ओलीविरुद्ध वार कि पारको सन्देश– उत्तेजक भाषण, आपत्तिजनक नारा – Nepal Press
नेकपा विभाजन

ओलीविरुद्ध वार कि पारको सन्देश– उत्तेजक भाषण, आपत्तिजनक नारा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले नेकपा नेताहरुको भेटमा सोधेको थियो–के अझै पनि पार्टी विभाजन रोकिने सम्भावना छ ?

यो प्रश्नको जवाफ बन्द कोठामा के दिइयो थाहा छैन तर प्रचण्ड र माधव नेपालले मंगलबार भृकुटीमण्डपबाट प्रष्ट शब्दमा दिए–नेकपा फुटिसक्यो र केपी ओलीको समाप्ति नै तत्कालका लागि हाम्रो उद्देश्य हो ।

प्रचण्ड-माधव नेपाल र झलनाथ खनालको भाषणको सार भनेकै ओलीविरुद्ध वार कि पारको लडाइँ शुरु भइसक्यो । प्रचण्डले वैशाखपछि ओलीको पत्तासाफ हुने घोषणा र माधव नेपालले ओलीको आयु समाप्तिको दाबी गरेसँगै अब प्रचण्ड–माधव पक्षको एकमात्र मिसन ओलीविरुद्ध केन्द्रित हुने निश्चित भएको छ ।

उत्तेजक भाषण, अमर्यादित नारा

मन्चबाट ओलीको नामै लिएर र राष्ट्रपतिको नाम नलिई शीर्ष नेताले निरंकुश शासक र प्रतिगमनका मतियारलाई कुनै हालतमा नछाड्ने भन्दै आफ्नो तयारी गर्न चुनौती दिए । नेकपा नेताहरुको उत्तेजक भाषणले पार्टीमा एकताको सम्भावना अन्त्य गरेको छ ।

सडकमा कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध मात्र होइन राष्ट्रपतिलाई जोडेर आपत्तिजनक र अश्लील नारा समेत लगाए । निर्धारित नारा भन्दा बाहिर अमर्यादित नारा लगाइँदा नेताहरु हाँसेर बसेका थिए ।

नेकपाको झण्डा बोकेर अमर्यादित नारा लगाउने समूहलाई नेताहरुले रोक्न नचाहेको देखिनुले नेकपाको विभाजन अब एक अर्काको चरित्रहत्याको तहमा पुग्ने सम्भावना देखिन थालेको छ । कम्युनिष्टहरु फुटेपछि व्यक्तिगत तहमा उत्रेर आरोप लगाउने पुरानै रोग मंगलबारको प्रचण्ड–माधव पक्षको प्रदर्शनमा देखिएको छ ।

वार कि पारको सन्देश

यसअघि प्रचण्ड–माधव पक्षीय नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दोहोर्‍याइरहेका थिए–प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती ‘करेक्सन’ गरे फेरि पनि सँगै रहन सकिन्छ ।

तर, राजधानीमा मंगलबार आयोजित विरोधसभाबाट भने उनीहरुले अब त्यसको सम्भावना सकिएको छनक दिएका छन् । सत्तारोहणको करिब तीन वर्षपछि पहिलो पटक सडक–सभामा उत्रिएका नेताहरु जनतामाझ के सन्देश प्रवाह गर्लान् भन्ने चासोको विषय थियो।

उनीहरुले अब ओलीसँग मिल्ने नभई वार कि पारको लडाइँ लड्ने सन्देश दिएका छन् । प्रचण्डले त राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध तीब्र आक्रोश पोख्दै अब फाइनल ब्याटलको तयारीमा रहन चेतावनी नै दिए ।

विरोधसभामा सहभागिताको माहोलबाट केही उत्साहित जस्ता देखिएका उनीहरुले ओलीमाथि संयुक्त प्रहार गरे । साथै ओलीसँग सहकार्य गर्दा आफूहरु पेलिएको, हेपिएको भाव पनि प्रकट गरे ।

‘वैशाखपछि उनी (ओली) प्रधानमन्त्री पनि रहँदैनन्,’ प्रचण्डको आक्रोश थियो, ‘नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेवाला छ । अनि उनीले नै श्री ३ महाराजाधिराज हुन्छु भनेर हुन्छ ।’

नेकपा विभाजनको डिलमै पुगेका बेला नेपाल आइपुगेको चिनियाँ टोलीले पनि ‘सम्भव भए ओलीसँग मिल्न’ भनिरहेको खबर सार्वजनिक भइरहेका बेला प्रचण्डको तिखो टिप्पणीले हालका लागि त्यस्तो सम्भावना टरेको बुझ्न सकिन्थ्यो ।

प्रचण्ड मात्रै होइन, अन्य नेताहरुको ओलीप्रतिको टिप्पणीमा कतै पनि नरम भाव थिएन । अर्का अध्यक्ष माधवकुमार नेपालले त ओलीलाई एउटा निरंकुश तानाशाहसँग दाँज्दै त्यस्तो प्रवृत्तिको आयु सकिएको टिप्पणी गरे ।

‘निरंकुश केपी ओली एण्ड प्रवृत्तिको आयु पुग्यो’ नेपालको भनाइ थियो, ‘पुस ५ गतेका दिन वामपन्थी भनिएका नेताले संविधान कुल्चेर प्रतिनिधिसभाको विघटन गरे । के त्यो राजनीतिक, संवैधानिक हिसाबले उचित छ ?’

प्रचण्ड-नेपाललगायतका कोही पनि नेताहरुले ओलीलाई गणतन्त्रविरोधी भन्न छुटाएनन् । प्रचण्डले ओली आन्दोलनको वेगका अघि बाध्यताले गणतन्त्रवादी भइदिएको भन्दै अझै पनि उनी ‘बयलगाडाको सिद्धान्त’मै रहेको आरोप लगाए । नेपालले पनि गणतन्त्रका लागि भएको आन्दोलनकाे खिसिटिउरी गर्ने गरेको आरोप लगाए।

वरिष्ठ नेता झलनाथ खनालले सडकमा रहरले नभई बाध्यताले आउनु परेको बताएका थिए । ‘सडकमा आउने हाम्रो रहर होइन’ खनालको भनाइ थियो, ‘ओलीजस्तो तानाशाहविरूद्ध सडकमा आउन हामी बाध्य भयौं । यो सरकारले जनमतको घात गरेको छ। तर अब विजय नेकपाको हो।’

नेतृ अष्टलक्ष्मी शाक्यको पनि ओलीप्रतिको आक्रोश कम्ता थिएन । उनीले ओलीलाई ‘सर्वसत्तावादी, स्वेच्छाचारी, निरङ्कुश’ भन्न छुटाइनन् ।

मंगलवारको विरोधसभालाई ‘ट्रेलर’ मात्रै भनेका नेताहरुले अब अझै कडा संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् । पूर्व निर्धारित कार्यक्रम अनुसार आज राजधानीमा मात्रै होइन ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरे । राजधानी काठमाडौंमा उनीहरुले ५० हजार मान्छे उतार्ने बताएका थिए । सहभागीको संख्या भने करीब पाँच सात हजारको हाराहारी थियो ।

भावी आन्दोलनको स्वरुपबारे चाहिं नेताहरुले आज केही खुलाएनन् । थप संघर्षका कार्यक्रम तय गर्न बुधवार प्रचण्ड–माधव पक्षीय नेकपाको बैठक बसेर तय गर्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “ओलीविरुद्ध वार कि पारको सन्देश– उत्तेजक भाषण, आपत्तिजनक नारा

  1. मार्झण्ड गुटले मंगलबार भृकुटीमण्डपबाट स्पष्ट शब्दमा भने “हाम्रो साझा उद्देश्य ओलीलाई खतम पार्नु र नेकपा फुटाउनु हो।” सडकमा लागेका नारा त भाडामा आएकाले लगाए होलान, कार्यकर्ताले हैन होला। दक्षिणको स्वार्थमा पार्टी फुटाउने र सरकार गिराउने कामको नेतृत्व प्रचण्डले गर्दैछन्। चेतना भया!
    अस्थिर नेपाल भारतको चाहाना
    प्रचण्ड तिनका लागि गहना!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर