एमालेको बैंक खाता रोक्न प्रचण्डको पत्राचार
बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा


काठमाडौं । नेकपा विभाजनलगत्तै प्रचण्ड–माधव नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न सम्बन्धित संस्थामा पत्र पठाएको छ । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादी नामका खाता अलग–अलग संचालनमा थिए ।
प्रचण्ड–माधव पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर पत्राचार भएको बताए । त्यसबारे विस्तृतमा आफूलाई जानकारी नरहेको उनको भनाइ छ ।
यता ओली पक्षका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले भने एमालेको नाममा संचालित खाता माओवादीका अध्यक्ष प्रचण्डले रोक्का गर्ने भन्ने कुरा नै हास्यास्पद रहेको बताए । एमालेका बैंक खाता यथावत् संचालनमा रहेको उनको भनाइ छ ।
तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा संचालित छन् । चेकमा तीनजनाको हस्ताक्षर चल्नेमा रिमाल र श्रेष्ठ ओली नेतृत्वको नेकपाका नेता हुन् भने पौडेल कर्मचारी हुन् ।
रिजालका अनुसार खाता उनको नाममा ल्याउने प्रक्रिया चलिरहेका बेला पार्टी विभाजन भएको छ । पार्टीको चल अचल सम्पत्ति एमालेकै नाममा रहेको र एमालेको निर्वाचित अध्यक्ष केपी ओली भएकाले अर्को पक्षको हक नलाग्ने अोली पक्षको भनाइ छ ।