२०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे – Nepal Press

२०२० मा संसारका १० उपलब्धि : नेपाल पनि समेटियाे

सन् २०२० मा जब कोरोना कहर उत्कर्षमा पुग्दै थियो, तब केही मुलुक यो चपेटाबाट बाहिर निस्किए भने केहीले प्रियजन गुमाए । सबै जनालाई लाग्यो – यो संकटबाट मुक्त हुने उपाय भनेकै खोप हो ।

यस वर्ष कोरोना र खोप शब्दावली चर्चित रहे । यसबीचमा केही ठूला उपलब्धि पनि सामुन्ने आए । यहाँ केही यस्ता उपलब्धिबारे चर्चा गरिन्छ, जसलाई कोरोनाले सम्झने मौका पनि दिएन ।

१) चीनबाट काेराेना शुरु, पहिलो खोप बेलायतलाई

दुनियाँमा कोरोनाभाइरस सबैभन्दा पहिले चीनबाट फैलियो । तर, पहिलो खोप लगाउने सुरुआत चाहिं बेलायतदेखि भयो । ८ डिसेम्बरदेखि भ्याक्सिन लगाउने काम शुरु भयो । ब्रिटेनले फाइजर–बायोइनटेकबाट ८ लाख डोज खरिद गर्यो । ४ लाखलाई डोज दिने बेलायतको तयारी छ । पहिलो खोप ९० सालकी बुज्रुक मारग्रेट किननलाई दिइयो । अहिलेसम्म चीनका ४, रुसका २ र अमेरिकाको एक भ्याक्सिनलाई अप्रुभल मिलेको छ ।

२) अन्तरिक्षमा ३२८ दिन बस्ने कीर्तिमान

अन्तरिक्षमा ११ महिना बिताएपछि अमेरिकी अन्तरिक्ष नियोग नासाकी अन्तरिक्षयात्री क्रिस्टिना कोच २०२० को फेब्रुअरी २६ मा धर्तीमा फर्किइन् । कुनै महिलाको लागि यो सबैभन्दा लामो मिसन हो । क्रिस्टिनाले अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा ३२८ दिन बिताइन् । यस क्रममा उनले पृथ्वीलाई ५ हजार २४८ पटक चक्कर लगाइन् । यसक्रममा उनले मंगल मिसन, गुरुत्वाकर्षण, स्पेस रेडिएसन र यससँग जोडिएका तथ्यहरुको संकलन गरिन् ।

३) नेपाल अब गरिब रहेन, २०२२ सम्म विकासशील बन्ने लक्ष्य

नेपाल अब निम्नबाट निम्न मध्यमवर्गको अर्थतन्त्र बनेको छ । गत जुलाइमा विश्व बैंकले नेपालको यो वर्गोत्थानलाई औपचारिकता प्रदान गरेको थियो । तर पनि कोरोनाभाइरसले नेपालको पर्यटन र होटल व्यवसाय चौपट बनेको छ । आर्थिक संकट झेलिरहेको नेपाललाई यसबीचमा अन्तर्राष्ट्रिय मुद्रा कोषले १५८४ करोड रुपैयाँको फन्ड पनि दियो । संयुक्त राष्ट्रसंघले नेपाललाई सन् २०२२ सम्म विकासशील देश बन्ने लक्ष्य दिएको छ ।

४)  दक्षिण अफ्रिका पोलियो मुक्त

एकातिर संसार कोरोनाभाइरससँग लड्दै थियो भने दक्षिण अफ्रिका पोलियो मुक्त हुँदै थियो । गत २५ अगस्टमा विश्व स्वास्थ्य संगठनले अफ्रिकालाई पोलियोमुक्त महादेश घोषणा गरेको छ । अहिलेसम्म नाइजेरियामा मात्र पोलियो भाइरस बाँकी थियो । सन् १९९६ मा सम्पूर्ण अफ्रिकामा ७५ हजार बालबालिका पोलियाे संक्रमित थिए । संसारमा अहिलेसम्म अफगानिस्तान र पाकिस्तानमा मात्र पोलियो भाइरस सक्रिय छ ।

५) इजरायल र युएईबीच शान्ति सम्झौता

गत अगस्टमा चीर प्रतिद्वन्द्वी मुलुक इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहसिक शान्ति सम्झौता भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता गराएका थिए । सन् १९४८ मा स्वतन्त्रता हासिल गरेपछि इजरायलले कुनै अरब मुलुकसँग तेस्रोपटक यस्तो सम्झौता गरेको थियो । यसअघि जोर्डन र मिश्रसँग उसले सम्झौता गरिसकेको छ । इजरायल र युएईको मित्रतालाई लिएर प्यालेस्टाइनले विरोध जनायो । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यस्तो सम्झौता गराएर राष्ट्रपति ट्रम्पले एकै तीरमा दुई निशाना साधेका थिए ।

६) आकाशबाट सीधै समुन्द्रमा अवतरण

अमेरिकाको निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको ड्रागन क्याप्सुल अगस्ट २ मा पृथ्वीमा फर्कियो । इन्टरनेसनल स्पेस स्टेसनबाट पृथ्वीको सतहमा आउन यसलाई १९ घन्टा लाग्यो । ४५ वर्षपछि कुनै अमेरिकी स्पेसक्राफ्टले समुन्द्र सतहमा ल्यान्डिङ गरेको हो । यो मिसन चुनौतीपूर्ण थियो । ल्यान्डिङको क्रममा अमेरिकी राज्य फ्लोरिडमा इसायस नामक सामुन्द्रिक आँधी आउने चेतावनी जारी गरिएको थियो । यसको बाबजुद पनि यात्रा जारी रह्यो ।

७) २४ किलोमिटर टाढाबाट तस्बिर लिन सकिने ३२ सय मेगापिक्सलको क्यामेरा 

अमेरिकी वैज्ञानिकले गत सेप्टेम्बरमा ३२०० मेगापिक्सलको संसारकै सबैभन्दा ठूलो डिजिटल क्यामेरा बनाए । यसलाई क्यालिफोर्नियाको एसएलएसी नेशनल एक्सिलेरेटर ल्याबमा राखियो । २४ किमी टाढाबाट पनि यसले फोटो खिच्न सक्ने दाबी गरिएको छ । आगामी दश वर्षभित्र यो क्यामेराबाट ब्रम्हाण्डको यस्तो तस्विर खिचिने भनिएको छ जसलाई अहिलेसम्म देखिएको छैन ।

८) संसारको पहिलो हाइड्रोजन इन्धन बस

स्कटल्यान्डको एबरडिनमा हाइड्रोजनबाट चल्ने दुनियाँको पहिलो डबल डेकर बसको परीक्षण गरियो । अक्टोबरमा शुरु गरिएको यो पहलको लक्ष्य चाहिं कार्बन उत्सर्जनमा शून्यमा झार्नु हो । कार्बन र हाइड्रोजनलाई हावासँग मिलाएर बिजुली उत्पादन गर्ने भनिएको छ । एक बसलाई चार्ज गर्न १० मिनेटको समय लाग्छ ।

९) ४४ वर्षपछि चन्द्रमाबाट ल्याइयो चट्टान

अमेरिकाको एपोलो र रुसको लुना मिसनपछि चीन विश्वको तेस्रो देश बन्यो जसले चन्द्रमाबाट चट्टान लिएर फर्कियो । चीनको चांग–ई यान २३ नोभेम्बरमा चन्द्रमातर्फ उडेको थियो । दुई किलो चट्टान लिएर यो यान १७ डिसेम्बरमा पृथ्वीमा फर्कियो । यसको ल्यान्डिङ राति डेढबजे भित्री मंगोलियामा भयो । चीनले यसलाई आफ्नो ठूलो उपलब्धि मानेको छ । ४४ वर्ष अगाडि अमेरिकाको एपोलो चट्टान लिएर पृथ्वीमा फर्किएको थियो । अमेरिका र रुसले मानवसहितको यान चन्द्रमामा पठाएका थिए तर, चिनियाँ यान भने मानवरहित थियो । यो रोबोटिक यान थियो ।

१०) कमला ह्यारिस पहिलो अमेरिकी अश्वेत र महिला उपराष्ट्रपति

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकामा जो बाइडेन राष्ट्रपति र कमला ह्यारिस उपराष्ट्रपति बन्दैछन् । कमला चाहिं उपराष्ट्रपति हुने पहिलो अमेरिकी महिला, अश्वेत र दक्षिण एशियाली मूलकी हुन् । ७८ वर्षे बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुने बढी उमेरका हुनेछन् । यसअघि वयोवृद्ध रेकर्डमा रोनाल्ड रेगन थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर