प्रचण्ड कहिल्यै कार्यकर्ताबाट अनुमोदित नभएको रायमाझीको दावी – Nepal Press

प्रचण्ड कहिल्यै कार्यकर्ताबाट अनुमोदित नभएको रायमाझीको दावी

काठमाडौं । उर्जामन्त्री तथा ओली नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रचण्ड नेतृत्वको टीके पार्टीबाट आफू कार्यकर्ता अनुमोदित पार्टीमा लागेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को भेलालाई बिहीबार चाबहिलमा सम्बोधन गर्दै नेता रायमाझीले प्रचण्ड कहिल्यै पनि कार्यकर्ताबाट अनुमोदित नभएको आरोपसमेत लगाए ।

उनले भने– पटक पटक आफूले आफैंलाई नेता घोषणा गर्ने टीके प्रथाबाट मुक्त भएर कार्यकर्ताबाट अनुमोदित हुने पार्टीमा आउँदा मलाई गर्व लागेको छ । प्रचण्डजी आजसम्म आफूले आफूलाई नेता घोषणा गर्दै आउनुभएको छ ।

रायमाझीले पार्टीभित्रबाट कामै गर्न नदिई विपक्षीसँग मिलेर प्रथम अध्यक्ष नेतृत्वको सरकार ढाल्न खोजिएपछि प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको भन्दै अब विघटित संसद पुनःस्थापना नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारसमेत रहेका नेकपा नेता डा. राजन भट्टराईले नेकपा विभाजन नभएको भन्दै बाटो बिराएकाहरुलाई विस्तारै समेटेर केपी ओली नेतृत्वमा पार्टी अघि बढ्ने बताए ।

सोही कार्यक्रममार्फत् केशव स्थापित पनि ओली पक्षमा खुलेका छन् । पार्टी विभाजनपछि तटस्थ रहँदै आएका स्थापितले प्रचण्ड–माधव नेपाल पक्षसँग मुख्यमन्त्रीको दावी गरेका थिए । उनी काठमाडौंबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । केन्द्रीय सदस्य निर्मल कुँइकेलको अध्यक्षतामा भएको भेलामा क्षेत्र नं ४ का १२ वटै वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

भेलामा बागमती प्रदेशसभा सदस्य केशव स्थापित , नारायण सिलवाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, जिसस काठमाडौंकी उपप्रमुख सरिता दाहाल, बूढालीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेल, उपप्रमुख रमा राई ,नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलासहित काठमाडौं महानगरपालिका र बूढालीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर