेताविरुद्ध अविश्वास प्रस्ताव राखेर उनलाई हटाएको दावी गरेका छन् । तर राई पक्षले भने दलको नेता र प्रमुख सचेतकलाई थाहा नदिई प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएकाले उनीहरुमाथिको कारवाही वैधानिक रहेको दावी गरेको छ ।

२०७६ चैत ४ गतेको संसदीय दलको तेह्रौं बैठकले नेकपा प्रदेश १ को संसदीय दलको बिधान पारित गरेको थियोे । ५४ सांसदले हस्ताक्षर गरेर पारित गरेको विधानको दफा २६ (ग) अनुसार १५ सांसदलाई हिजो कारबाही गरेको नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले नेपाल प्रेसलाई जानकारी दिए।

हेर्नुहोस् नेकपा प्रदेश १ संसदीय दलको विधानमा भएको व्यवस्था

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर