वागमती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने – Nepal Press

वागमती र सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाइने

काठमाडौं । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती र यसका सहायक नदी किनारमा मापदण्डविपरीत बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

समितिले यही पुस ८ गते सार्वजनिक सूचना प्रकाशन गरी वागमती र यसका सहायक नदी किनारमा बनेका मापदण्डविपरीतका संरचना हटाउन आह्वान गरेको हो । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते निर्णय गरी नदीकिनारमा मापदण्डविपरीत संरचना बनाउन नदिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार समितिले पटकपटक सूचना जारी गरी मापदण्डविपरीतका संरचना हटाउन भने पनि कार्यान्वयन हुनसकेको थिएन जसका कारण एशियाली विकास बैंकको ऋण सहयोगमा शुरु भएको वागमती नदी सौन्दर्यीकरण कार्यक्रमसमेत प्रभावित भइरहेको छ ।

यसपटक भने वागमती र यसका सहायक नदीलाई छुने स्थानीय तहका वडाध्यक्षको बैठक राखी निर्णय गरेर सूचना जारी गरिएको समितिका सूचना अधिकारी कमल अर्यालले जानकारी दिए । उपत्यकाका ११ स्थानीय तहका ३५ वडाध्यक्षले पनि मापदण्डविपरीत बनेका सबै संरचना हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोअनुसार काठमाडौँ महानगरपालिका वडा नं ९ र ३१ स्थित सिनामङ्गल क्षेत्रको नदी किनारमा बनेका मापदण्डविपरीतका सात घर भत्काएर नदी सौन्दर्यीकरणका लागि पर्खाल निर्माण शुरु भएको जानकारी उनले दिए ।

समितिले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ उपत्यका विकास प्राधिकरण र ११ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई समेत राखेर बैठक गरी मापदण्डविपरीतका संरचना हटाउने विषयमा छलफलसहित निर्णय गरेको छ ।

तोकिएको ३५ दिने अवधिभित्र संरचना नभत्काए समितिले आफैँ भत्काउने सूचनामा उल्लेख छ । वागमती किनारको सिनामङ्गल, थापाथली, बल्खुलगायत क्षेत्रका नदी किनारमा मापदण्डविपरीतका धेरै संरचना निर्माण गरिएको छ जसका कारण नदीमा फोहाेरसमेत बढेको छ । नदीकिनारमा बसेकाका लागि इचङ्गुमा आवास निर्माण गरिए पनि त्यहाँ स्थानान्तरण हुनसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर