जलनको पीडा–समयमै अस्पताल नपुग्दा मृत्युको मुखमा – Nepal Press

जलनको पीडा–समयमै अस्पताल नपुग्दा मृत्युको मुखमा

जलनका विषयमा पहिलो पटक अनुसन्धान

काठमाडौं । आगोजन्य वा अन्य किसिमबाट हुने जलनका कारण अदृश्य रुपमा व्यक्तिको ज्यान जाने मात्र नभई अंगभंग समेत हुने गरेको छ ।
तर नेपालमा जलनको अवस्थाको बारेमा अध्ययन अनुसन्धान नै हुदैन ।

सरोकारवाला निकायबाट अध्ययन अनुसन्धान नहुँदा आगोजन्य बस्तुबाट भएको जलनको सहि उपचार पाउनबाट बञ्चित छन् ।
पछिल्लो समयमा आगो तथा अन्य किसिमबाट जलनको घटनाहरु बढ्न थालेपछि सामाजिक अध्ययन तथा विकास केन्द्र (सगुन) ले गरेको कार्यमूलक अनुसन्धानको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

आगोजन्य पदार्थले जलन भएको व्यक्तिहरु समयमै अस्पताल नपुग्दा मृत्युको मुखमा पुग्ने गरेको अध्ययनले देखाएको छ ।
सगुनले हिमाल पहाड र तराईका केही जिल्लाहरु गरेको अध्ययनले आगो, विद्युत वा एसिड लगायतबाट हुने जलन अत्यन्तै पीडादायी हुने गरेको देखिएपनि यसबाट जोखिन वा न्यूनिकरण गर्नका लागि आम नागरिकलाई जलनका विषयमा जानकारी नभएको पाईएको छ ।

सुगनले तीन वर्षको समयवधिमा हिमाली क्षेत्रका रुपमा रसुवा, पहाडी क्षेत्रका रुपमा मकवानपुरको इन्द्रसरोबर गाउँपालिका र तराई क्षेत्रका रुपमा धनुषामा अध्ययन गरेको थियो । अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै अनुन्धानकर्ता एवं सगुनका सचिव डा कमल फुँयालले जलन भएका व्यक्तिहरु अस्पताल वा स्वास्थ्य चौकीसम्म नपुग्ने गरेको अध्ययनले देखाएको बताएका छन् ।

उनले जलनबाट भएको क्षति वा मृत्युको सहि तथ्यांक पाउन मुश्किल रहेको बताँउदै जलनको प्राथमिक उपचारको सेवा समुदाय तहमा नै उपलब्ध गराउन सके जलनबाट हुने ठूलो क्षति कम गर्न सकिने बताए ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्लाष्टिक सर्जन डा जसवन शाक्यले जो जहाँ भएपनि शरीरमा जलन भएका वा पोलेमा पोलेको भागलाई तत्काल चिसो बनाउनु पर्ने बताए ।

पोलेको भागलाई निरन्तर बगेको पानी सम्भव भएसम्म धाराको पानीले चिसो बनाउन सके जलनलाई गहिराईसम्म जानबाट रोक्न सकिने बताए । आम नागरिकले पोलेको भागलाई तत्काल फुक्ने चलन रहेका सो कार्य निकै खतरा भएकाले पोलेको ठाउँमा फुक्न नहुने समेत बताए ।

सोही कार्यक्रममा बोल्दै सुष्मा कोइराला मेमोरियल अस्पतालकी सर्जन डा रोजिना शिल्पकारले जलन हुनासाथ पोलेको २० देखि ३० मिनेटसम्म निरन्तर पानीको प्रयोग गर्नु पर्ने बताए ।

जलनका विषयमा अनुसन्धान गरिएको क्षेत्र मकवानपुरको इन्द्र सरोबार गाउँपालिकाका अध्यक्ष जीवन लामाले अनुसन्धान कै क्रममा जलन भन्ने थाहा नपाएकाहरुले त्यसका बारेमा जानकारी पाउनुका साथै जलनबाट बच्ने र जलन भईहालेमा गर्नु पर्ने उपचार विधि समेत हासिल गरेका बताए ।

उनले स्वास्थ्यका अन्य क्षेत्रजस्तै जलनलाई पनि सरकारले प्राथमिकतामा राख्नु पर्ने बताउँदै इन्द्रसरोबर गाउँपालिकाले बजेट नै विनियोजन गरेको जानकारी दिए । त्यस्तै लक्ष्मीनियाँ गाउँपालिका धुनषाकी उपाध्यक्ष इन्द्रकला यादवले जलन रोग नभएर दूर्घटना भएको बताउँदै यसको तत्काल उपचार नभएकाले समस्या पर्दै गएको र धुनषामा जलनकै कारण धेरै व्यक्तिहरुको ज्यान गएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *