राष्ट्रिय महिला क्रिकेटमा : बागमतीले गण्डकीलाई ६५ रनले हरायो – Nepal Press

राष्ट्रिय महिला क्रिकेटमा : बागमतीले गण्डकीलाई ६५ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा बागमतीले गण्डकीलाई ६५ रनले पराजित गरेको छ ।

खेलमा बागमतीले दिएको १ सय ५४ रनको विशाल योगफललाई पछ्याएको गण्डकी निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा ८८ रनमा सिमित हुन पुगेको थियो । गण्डकीका लागि सृष्टि पौडेलले सर्वाधिक ३० रन तथा कप्तान शिला क्षेत्रीले २६ रनको योगदान गरिन् ।

बलिङतर्फ बागमतीका लागि कप्तान अस्मिना कर्मचार्य, सुमन खतिवडा, आराती बिडारी र निशा तामाङले १÷१ विकेट लिए । त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

टिमले विशाल योगफल खडा गर्ने क्रममा बागमतीले सुरुवात देखिनै राम्रो सुरुवात पाएको थियो । ओपनर ब्याटरद्वय कन्चन श्रेष्ठ र विन्दा कटवालले ७६ रनको ओपनिङ साझेदारी गरेका थिए । १०.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी कन्चनले २९ बलको सामना गर्दै १ चौकासहित २७ रन बनाएकी थिइन् ।

कन्चन आउट भएपछि विन्दालाई साथ दिन सुमन खतिवडा आएकी थिइन् । राम्रो ब्याटिङ गरेका यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन् पुगेको थियो ।

टिमलाई ठूलो स्कोरतर्फ पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी सुमन दोस्रो विकेटका रुपमा आउट हुन् पुगेकी थिइन् । १७.४ ओभरमा टिमको स्कोर १ सय २९ रन हुँदा आउट हुन् पुगेकी उनले २६ बलको सामना गर्दै ४ चौकासहित ३१ रन बनाइन् ।

यस्तै विन्दाले भने पारीकै सर्वाधिक धेरै रन बनाइन् । राष्ट्रिय प्रतियोगितामा समेत डेब्यु गरेकी उनले ५८ बलमा ३ चौकाको सहयोगमा ३८ रनको योगदान गरिन् । अत्यमा आरती विडारीले १० रनमा अविजित रहदा कप्तान अस्मिना कर्मचार्यले ८ रन जोडेकी थिइन् ।

बलिङतर्फ गण्डकीका लागि अलिशा लामिछानेले २ विकेट लिएकी थिइन् । यो जितसँगै समूह बी मा रहेको बागमतीले २ खेलमा १ मा जित र १ मा हार ब्यहोर्दै अंकतालिकामा २ अंक जोडेको छ । भने लगातार दुई खेलमा पराजित भएको गण्डकी समूह चरणबाटै बाहिरिएको छ ।

यता लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको प्रदेश १ एक खेल अगावै सेमिफाइनल पुगेको छ । अब प्रतियोगिता अन्तर्गत बिहिबार समूह बी का अन्तिम खेल हुनेछन् । जस अन्तर्गत पहिलो खेलमा सुदूर पश्चिमले बागमतीको सामना गर्दा दिनको दोस्रो खेलमा प्रदेश १ ले गण्डकीको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *