सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु – Nepal Press

सिरियामा सैनिक सवार बस एम्बुसमा, कम्तिमा २८ को मृत्यु

पूर्वी सिरियामा यात्रुबाहक बसमा भएको एम्बुस आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

सिरियाको राज्य संचालित संचारमाध्यमका अनुसार बुधबार डेयर अल जोर प्रान्तमा भएको सो आक्रमणमा ‘नागरिक’हरु मारिएका छन् ।

तर एउटा पर्यवेक्षक समूह र अन्य सूत्रहरुको दावीअनुसार आक्रमणमा मारिनेमा अधिकांश सैनिक हुन् । यति ठूलो संख्यामा सैनिकलाई निशाना बनाइएको पनि पछिल्लो एक वर्षमा पहिलो हो ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)का अनुसार यो आक्रमण इस्लामिक स्टेटको जिहादी समूहले गरेको हो र आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

आफ्ना श्रोतहरुलाई उदृत गरी एसओएचआरले भनेको छ, ‘यो इस्लामिक स्टेटका सदस्यहरुद्वारा पूरै योजनाबद्ध रुपमा गरिएको एम्बुस आक्रमण हो । उनीहरुले तीनवटा बसमा रहेका सैनिकहरुलाई निशाना बनाएका थिए ।’

सन् २०१४ मा सिरियाको लगभग आधाभन्दा बढी क्षेत्रमा आईएस लडाकूको कब्जा थियो । करिव ८८ हजार वर्ग किलोमिटर क्षेत्रमा उनीहरु क्रुर शासन गर्दै आएका थिए । अमेरिकी सेनाको सहयोगमा सिरियाली सेनाले पाँच वर्षको अवधिमा अधिकांश क्षेत्रबाट आईएस गतिविधि नियन्त्रणमा लिइसकेको छ ।

सन् २०१९ को मार्चमा आईएसबाट सिरिया र इराकमा कुनै खतरा नरहेको औपचारिक घोषणा गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर