न्याय खोज्दै चीनमा बेचिएकी चेली – Nepal Press

न्याय खोज्दै चीनमा बेचिएकी चेली

काठमाडौं । उमेरले ५० टेकेकी काभ्रेकी पार्वती गुरुङ (परिवर्तित नाम) लाई रोशी गाउँपालिका-४ घर भएका ३२ वर्षीय किरण तामाङले चीनमा व्यापार तथा रोजगार दिलाइदिने लोभ देखाए  ।

आफूले जानेको काम गर्न पाइने भएपछि मक्ख परेकी उनले चीनमा गएर कमाउने सपना बुनिन् । थोरै भए पनि कमाइ हुने आशमा बसेकी उनले दायाँ–बायाँ केही साेच्दै सोचिनन् । चीनमा काम गर्न जानको लागि तयार भइन् ।

किरण तामाङले पार्वतीलाई एक वर्षअघि २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सान्दोङ प्रान्तमा रहेकाे हेज शहर पुर्‍याए । त्यहाँ पार्वतीलाई ताङलो टोलमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिककाे जिम्मा लगाए ।

त्यहाँ पुग्दासम्म पनि पार्वतीले केही सोचेकी थिइनन् । केही दिनमै काम पाइन्छ भन्नेमा ढुक्क थिइन् । तर, उनले सोचेजस्तो भइदिएन । तामाङले बेचिदिएको उनले पत्तै पाइनन् ।

चिनियाँ नागरिक ताम्पुले महिलालाई काम दिनुको सट्टा शारीरिक र मानसिक यातना दिई बन्धक बनाएर राखेपछि मात्रै उनले आफू बेचिएको थाहा पाइन् ।

आफू बेचिएको र हिंसामा परेको पार्वतीले सामाजिक सञ्जालमा जानकारी गराइन् । त्यसपछि प्रहरी प्रधान कार्यालय मानवबेचविखन अनुसन्धान व्यूरोलगायतका निकायसँग समन्वय गरेर उनको उद्धारको लागि पहल थालियो ।

विभिन्न निकायसँगको सहकार्यमा उनलाई गत कात्तिक १२ गते नेपाल फर्काइयो । उनले नेपाल फर्केपछि तामाङविरुद्ध उजुरी गरिन् । लगत्तै व्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौंबाट पक्राउ गर्‍याे ।

तामाङमाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तामाङले अन्य महिलाहरुलाई पनि बेचेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरी अधिकृत बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर