गुरुङ समुदायको प्रमुख चाड ल्होसार आज – Nepal Press

गुरुङ समुदायको प्रमुख चाड ल्होसार आज

काठमाडौं । नयाँवर्षको स्वागतसहित गुरुङ समुदायले आज मुख्य पर्व ल्होसार मनाउँदैछन् । गुरुङ भाषाअनुसार ‘ल्हो’ लाई वर्ष र ‘सार’लाई फेरिनुको अर्थ हुने भएकाले यो पर्वको नाम ल्होसार रहन गएको हो ।

चिनियाँ ज्योतिषशास्त्र र पात्रोमा वर्षको १२ महिनालाई जनावरको नामबाट नामकरण गरिएको हुन्छ । सोही अनुसार आज तमु समुदायले मुसा वर्गलाई विदाई गरी गाई वर्ग अर्थात् नयाँ वर्षको स्वागत गरेका छन् ।

तमु संस्कृति अनुसार आजको दिनमा सामुहिक भोज तथा सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाउने गरिन्छ । तमु ल्होसार सूर्यको किरणसँग पनि सम्बन्धित रहेको बताइएको छ ।

यो वर्षको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । नेपालका विशेषगरी गण्डकी प्रदेशका अधिकांश जिल्लामा गुरुङ समुदायको मुख्य बसोबास छ ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले हरेक वर्ष टुँडिखेलमा पुगेर शुभकामना आदानप्रदान गरी पर्व मनाउने गरेकोमा यस वर्ष सबैले आआफ्नो घरमा बसेर पर्व माउनेछन् ।

सरकारले कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मापदन्ड लागू गरेको छ र त्यसअनुसार ठूलो भीडभाड गर्न पाइँदैन ।

तमु ल्होसारको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । उनले तमु (गुरुङ) समुदायको नयाँ वर्ष र प्रमुख चाडको अवसरमा संसारभर रहेका गुरुङहरुलाई शुभकामना व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले यहाँ सबै जातजातिको आफ्नै मौलिक प्रचलन रहेको भन्दै एकता, सद्धाव र सहिष्णुताको राष्ट्रिय विशेषतालाई आत्मसात् गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा हातेमालो गर्न प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *