जलेश्वरनाथमा बेथिती– मन्दिरको जग्गा गायव, जीर्णोद्वारका लागि युवाहरु अनसनमा – Nepal Press

जलेश्वरनाथमा बेथिती– मन्दिरको जग्गा गायव, जीर्णोद्वारका लागि युवाहरु अनसनमा

जनकपुर । प्रदेश २ का पर्यटकीय स्थलहरुमध्ये महोत्तरीको जलेश्वर नगरपालिका–१ मा रहेका जलेश्वरनाथ महादेव मन्दिरको विशिष्ट महत्व रहेको छ । यो मन्दिरमा पूजापाठ गर्ने दर्शनार्थीहरुको दैनिक घुइँचो लाग्ने गर्छ ।

महादेवको शिवलिंग जलभित्रै रहेकाले जलेश्वरनाथ महादेव नामकरण गरिएको छ । मन्दिरको मध्य भागमा पानीले भरिएको गुफाको १६ सिँढी तल एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । यहाँ पूजापाठ गर्दा मनोकामना पुरा हुने जनविश्वास छ ।

शिवरात्रीका दिन मन्दिरमा पूजा गर्न हजारौंको भीड लाग्ने गर्छ । यसबाहेक साउन महिनाभर मेला लाग्छ । तर मन्दिर जीर्ण बन्दै जाँदा सम्बन्धित निकायले चासो देखाएका छैनन् । पटक–पटक पहल गर्दा पनि जीणोद्वारको प्रयास नभएकोमा स्थानीयको गुनासो छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले मन्दिरको निर्णोद्धार गर्न आनाकानी गरेपछि पछिल्लो ६ दिनदेखि स्थानीय युवाहरु रिले अनसन सुरु गरेका छन् । जलेश्वर महादेव मन्दिर एवं उमा महोदरी शक्तिपीठ सेवा तथा संरक्षण संस्था विकास परिषद्को आयोजनामा जय बाबा जलेश्वरनाथ युवा क्लव, पासवान युवा क्लव र बखरी युवा क्लवका युवाहरुले अनसन सुरु गरेका हुन् ।

मन्दिर समितिका अध्यक्ष अमरदीप साहले मन्दिर क्षेत्र विकासका लागि अनसन सुरु गरेको बताउँछन् । उनले विभिन्न निकायमा पटक पटक पहल गर्दा पनि मन्दिरको विकास नभएपछि बाध्य भएर अनसन बस्नु परेको सुनाए । उनले भने, ‘मन्दिरको स्वामित्तमा २५० विघा जग्गा थियो । तर सबै जग्गा व्यक्तिले कब्जा गरेका छन् । चार वटा पोखरी त जलेश्वर नगरपालिकाले ठेक्का लगाएर राम्रो आन्दानी गर्छ । मन्दिरको भने अस्तित्व समाप्त हुन लागेको छ ।’

मन्दिर संरक्षण तथा पूजा अर्चनाका लागि १८६९ मा राजा गिर्वाणयुद्धविक्रम शाहको निगाहमा २७५ विघा जग्गा प्राप्त भएको थियो । तत्कालीन गाविसका मौजेहरू बहेडा जब्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपट्टीको उक्त जग्गा तत्कालीन महन्थलाई लालमोहर ताम्रपत्र दिइएको थियो । अहिले मन्दिरसँग एकधुर जग्गा पनि छैन ।

अध्यक्ष साह भन्छन्, ‘जग्गा व्यक्तिहरुले आफ्नो नाममा गराइसके । पोखरी मन्दिरकै नाममा छ, तर नगरपालिकाले कब्जा गरेको छ । मन्दिरको नाममा विगतमा रहेका सबै जग्गा र पोखरी फिर्ता हुनुपर्छ ।’ सरकारले जग्गा र पोखरी फिर्ताका लागि पहल नगरे आफुहरु कठोर आन्दोलन गर्ने उनले चेतावनी दिए ।

गुठी संस्थान जलेश्वरले मन्दिरको पूजा अराधना तथा प्रसाद अन्नलगायतका अन्य सामग्री सहयोग गर्दै आएको छ । संस्थानका प्रमुख कुलदेव चौधरीले अहिले मन्दिरको स्वामित्वमा कुनै अचल सम्पत्ति नरहेको जानकारी दिए । ‘जग्गा त धेरै थियो । तर प्रक्रिया पुर्याएर सबै जग्गा रैता नम्बरी भयो । पोखरी नगरपालिकाले ठेक्का लगाउने गरेको छ’, उनले थपे, ‘पोखरी कसरी नगरपालिकाले ठेक्क लगाउँछन् भन्ने कुरा मेयरलाई नै गएर सोध्नुस् । मलाई यसबारे केहि थाहा छैन । कानूनी रुपमै प्रयोग गरेको होला ।’ मन्दिरको संरक्षण तथा विकासको जिम्मेवारी नगरपालिकाकै भएको उनको भनाई छ ।

विगतमा जलेश्वरमै रहेका बरुण सर, पुरन्द सर, पूर्णी सर र महन्थ पोखरीको संरक्षण र भोगचलन मन्दिर मातहत गरिँदै आएको थियो । बरुण सर महादेव पूजाका लागि सहस्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर महादेव दर्शनपूर्व हात–खट्टा धुने गोरधोई पोखरीको नामले प्रचलित र पूर्णी सर महादेवलाई भोगराजका लागि मखानको पोखरी र महन्थ पोखरी पुजारी महन्थको वासस्थानमा प्रयोग हुने पोखरी हो । तर ती चारै पोखरी नगरपालिका मातहतमा छ ।

चारै ऐतिहासिक पोखरी मन्दिरकै वरिपरि छन् । जलेश्वरका मेयर रामशंकर मिश्रले पोखरीहरु नेपाल सरकारको नाममा रहेकाले नगरपालिका ठेक्का लगाएको बताए । ‘मन्दिरको नाममा पोखरी छैन । नेपाल सरकारको नाममा रहेको छ, अनी नगरपालिकाको भएन ?’ नगरप्रमुख मिश्रले नेपालप्रेससँग प्रतिप्रश्न गरे । तर पोखरी भने मन्दिरको नाममा अझै दर्ता रहेको प्रमाण युवाहरुले उपलब्ध गराएका छन् ।

मेयर मिश्रले जलेश्वरनाथ मन्दिरको विकासपछि मात्र जलेश्वरको विकास हुनसक्ने भन्दै नगरपालिकाले मन्दिरको विकासका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएर मन्त्रालयमा पेश गरिसकेको बताए । उनले मन्दिरमा गेट निर्माणदेखि अन्य विकास निर्माणका काम अगाडी बढाएको दावी गरे ।

२५० विघा जग्गा विगतमा मन्दिरको नाममा रहेको मेयर मिश्र पनि स्वीकार गर्छन् । तर ती जग्गा कसरी व्यक्तिहरुले आफ्नो नाममा गराएको भन्नेमा उनी पनि अनभिज्ञ रहे । ‘जग्गा मन्दिरको नाममा थियो । तर त्यो जग्गा पहिले नै व्यक्तिको नाममा गइसकेको रहेछ । यसबारे मलाई थाहा छैन । हामीले चाहेर पनि फिर्ता ल्याउने नसक्ने कुरा अनसनमा बसेका भाइहरुलाई भनिसकेको छु,’ उनले थपे ।

यो ऐतिहासिक मन्दिर विश्व सम्पदाको सूचीमा सूचिकृत गराउन स्थानीय युवाहरुले पहल गरेका छन् तर सरकारी निकायको उदासीनताले सम्भव नभएको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर