भिजिट भिसाले डुबायो ६३ पूर्व सैनिकको साढे ६ करोड – Nepal Press

भिजिट भिसाले डुबायो ६३ पूर्व सैनिकको साढे ६ करोड

काठमाडौं । समय दिउँसो १ बजे । घाम खासै खुलेको छैन । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको गेटमै उभिएका छन्, चितवनको भरतपुर महानगरपालिका–१८ का कृष्ण घिमिरे । जसरी मौसम उज्यालो छैन, त्यसैगरी उनको अनुहार पनि मलिन छ । यसको पछाडि छुट्टै कथा छ ।

एक वर्षअघि काठमाडौंको चक्रपथमा रहेको तीनजुरे म्यानपावर कम्पनीकी एजेन्ट सृजना अधिकारीसँग कृष्ण घिमिरेको साथीभाइमार्फत चिनजान भयो । ती एजेन्टले भिजिट भिसाको नाममा भीभीआईपी सुरक्षा गार्डमा दुबईमा प्रति महिना २ लाख ५० हजार तलब दिने गरी पठाउने आश्वासन दिलाए । त्यसका लागि एजेन्टले १० लाख दिनुपर्ने शर्त राखे ।

नेपाली सेनाबाट भर्खरै मात्र अवकाश पाएका कृष्ण पनि २ लाख ५० हजार तलब पाउने लोभले १० लाख तिर्न तयार भए । कृष्ण १० लाख तिरेर दुबईमा काम गर्न तयार भए । त्यसपछि कागजी प्रक्रिया पूरा गरेर कृष्णलगायत ६३ जना पूर्व नेपाली सेनाको टोली प्रति व्यक्ति १० लाख रुपैयाँ नगद तिरेर करीब एक वर्षअघि माघको अन्तिम सातातिर दुबई उड्यो ।

०००

ललितपुर, गोदावरीका विष्णु थापा पनि एक महिनाको तालिमसहित काम लगाउने भनेर १० लाख रुपैयाँ तिरेर भीभीआईपी सुरक्षा गार्डका रूपमा काम गर्न दुबई पुगे । उनलाई त झन् पौने ३ लाख मासिक तलब हुन्छ भनेर एजेन्ट सृजना अधिकारीले नै आश्वासन दिएकी थिइन् ।

१६ वर्ष नेपाली सेनामा जागिरे जीवन विताएर घर फर्किंदा ८ लाख १० हजार उपदान पाएका थापाले त्यसैमा १ लाख ९० हजार ऋण निकालेर १० लाख रुपैयाँ तीनजुरे म्यानपावर कम्पनीकी एजेन्ट अधिकारीलाई बुझाएर विदेश उडे ।

विदेश पुगेर एक महिना तालिम पनि लिए । तर त्यसपछि न त राम्रो बस्ने व्यवस्था न खाने व्यवस्था । शुरुमा उनीलगायत साथीहरूलाई दुबईमा राखिए पनि पछि गएर शारजहामा राखियो । दुई महिना काम गरेर पनि तलब नपाएको थापाको गुनासो पछि त्यहाँ रहेका एजेन्टले अर्को महिना तलब आउने भन्दै थुमथुम्याए ।

थापालगायतले १५ दिन एचपीटी कम्पनीमा तालिम गरे । त्यहाँ पैसा नदिएपछि अर्को एचएसपी नामक कम्पनीमा सुरक्षा गार्डका रूपमा काम गरे । त्यस कम्पनीमा पनि तीन महिना बितिसक्दासम्म तलब नदिएपछि उनी घरबाटै पैसा मगाएर नेपाल फर्किए ।

नेपाल आइसकेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधि सांसद नवराज सिलवाललाई समेत पीडा सुनाए । आफू ठगिएको भनेर गृहमन्त्री रामबहादुर थापासम्म पनि कुरा पुर्‍याए । तर कसैले पनि उनको कुरा सुनिदिएन ।

९ महिनाको दुबईको पीडादायी बसाइबारे आँखाभरि आँसु पार्दै थापाले भने– एउटा रोटी दुई जनाले बाँडेर समेत दिन बिताउन बाध्य भयौं ।

भलै, थापा नेपाल फर्किंदा उडान टिकटको २४ हजार रुपैयाँ तिरेर फर्किएका थिए तर उनका साथीहरूले ५० हजारदेखि १ लाखसम्म पनि उडान भाडा तिर्नुपर्‍यो ।

नेपाली सेनामै कार्यरत व्यक्तिकै सम्पर्कबाट थापा एजेन्टको सम्पर्कमा पुगेका थिए । थापाका अनुसार उनीहरूले पनि सम्पर्कमा ल्याएबापत कमिसन खाने गरेका रहेछन् । आफ्नै साथीहरूले आफूबाट कमिसन खाएको पनि उनले पाए ।
यतिखेर थापालाई छोराछोरी र श्रीमतीलाई कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ । उनले कर्मचारी संचय कोषबाट ३० लाख त ऋणै लिएका छन् । अहिले १ लाख २० हजार त मासिक ब्याज मात्रै तिर्छन ।

०००

दोलखाकी लक्ष्मी कार्कीका श्रीमान्को कथा पनि उनीहरूको भन्दा केही फरक छैन । नेपाली सेनाबाट अवकाश पाएपछि विदेशमा सुरक्षा गार्डमा जागिर खाएर टन्न पैसा कमाउने सपना थियो उनी र उनका श्रीमानकाे । तर उनको सपना मात्रै भत्किएन, दैनिकी पनि टुटेको छ ।

अघिल्लो वर्ष पुष २१ गते तीनजुरे म्यानपावर कम्पनीमा काम गर्ने सृजना अधिकारीले ८ लाख ५० हजार रुपैयाँ लिएर कार्कीलाई दुबई उडाइन् । मासिक २ लाख २५ हजार तलब दिने आश्वासन बाँडेकी थिइन् अधिकारीले ।

उनका श्रीमानसहित ६३ जनालाई १०/१० लाखका दरले हुन आउने ६ करोड ३० लाख रुपैयाँ असुलेर दुबई पठाइएको थियो । लक्ष्मीका अनुसार पाँच महिनासम्म उनका श्रीमानसँगै अन्यलाई एउटा कोठामा थुनेर राखिएको र राम्रोसँग खाने–बस्ने समेत व्यवस्था गरिएको थिएन ।

त्यतिबेला पीडित लक्ष्मी कार्कीले आफ्नो १० लाख जे–जस्तो भए पनि श्रीमानलाई नेपाल फर्काइदिन एजेन्ट सृजना अधिकारीलाई आग्रह गरिन् । अधिकारीले भने चिन्ता नलिन भन्दै काम दिने आश्वासन दिइरहिन् । तर ७ महीना बितिसम्दा पनि कोरोनाको कारण उनका श्रीमान् नेपाल फर्किन सकेनन् र एजेन्टले पनि नेपाल फर्काएन ।

उनीहरू दुबई पुगेपछि सबैभन्दा पहिले त्यहाँ रहेका एजेन्ट श्याम थापाको सम्पर्कमा पुगेका थिए । श्याम ती ६३ जनालाई लिन दुबईस्थित विमानस्थलमा नै पुगेका थिए । विमानस्थलबाट श्यामले ती ६३ जनालाई सीधै लगेर अनजान ठाउँमा राखे । त्यहाँ राखेर एउटा कम्पनीमा पनि पुर्‍याए । तर जुन कम्पनीमा श्यामले पुर्‍याएका थिए, त्यो कम्पनी नै फर्जी थियो ।

ती ६३ जनाले पुगेको दुई महिनासम्म त राम्रैसँग खान बस्न पाए । तीन महिना बित्न नपाउँदै विश्वभर फैलिएको कोरोना महामारीले दुबई पनि अछुतो रहेन । त्यसपछि भने श्याम भन्ने एजेन्ट उनीहरूको सम्पर्कमै आउन छोडे । खान बस्न नपाउँदा, भनेको जस्तो काम पनि नपाउँदा र फर्जी कम्पनीमा पुर्‍याइएका कारण उनीहरू ६३ जना नै बसेको घरबाट हटाइए ।

बस्ने घरबाट नै निकाला हुन पुगेपछि उनीहरू कैयौं रात सडकमै सुते भने कैयौं दिन भोकै बसे । त्यहाँ बसेर काम पनि नपाउने, खान पनि नपाइने र बस्न पनि नपाइने भएपछि पीडितले फेरि श्याम थापालाई भेटे । श्यामले भने आफूले केही गर्न नसक्ने भनेर उनीहरूलाई नेपाल फर्किन सुझाए ।

कोभिड–१९ का कारण त्यति नै बेला सरकारले उद्धार उडान गर्न शुरु गर्‍यो । उनीहरूले हारगुहार गरेर आफूहरूलाई नेपाल फर्काउन आग्रह गरे । कहिले दूतावास धाए त कहिले एजेन्ट श्याम थापाकहाँ पुगे । केही उपाय नलागेपछि अरू मानिसले सामान्यतः २० हजारको हाराहारीमा उडान भाडा तिरेर फर्किरहेको अवस्थामा उनीहरूले भने ६० हजारसम्म हवाई उडान शुल्क तिरेर नेपाल फर्किए । नेपाल फर्किएर पनि होटलमा क्वारेन्टाइनमा बसेर हजारौं रुपैयाँ खर्चिनुपर्‍यो ।

लक्ष्मीका श्रीमान्लाई एजेन्ट सृजना अधिकारीले नेपाल नफर्काई झुलाउनका लागि साढे ८ लाखको भदौ २ गतेका लागि चेक दिइन् । चेक लिएर बैंकमा पुग्दा खातामा पैसा नरहेको जानकारी बैंकले गरायो । यतिबेलासम्म करीब ४० जनाजति पीडित आफ्नै घरबाट पैसा मगाएर उद्धार उडानमार्फत नेपाल फर्किसकेका थिए ।

अरू पीडितलाई पनि साउन २२ गतेको मितिमा सृजना अधिकारीले चेक काटिदिएकी थिइन् । तर बैंक खातामा पैसा नभएपछि साउन २६ गतेबाट सबै पीडित मिलेर एजेन्टको खोजी शुरू गरे ।

यतिबेलासम्म करीब ४० जना जति पीडित नेपाल फर्किसकेका थिए । नेपाल आइपुग्ने बित्तिकै उनीहरूले एजेन्ट र म्यानपावर कम्पनीलाई भेटेर पैसा माग्न थाले । एजेन्टले दिन्छु भनेर मात्र टारिरहे । तर ७ महिना बित्यो, पीडितको बोली सुक्यो, गोडा थाके तर पैसा फिर्ता भएन ।

पैसा जतिपटक मागे पनि नदिएपछि उनीहरूको टोलीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी गर्‍यो । त्यहाँ मात्र नभई उनीहरूले वैदेशिक रोजगार विभागको कार्यालय, बुद्धनगरमा पनि उजुरी गरे ।

वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले पक्राउ पुर्जी जारी भयो । पक्राउ पुर्जी जारी गरेको ३ महिना बितिसकेको छ, तर ठगी गर्ने एजेन्ट पक्राउ परेका छैनन् ।

अहिले ठगिएकाहरूको टोली कहिले म्यानपावर कम्पनी, कहिले वैदेशिक रोजगार विभाग, कहिले महानगरीय प्रहरी परिसर टेकु त कहिले महानगरीय प्रहरी वृत्त बालाजु धाइरहेको छ ।

१० लाख एजेन्टलाई नै नगद दिएका पीडितले प्रतिव्यक्ति १/१ लाखका दरले शपिङ गरेका थिए भने फर्किने बेलामा थप १ लाख लागेपछि प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म खर्च भइसकेको छ ।

म्यानपावर कम्पनीको कम्पाउण्डमा नै आर्थिक कारोबार भएको भए पनि अन्य पुष्टि हुने कागज नभएका कारण पीडितले म्यानपावरविरुद्ध उजुरी हाल्न सकेका छैनन् । वैदेशिक रोजगार विभागका अनुसार पीडितले सृजना अधिकारी, श्याम थापा र सन्तोष थापाका नाममा वैदेशिक रोजगार विभाग तथा प्रहरीमा उजुरी गरेका छन् ।

‘जे जति दुःख पाउनु पाइहालियो । अब अरू केही पनि चाहिंदैन हाम्रो लगानी भएको पैसा फिर्ता गरे पुग्छ’ पीडित कृष्णको भनाइ छ ।

नेपाली सेनामा कार्यरत रहेका बेला मिसनमा विदेश पुगे पनि काम गर्नका लागि भनेर कृष्ण पहिलो पटक विदेश गएका थिए । तर पहिलो गाँसमा नै ढुंगा लागेपछि उनी अब कहिल्यै विदेश नजाने निर्णयमा पुगेका छन् ।

यो ठगीमा म्यानपावर कम्पनीले आफ्नो संलग्नता नभएको बताइरहे पनि ती एजेन्ट सृजना अधिकारीसँग छलफल तथा समझदारी भने तीनजुरे म्यानपावर कम्पनीको कम्पाउण्डभित्रै भएको थियो । समझदारी मात्र होइन, हरेक व्यक्तिले बुझाउनुपर्ने १० लाख रुपैयाँ पनि कम्पाउण्डभित्रै सृजना अधिकारीलाई बुझाइएको थियो ।

तर अहिले तीनजुरे म्यानपावर कम्पनीले भने सृजना अधिकारी आफ्नो कम्पनीमा कार्यरत नरहेको, एजेन्ट पनि नभएको दाबी गर्दै आएको छ ।

विष्णु थापाले पनि नगद १० लाख नै सृजना अधिकारीलाई दिएका थिए । त्यसका लागि भोलि भनेजस्तो काम नपाए पैसा फिर्ता गर्ने भन्दै १० लाखकै चेक सृजनाले उनलाई दिएकी थिइन् । काम गर्ने कम्पनी नै फर्जी भएपछि र तीन महिनासम्म पनि तलब नपाएपछि दुबईबाटै थापाले सृजना अधिकारीलाई फोन गरेर भनेजस्तो काम र पैसा नपाएको गुनासो गर्दै नेपाल फर्किन चाहेको बताएका थिए ।

तर सृजनाले भने केही पनि हुँदैन चिन्ता नलिन भनेपछि उतै रोकिए । त्यसपछि कोरोनाले गर्दा उनलाई नेपाल फर्किन नै मुश्किल भयो । करिब ६ महिना बितेपछि मात्र उनी बल्ल नेपाल फर्किन पाए ।

समझदारी गरेर १० लाख रुपैयाँ दिंदा कृष्णलाई आफू ठगिने कुनै पनि आशंका थिएन । सृजना अधिकारीले काम लगाउन नसके १० लाख रुपैयाँ फिर्ता गर्ने भनेर चेक पनि दिएकाले अविश्वास गर्ने ठाउँ नै भएन ।

०००

उमेरले २५ वर्षकी सृजना अधिकारी बूढानीलकण्ठको गणेशचोकमा बस्दै आए पनि स्थायी ठेगाना भने झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ हो । तर अहिले सृजना अधिकारी र उनका श्रीमान् भाइराम पौडेल भने फरार छन् । पीडितसँग सुरक्षा गार्डमा पठाउनका लागि १०–१० लाख एजेन्टले लिएर पछि भनेजस्तो काम र तलब नपाए रुपैयाँ फिर्ता गर्ने भन्दै काटेको चेकबुक मात्र छ ।

त्यससँगै संयुक्त रूपमा समझदारी पत्र पनि छ । र एजेन्टकै अनुमतिमा रकम बुझाउँदा लिएको भिडियो पनि पीडितसँग सुरक्षित छ ।

दुबई गएका ६३ जनाबाट प्रतिव्यक्ति १० लाखका दरले ६ करोड ३० लाख रुपैयाँ तीनजुरे म्यानपावर कम्पनीकी सृजना अधिकारीले ठगेको पीडित बताउँछन् । पैसा लिने व्यक्ति नै फरार भएपछि उनीहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि विभागले प्रमाण जुटाउने काम गरिरहेको विभागका निर्देशक एवं सूचना अधिकारी टीकामणि न्यौपानेले बताए ।

कोभिडकै बीचमा कति ठगिए ?

कोभिड–१९ को महामारीका बीचमा पनि चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना साउनमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ हजार १५२ जना रहेको छ । तर यसै अवधिमा मात्र १० वटा म्यानपावर कम्पनीविरुद्ध ७० लाख ३ हजार ४५० रुपैयाँ बिगो दावीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । जसमध्ये ५० लाख विगो दाबी विभागले म्यानपावर कम्पनीबाट भराएको छ भने एउटा उजुरी फरफारक गरेको छ ।

यति मात्र नभई एक महिनाको अवधिमा नै १२ जनाविरुद्ध १ करोड ५४ लाख ३० हजार ६०० रुपैयाँ बिगो दाबीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको छ । विभागका अनुसार साउन महिनामा १ लाख ५ हजार बिगो दाबीसहित १४ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा पनि दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको भदौ महिनामा भने १९८ जनाले अन्तिम श्रम स्वीकृति लिंदा तीन वटा म्यानपावर कम्पनी विरुद्ध २६ लाख ६ हजार बिगो दाबीसहित उजुरी परेको छ ।

भदौ महिनामा नै वैदेशिक रोजगार विभागमा ७१ लाख २२ हजार बिगो दाबीसहित चार जनाविरुद्ध उजुरी परेको छ । त्यसमध्ये विभागले ७ जना विरुद्ध २ लाख ५५ हजार बिगो दाबीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा यस्तो अवस्था हुँदा गत आर्थिक वर्ष २०७६/७७ मा भने ३४१ व्यक्ति विरुद्ध २४ करोड ९८ लाख ६३ हजार ७०६ रुपैयाँ बिगो दाबीसहित वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । जसमध्येबाट विभागले २० करोड ५८ लाख ६५ हजार ४९५ रुपैयाँ बिगो दाबीसहित २०१ जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दर्ता गराएको थियो ।

०००

गएको एक वर्षको अवधिमा विश्वका १२७ मुलुकमा ३ लाख ६८ हजार ४३३ जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर विदेशिएका थिए । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार विभागबाट इजाजत लिएर ८१३ वटा म्यानपावर कम्पनीले सक्रिय भएर वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

तर ४१ वटा म्यानपावर कम्पनी भने सक्रिय छैनन् । विभागले अहिलेसम्म वैदेशिक रोजगार ऐन तथा नियमावली विपरीत काम गर्ने १०० म्यानपावर कम्पनीलाई कालोसूचीमा राखिसकेको छ ।

वैदेशिक रोजगारीमा ठगी बढ्दै गएको भन्दै गत वर्ष मात्र वैदेशिक रोजगार ऐन संशोधन गर्नका लागि बनेको विधेयकमार्फत ऐन संशोधन गरेर म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी रकम लाखबाट बढाएर करोडमा पुर्‍याएको थियो ।

ऐनमार्फत नै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्दै आएका म्यानपावर कम्पनीले एजेन्ट राख्न पाउने व्यवस्था पनि खारेज गरिसकेको छ ।

हेर्नुस् पीडित पूर्वसैनिकको पीडा

https://www.youtube.com/watch?fbclid=IwAR2ht9qG-WG7tkZUb7fA1LU2hpL0HTUAV7Syy1dJLLuqfjOSSm3RTf-83z0&v=Mfvk5EQqg3U&feature=youtu.be


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर